राजनीति

ललितपुर महानगर र कोरियाको चेओरवन शहरबीच भगिनी सम्बन्ध स्थापना

असल अभ्यास आदानप्रदान गर्ने प्रतिबद्धता

ललितपुर महानगर र दक्षिण कोरियाको चेओरवन शहरबीच भगिनी सम्बन्ध कायम भएको छ ।  

भगिनी सम्बन्ध सम्बन्धी समझदारी पत्रमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र चेओरवन शहरका मेयर ली ह्युन जोनले हस्ताक्षर गरे ।  

समझदारी पत्रमा हस्ताक्षर गर्न महानगर प्रमुख महर्जनसहितको टोली बुधबार कोरिया गएको हो ।  

हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै महानगरका प्रमुख महर्जनले दुई शहरमा भएका असल अभ्यासहरु आदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । कोरियाका चेओरवन सहरमा कृषि, पर्यटनलगायतका क्षेत्रमा भएको विकासबाट आफू प्रभावित भएको बताउँदै उनले भने, ‘हामीले सम्पदा संरक्षणको क्षेत्रमा धेरै काम गरेका छौँ, चेओरवनले हामीबाट सम्पदा क्षेत्रमा धेरै सिक्न सक्छ, हामीले कृषि र पर्यटन प्रबद्र्धनको क्षेत्र सिक्न सक्ने प्रशस्त ठाउँ छन् ।’  

नगर प्रमुख महर्जनले भगिनी सम्बन्धले दुई शहर एक अर्काको सुखदुःखको साझेदार भएको बताए । उनले भने, ‘हामीले मित लगायौं, नाता जोडियो, सुख—दुःख बाँड्छौँ ।’

चेओरवन सहरका मेयर लीले ऐतिहासिक र सांस्कृतिक शहर ललितपुरबाट आफू प्रभावित भएको बताउँदै एक अर्काको सहरमा भएका असल अभ्यास सिक्दै र सिकाउँदै जाने उल्लेख गरे ।  

झण्डै ६ महिना अघि ललितपुर आएको स्मरण गर्दै जोनले भने, ‘ललितपुरको सम्पदा र संस्कृतिलाई हामी कहिल्यै बिर्संदैनौं । त्यहाँ हामीले पाएको स्वागत सत्कार पनि त्यति नै आत्मीय थियो ।’  

चेओरवनले ललितपुर महानगरलाई आफूले सफलता प्राप्त गरेको र उन्नति गरेको क्षेत्रमा सहयोग गर्न र सहकार्य गर्न हरदम तयार रहेको उनको प्रतिबद्धता थियो । 

प्रकाशित: ७ भाद्र २०८१ १७:१३ शुक्रबार

#lalitpur metropolitan city #Cheorwan City #South Korea #Mayor Lee Hyun Joon #Chiri Babu Maharjan