राजनीति

लुम्बिनीका मन्त्री: कसको योग्यता कति ?

सरकारमा नयाँ प्रवेशी मन्त्रीहरुको योग्यता एवं क्षमताका बारेमा आमचासो रहन्छ। मन्त्रीहरुको योग्यता अनि क्षमताका आधारमा उनिहरुले काम गर्न सक्ने नसक्ने आंकलन आम जनमानसले गर्ने गर्दछ।

राजनीतिक क्षमता र योग्यतासँगै मन्त्रीहरुको शैक्षिक योग्यताका विषयमा समेत चासो रहन्छ। भर्खरै बिस्तार भएको लुम्बिनी प्रदेश सरकारमा सहभागी मन्त्रीहरुको राजनीतिक तथा शैक्षिक योग्यताका बारेमा पनि यसपटक चासो प्रकट भइरहेको छ।

मुख्यमन्त्री सहित ९ सदस्यीय मन्त्रीपरिषद्‌मा सहभागी मध्य दुईजना स्नातकोत्तर (एमए) सम्मको अध्ययन पुरा गरेका मन्त्री प्रवेश भएका छन्। यी मध्यका एक हुन् कांग्रेसका प्रचण्डविक्रम न्यौपाने अनि अर्का हुन् एमालेका खेम सारु।

काठमाडौं स्थित त्रिचन्द्र क्याम्पसबाट नेविसंघको उँचो राजनीतिक हैसियता बनाएका न्यौपाने अहिले लुम्बिनी सरकारमा कांग्रेसबाट सहभागी भएका चार मन्त्री मध्य सबै भन्दा बढी शैक्षिक योग्यता रहेका मन्त्री हुन्।

उनले ग्रामीण विकास विषयमा एमए सम्मको अध्ययन पुरा गरेका छन्। दाङका न्यौपाने उच्च शिक्षाका लागि काठमाडौं पुगेपछि नेविसंघको सक्रिय राजनीतिमा लागेका थिए। यो क्याम्पसको नेविसंघ इकाई सभापति देखि यसै क्याम्पसमा स्ववियु सचिवसम्म बनेका न्यौपाने नेविसंघको सहमहामन्त्री सम्म बनेका थिए।

उनी सहमहामन्त्री बन्दा हालका सङ्घीय सरकारका स्वास्थ्यमन्त्री प्रदीप पौडेल नेविसंघको केन्द्रीय अध्यक्ष थिए। कांग्रेसको लुम्बिनी प्रदेश समितिको प्रवक्ताको जिम्मेवारीमा समेत रहेका न्यौपाने लुम्बिनी प्रदेशसभा निर्वाचनमा दाङ २ (ख) बाट निर्वाचित भएका हुन्।

एमए अध्ययन पुरा गरेका मन्त्री न्यौपानेलाई युवा सक्षम मन्त्रीका रुपमा हेरिएको छ। भलै अहिले सम्मको उनी विना विभागीय मन्त्री छन्।

‘विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा लागेको मलाई जनताको मायाले जनप्रतिनिधिका रुपमा निर्वाचित गरायो,’ मन्त्री न्यौपाने भन्छन् ‘त्यहि माया र साथले अहिले मन्त्रीको ओहदा निर्माण गरिदियो, अब मन्त्री कार्यकालमा राम्रो काम गरेर जनतालाई सही जनप्रतिनिधि चुनिएको महसुस गराउने जिम्मेवारी थपिएको छ।’

ग्रामीण विकास सम्बन्धी एमएसम्मको अध्ययन पुरा गरेका मन्त्री न्यौपानेका लागि विकासे मन्त्रालयको जिम्मेवारी मिले उनको शैक्षिक योग्यता अनुसारको जिम्मेवारी प्राप्त हुने र कामको प्रभावकारिता रहने कांग्रेस नेताहरू बताउँछन्।

कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्री न्यौपाने जस्तै एमालेका तर्फबाट सरकारमा पहिलो पटक सहभागी भएका मन्त्री सारु पनि एमएड सम्मको अध्ययन पुरा गरेका मन्त्री हुन्।

