राजनीति

जलवायु परिवर्तनको असर र प्रभावको सम्बन्धमा संसदभित्र छलफल गरौँः सांसद सापकोटा

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले जलवायु परिवर्तनको असर र प्रभावहरुको सम्बन्धमा संसदभित्र छलफल गर्नुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद सापकोटाले जलवायु परिवर्तनको क्षेत्रमा रहेका असर र प्रभावहरुका सम्बन्धमा संसदमा छलफल हुनुपर्ने बताएका हुन्।

उनले यसको सम्बन्धमा संसदको भुमिका के रहने भन्नेमा पनि निष्कर्ष निकालेर अघि बढ्नुपर्ने बताए। जलवायु परिवर्तनको असर, प्रभाव र त्यसको न्युनिकरणको सम्बन्धमा संसदले पनि आफ्नो भुमिकालाई प्रभावकारी ढंगले सम्पादन गर्नुपर्ने उनको भनाइ छ।  

उनले भने, ‘सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहान्छु कि ०७८ साल असार १ गते जुन बाढी, पहिरो आयो सबभन्दा पहिला त त्यो करिडोर क्षेत्रका इन्द्रावती र मेचम्ची क्षेत्रका बासिन्दाहरुले पाउनुपर्ने क्षतिपूर्ति र राहत लगायतका विषयहरुका बारेमा कुनै सम्बोधन भएको छैन। यसका बारेमा सम्बोधन होस्। त्यो सँगसँगै आउँदै गरेको वर्षात्का जोखिमहरु र त्यसका पूर्वतयारीका बारेमा सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण होस् । सरकारले यसबारेमा सोचोस्। हामीले जलवायु परिवर्तनको क्षेत्रमा रहेका असर, प्रभावहरुका बारेमा यो संसदको आफ्नो भुमिका के रहने? र त्यो भुमिकाका बारेमा पनि संसदभित्र गहनतापूर्वक छलफल होस् र एउटा निष्कर्षका साथ हामी अगाडी जाऔँ। त्यो भुमिकालाई प्रभावकारी ढंगले सम्पादन गरौँ भनेर अनुरोध गर्न चाहन्छु।’

सांसद सापकोटाले ०७८ साल असार १ गते मेलम्चीमा आएको लेदोसहितको बाढीका कारण स्थानीयले पाउनुपर्ने क्षतिपूर्ति र राहत आजसम्म नपाएको भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराए। उनले आउँदै गरेको वर्षात्का जोखिमहरु र त्यसका पूर्वतयारीका सम्बन्धमा पनि सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए। 

प्रकाशित: २० जेष्ठ २०८१ १२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App