राजनीति

राजदूतविरुद्धको संसदीय सुनुवाइ अन्तिम चरणमा

सरकारले १७ देशका लागि प्रस्तावित राजदूतविरुद्ध संसदीय सुनुवाइ गर्ने क्रम अन्तिम चरणमा पुर्‍याएको छ। सुनुवाइ समितिमा उनीहरूविरुद्ध परेका नौवटा उजुरी मंगलबारको बैठकमा खोलिने भएको छ। मंगलबार ११ बजे समितिको बैठक बस्दै छ। 

कसका विरुद्ध के उजुरी परेको छ मंगलबार बस्ने बैठकमा मात्र थाहा हुने समितिले जनाएको छ। साउन २९ मा बसेको संसदीय सुनुवाइ समितिले १० दिनको समय दिएर १७ देशमा प्रस्तावित राजदूतहरूका बारेमा सार्वजनिक उजुरी आह्वान गरेको थियो ।

सरकारले राजदूत सिफारिसबारे संसद्लाई जानकारी पठाएपछि सुनुवाइ समितिले प्रस्तावित राजदूतविरुद्ध सार्वजनिक सूचना जारी गरी उजुरी मागेको थियो। सोही आधारमा सुनुवाइ समितिमा नौवटा उजुरी परेका हुन्। गत साउन १४ मा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले १८ देशमा राजदूत सिफारिस गरेको थियो। त्यसलगत्तै संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतको नाम आएको थियो, तर अस्ट्रेलियाका लागि सिफारिस भएकी कान्ता रिजालको नाम सरकारले साउन ३२ गते फिर्ता लिएपछि समितिले गरेको उजुरी आह्वानमा उनको नाम राखिएको थिएन।

सरकारले डा. शंकरप्रसाद शर्मा– भारत, कान्ता रिजाल- अस्ट्रेलिया, नरेशविक्रम ढकाल– साउदी अरेबिया, प्रा. डा. कपिलमान श्रेष्ठ– दक्षिण अफ्रिका, धनप्रसाद पण्डित– इजरायल, रामकृष्ण भट्टराई– श्रीलंका, सनिल नेपाल– स्पेन, डा. शैल रूपाखेती– जर्मनी, लोकदर्शन रेग्मी– अमेरिका, चन्द्रकुमार घिमिरे– संयुक्त अधिराज्य, डा. शिवमाया तुम्बाहाम्फे– दक्षिण कोरिया, जंगबहादुर चौहान- रूस, रमेशचन्द्र पौडेल- कतार, प्रा.डा. कृष्णप्रसाद ओली– चीन, सुम्निमा तुलाधर- डेनमार्क, नेत्रप्रसाद तिमल्सिना- मलेसिया, प्रकाशमणि पोखरेल– पोर्चुगल, रीता धिताल– पाकिस्तान गरी १८ मुलुकका लागि राजदूत प्रस्ताव गरेको हो। कान्ता रिजालको नाम फिर्ता लिएपछि १७ देशका राजदूतको मात्रै संसदीय सुनुवाइ हुने भएको हो।

समितिमा प्राप्त उजुरीका बारेमा उजुरीकर्तासँगको छलफल सकिएपछि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गरिने समितिले जनाएको छ।

प्रकाशित: ११ भाद्र २०८१ ०७:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App