अनेरास्ववियुबाट नेकपा एमालेको राजनीतिमा प्रवेश गरेका मन्त्री सारु पहिलो पटक आम चुनावमा भिडेका थिए। पहिलो भिडन्तबाटै सफलता हात पारेका मन्त्री सारु एमालेको गाउँ कमिटी हुँदै एमालेको जिल्ला कमिटी सदस्यसम्म बनेका थिए। एमएसम्मको अध्ययन पुरा गरेका मन्त्री सारुलाई पनि प्रभावशाली मन्त्रीका रुपमा एमाले वृत्तमा हेरिएको छ।

यसैगरि, लुम्बिनी प्रदेश सरकारको नेतृत्व गरेका मुख्यमन्त्री चेतनारायण आचार्यले स्नातक अध्ययन पुरा गरेका छन्। कानुन विषयमा स्नातक तहको अध्ययन पुरा गरेका आचार्य एमालेको राजनीतिमा लामो समय देखि सक्रिय नेता हुन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य अर्घाखाँची निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित हुन्। आचार्यले राजनीति यात्रा २०३९ बाट सुरु गरेका थिए। २०३९ सालमा अनेरास्ववियुमा आबद्ध भएका उनी २०४७ सालमा एमालेको जिल्ला कमिटी सदस्य पदमा निर्वाचित भए। २०५४ मा एमाले अर्घाखाँचीको सचिव बनेका आचार्य २०६९ देखी २०७८ सम्म जिल्ला कमिटीको अध्यक्ष भएर काम गरे।

२०७४ सालको प्रदेशसभा निर्वाचनमा उनी अर्घाखाँची क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भए। शंकर पोखरेल मुख्यमन्त्री भएका बेला पहिलो पटक मन्त्री बनेका आचार्यले आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेका थिए। करिब एक महिना मात्र मन्त्री बनेका आचार्य दोस्रो पटक लिला गिरीको नेतृत्वमा खानेपानी तथा सहरी विकास मन्त्री बनेका थिए।

दोस्रो कार्यकाल पनि लामो समय मन्त्री बन्न नपाएका आचार्य गत चैत्र २५ गते जोख बहादुर महराको नेतृत्वमा आन्तरिक मामिला तथा योजना मन्त्री बने। पछिल्लो समय करिब तीन महिना मन्त्री सम्हालेका उनले चौथो पटक भने मुख्यमन्त्रीकै जिम्मेवारी प्राप्त गर्न सफल भए।

यसैगरि, एमालेबाट दोस्रो पटक सरकारमा प्रवेश गरेका दिनेश पन्थीले बिएसम्मको अध्ययन पुरा गरेका मन्त्री हुन्। २०३७ देखि विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेका पन्थी एमालेको केन्द्रीय सदस्यको पदीय जिम्मेवारी निर्वाह गरेका छन्।

एमालेको पोलिट ब्युरो सम्मको भूमिकामा रहेर काम गरेका मन्त्री पन्थी यसअघिको माओवादी नेतृत्व सरकारमा समेत सहभागी थिए। जोखबहादुर महरा नेतृत्वको सरकारमा सहभागी पन्थी आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थिए। पन्थी पुनः दोस्रो पटक अहिले सरकारमा सहभागी भएका छन्।

कांग्रेस प्युठानमा दुई कार्यकाल क्षेत्रीय सभापति बनेका सरोज थापा पनि लुम्बिनी प्रदेश सरकारमा दोस्रो पटक मन्त्रीका रुपमा भित्रिएका छन्। मन्त्री थापा आइएसम्मको अध्ययन पुरा गरेका मन्त्री हुन्।

उनी कांग्रेसको महासमिति सदस्य बनेर समेत काम गरिसकेका नेता हुन्। उनी नेपाल तरुण दलको केन्द्रीय सदस्य समेत बनेका थिए। दशवर्ष सम्म क्षेत्रीय सभापति बनेर कांग्रेस राजनीतिमा भूमिका खेलेका थापा डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारमा सहभागी थिए। उनी त्यो बेला उद्योग तथा यातायात मन्त्री बनेका थिए। ‘पार्टी राजनीतिमा सक्रिय रुपमा लागेँ, दशवर्ष सम्म क्षेत्रीय सभापति बनेर काम गरेको छु,’ मन्त्री थापाले भने।

यसैगरि, अघिल्लो संसद् कार्यकालमा एमालेको प्रमुख सचेतकको जिम्मेवारीमा रहेका भुमिश्वर ढकाल यसपाली मन्त्री चुनिएका छन्। आइएसम्मको अध्ययन पुरा गरेका मन्त्री ढकाल २०३५ साल देखि एमाले राजनीतिमा लागेका थिए।

