राजनीति

शेयर बजार ओरालो लागेकोप्रति काँग्रेसको चिन्ता

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शेयर बजार केही दिनदेखि नियमित ओरालो लागेको सम्बन्धमा छलफल भएको छ।

वाम गठबन्धन दलहरुले १० प्रतिशत आर्थिक वृद्धि र समृद्धिको नारा दिएर सरकार गठन गर्ने बेला शेयर बजारको अवस्था ओरालो लागेकोप्रति काँग्रेसले गम्भीर ध्यानाकर्षण जनाएको हो।

बैठकमा केन्द्रीय सदस्य भीष्मराज आङदम्बेले स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न भई मुलुकमा तुलनात्मक सहज राजनीतिक वातावरण बनेका बेला शेयर बजार नियमित ओरालो लाग्नु सुखद् पक्ष नभएको टिप्पणी गरेका थिए।

यसअघि बैठकमा काँग्रेस नेता डा रामशरण महतले पनि शेयर बजार ओरालो लागेको सम्बन्धमा आफ्ना धारणा व्यक्त गरेका थिए। पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी चुनावी समीक्षा बैठकमा विहीबार ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, आङदम्बे र महेन्द्र यादवले आफ्ना धारणा राखेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

यही चैत ९ गतेदेखि शुरु भएको बैठकमा बुधबारसम्म ३८ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखिसकेका छन्। प्रवक्ता शर्माका अनुसार बैठक भोलि बिहान ११ बजे पुनः बस्ने छ।

प्रकाशित: १५ चैत्र २०७४ १०:५२ बिहीबार

शेयर बजार ओरालो लागेकोप्रति काँग्रेसको चिन्ता