राजनीति

राष्ट्रपतिमा भण्डारी दोहोरिने भएपछि उपराष्ट्रपतिमा पुनको निश्चित

काठमाडौं- राष्ट्रपतिमा विद्या भण्डारी दोहोरिने भएपछि उपराष्ट्रपतिमा पनि नन्दबहादुर पुन दोहोरिने निश्चित भएको छ। नेकपा एमालेले मंगलबार राती भण्डारीलाई पुन राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। भण्डारीले आज राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरिसकेकी छन्। यता नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा कुमारी लक्ष्मी राईलाई उम्मेदवार बनाएको छ। भण्डारीलाई एमाले र माओवादीको समर्थन छ। भण्डारीको विजय निश्चित भएता पनि निर्विरोध हुनबाट भने बच्न सकिनन्।  

नेकपा एमालेले राष्ट्रपति पाउने भए पछि उपराष्ट्रपति माओवादीको भागमा परेको थियो। माओवादीभित्र अमिक शेरचनले उपराष्ट्रतिमा रुची देखापनि एमालेले भण्डारीलाई निरन्तरता दिने निर्णयसँगै नन्दबहादुर पुननै उपराष्ट्रपतिमा निश्चित भएका हुन्। ‘एमालेले पुरानैलाई निरन्तरता दिने निर्णय गर्‍यो। हामीले नयाँ अनुहार ल्याउँदा राम्रो सन्देश जाँदैन’, माओवादीका एक नेताले भने ‘पासाङ जीले नै निरन्तरता पाउनुहुन्छ।’ यद्यपि माओवादीले उपराष्ट्रपतिको उम्मेदवारबारे औपचारिक निर्णय गरेको छैन। वर्तमान उपराष्ट्रपति पुनको उमेरका हिसावले पनि उनैलाई दोहोर्याउने पक्षमा माओवादी नेताहरु देखिएका छन्। ‘उमेर पनि बढी भएको छैन। पुरै कार्याकाल पनि काम गर्न पाउनु भएन’, एक नेताले भने. ‘यस्तो अवस्थामा अर्को पात्र खोज्दा उहाँको व्यवस्थापन झन्झटिलो हुन्छ।’

यस अघि नै एमाले अध्यष ओली र माओवादी अध्यक्ष दाहालबीच राष्ट्रपति र उपराष्ट्रपति दोहोर्याउने सहमति भइसकेको थियो। ओलीले यसलाई औपचारिकता दिन मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी समिति बैठक बोलाए। मध्यरात सम्म चलेको एमाले बैठकले भण्डारीलाई उम्मेदबार बनाउन औपचारिकता दियो। एमाले बरिष्ठ नेता झलनाथ खनाल राष्ट्रपतिका आकांक्षी थिए। तर उनी अन्तिममा ब्याक हुँदै भण्डारीलाई बाटो खोलिदिएका थिए। राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुँदैछ।

प्रकाशित: २३ फाल्गुन २०७४ ०७:५१ बुधबार

राष्ट्रपतिमा भण्डारी दोहोरिने भएपछि उपराष्ट्रपतिमा पुनको