राजनीति

लुम्बिनीमा मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन्।

लुम्बिनी प्रदेशसभाको मंगलबार बसेको बैठकमा आचार्यले विश्वासको मत मागेका थिए। कुल ८७ सदस्यीय सदस्य रहेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यलाई ७० जना सांसदले विश्वासको मत दिएका छन्। यो मत संसदको बहुमत हो। उनको विपक्षमा ११ मत पर्‍यो। प्रदेशमा बहुमत पुर्‍याउन ४४ मत चाहिन्छ। मुख्यमन्त्री आचार्यको पक्षमा परेको मत प्रदेशसभाको बहुमत रहेकाले सभामुख तुलाराम घर्तीले मुख्यमन्त्रीका पक्षमा बहुमत पुगेको घोषणा गरेका थिए।

आचार्य गत साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका आचार्यले ९ साउनमा शपथ लिएका थिए। उनलाई तत्कालीन प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए। ९ साउनमा उनी सँगै अन्य ८ मन्त्रीले समेत शपथ लिएका थिए।

वर्तमान कांग्रेस एमालेको गठबन्धनले यो प्रदेश सरकारको नेतृत्व एमालेले पाउने गरी भागबन्डा टुङ्ग्याएका थिए। यो सहमति अनुसार यो प्रदेशमा एमालेका संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने तयारी गरिएको थियो। तर एमालेले दलका उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउने निर्णय लिएको थियो। दलका उपनेता आचार्यलाई मुख्यमन्त्री बनाएपछि असन्तुष्ट बनेका दलका नेता गिरीले पदबाटै राजीनामा दिएका थिए । एमालेले उनको राजीनामा स्वीकृत गर्दै केही दिन अघि मात्रै मुख्यमन्त्री आचार्यलाई संसदीय दलको नेता चयन गरेको थियो।

विश्वासको मत माग्दै मुख्यमन्त्री आचार्यले आफ्नो नेतृत्वको सरकारकाले कुनै पनि प्रश्न उठाउने ठाउँ नदिएर काम गर्ने दाबी गरेका थिए। प्रदेशको समृद्धिका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको भन्दै मुख्यमन्त्री आचार्यले समृद्ध प्रदेश निर्माण गर्ने सरकारको लक्ष्यलाई साथ दिन संसदमा रहेका सबै दलहरुलाई आग्रह समेत गरेका थिए। ‘मेरो नेतृत्वको सरकारले कुनै पनि प्रश्न उठाउन नदिने गरी काम गर्ने छ,’ मुख्यमन्त्री आचार्यले भने ‘यसका लागि तपाईँहरू सबैको साथ चाहिन्छ, यो सरकार सबै सँग हातेमालो गरेर प्रदेशमा समृद्धि ल्याउन चाहन्छ।’

यसै गरी उनले प्रदेशको समग्र विकास गर्ने दायित्व सरकारको मात्रै नभई सबै दलका सांसदहरुको रहेको भन्दै प्रदेशको विकासका निम्ती दलीय प्रतिशोधको भावना कसैले पनि राख्न नहुनेमा जोड दिए। ‘प्रदेशको समग्र विकासको दायित्व सरकारको मात्रै नभई, हामी सबैको हो,’ उनले भने ‘प्रदेशको विकासको बाटोमा सबै सँगै हिँडौँ, राजनीतिक प्रतिशोधको भावना नराखौँ।’

प्रकाशित: ४ भाद्र २०८१ १६:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App