अनेरास्ववियुको राजनीतिबाट राजनीतिक यात्रा प्रारम्भ गरेका ढकालको पार्टी राजनीति २०४२ साल देखि प्रारम्भ भएको थियो। त्यसयता पार्टीका जिल्ला तह देखि केन्द्रीय समितिसम्म उनी विभिन्न भूमिकामा रहँदै आएका छन्। राजनीति शास्त्रबाट आइए अध्ययन पुरा गरेका मन्त्री ढकाल भन्छन् ‘बिएको पढाइ सुरु गरेको भएपनि विएको अध्ययन पुरा भएन।’

यसैगरि लुम्बिनी प्रदेश सरकारमा सहभागी अर्का मन्त्री सीता चौधरी पनि आइए पास मन्त्री हुन्। माओवादी युद्धमा सहभागी भई सांस्कृतिक विभागमा रहेर राजनीति प्रारम्भ गरेकी मन्त्री सीता २०७८ मा माओवादी परित्याग गरि एमालेमा प्रवेश गरेकी थिइन्।

उनी २०७४ को स्थानीय तह निर्वाचनमा माओवादीका तर्फबाट दाङ घोराही उपमहानगरको उपमेयर पदमा पराजित भएकी थिइन्। एमाले प्रवेश गरेकी चौधरी यस पटक समानुपातिक सांसद्‌का लागि सिफारिस भएकी थिइन्। समानुपातिकबाट सांसद् चुनिएकी चौधरी प्रदेश मन्त्रीका रुपमा सरकारमा प्रवेश गरेकी छिन्।

यसैगरि, कांग्रेसको जिल्ला स्तरमा लामो समय देखि राजनीति गर्दै आएका गुल्मीका धनेन्द्र कार्की पनि आईए अध्ययन पुरा गरेका मन्त्री हुन्। २०३६ मा नेविसंघको सदस्यता लिएर राजनीतिक यात्रा थालनी गरेका कार्की २०७४ को प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका थिए। त्यो बेला उनी पराजित बनेका थिए।

यसैगरि, २०७९ मा पुनः प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका कार्की यस पटक भने निर्वाचित भएका थिए। जिल्ला राजनीति हुँदै सांसद्को भूमिका पहिलो पटक निर्वाह गरेका कार्की अहिले मन्त्री चुनिएका छन्।

वर्तमान लुम्बिनी प्रदेश सरकारमा सबै भन्दा कम शैक्षिक योग्यता रहेका मन्त्री हुन् बादशाह कुर्मी। बाँके क्षेत्र नम्बर ३ (ख) बाट प्रदेशसभामा निर्वाचित कुर्मी एसएलसी सम्मको मात्रै अध्ययन पुरा गरेका छन्।

त्यसोत, उनको राजनीतिक यात्रा तत्कालीन गाविस अध्यक्ष देखि संविधानसभा सदस्य हुँदै हाल मन्त्रीसम्म आइपुगेको छ। उनी बाँकेको तत्कालीन परस्पुर गाविसमा २०४९ र २०५४ मा दुई पटक अध्यक्ष चुनिएका थिए।

पहिलो र पछिल्लो संविधानसभा सदस्य चुनिएका उनी यी दुवै पटक समानुपातिक कोटाबाट संविधानसभा सदस्य चुनिएका थिए। २०७४ मा प्रतिनिधिसभा सदस्यमा भिडेका कुर्मी यो बेला पराजित बनेका थिए।

यसपाली प्रदेशसभा निर्वाचनमा भिडेका कुर्मी प्रदेशसभामा अहिले निर्वाचित भए। संविधानसभा सदस्य बनिसकेका कुर्मी यस पटक प्रदेश मन्त्रीका रुपमा चुनिएका छन्।

कांग्रेसका तर्फबाट मन्त्री चुनिएका उनी पटक-पटक पार्टीको महाधिवेशन प्रतिनिधि समेत चुनिएका छन्। प्रदेश सरकारमा प्रवेश गरेका ८ मन्त्रीकै मन्त्रालयको जिम्मेवारी तोकिएको छैन। उनीहरू सबै अहिलेसम्म विना विभागीय छन्। 

प्रकाशित: १३ श्रावण २०८१ २०:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App