राजनीति

कांग्रेस र एमाले मिल्दा आत्मविश्वास वृद्धि भएको छः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमाले मिल्दा आत्मविश्वास बढेको बताएका छन्।

सोमवार जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरूको समुद्घाटन समारोहमा गृहमन्त्री लेखकले उनले कांग्रेस र एमाले मिलेर सरकार बन्नुको उदेश्य प्रस्ट पार्दै सो बताएका हुन्।

‘दुई ठूला दल मिलेर सरकार बनेको छ। अहिलेको सरकार हामी केही मान्छे मन्त्री बनिहालौं भनेर भनेको होइन। २०७९ चुनावपछि सरकार बनाउने र भत्काउनमै गयो। आर्थिक, राजनीतिक र विकास निर्माणका लागि हामी दुई ठूला दल मिल्यौँ,’ उनले भने, ‘यो सरकारको उदेश्य भनेको सरकारको स्थायित्व, आर्थिक विकास, दिगो शान्ति, सुशासन र समावेशी चरित्रको राज्य व्यवस्था स्थापित गराउने हो।’ कांग्रेस र एमाले मिल्दा आत्मविश्वास वृद्धि भएको गृहमन्त्री लेखकको दाबी छ।

‘यसको उदाहरण १८ वर्षसम्म अल्झिएको संक्रमणकालीन न्यायको विषय निष्कर्षमा पुगेको छ। हामी नेता उहीँ हौँ। छलफल हामीबिच नै भएको थियो। तर दुई दल मिल्दा बढेको आत्मविश्वासले हामी सहमति पुग्न सक्यौं। उर्जाशिल प्रधानमन्त्री हुनुहुन्छ। उहाँको नेतृत्वमा हामी केही गरि छाड्ने छौँ,’ उनले भने।

प्रकाशित: १० भाद्र २०८१ ११:०६ सोमबार

#ramesh lekhak