राजनीति

मधेसी दलसहित सरकारले एक/दुई दिनभित्र पूर्णता पाउँछ : अध्यक्ष दाहाल

पर्वत – पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले झण्डै छ दशकपछि दुई तिहाइको सरकार बन्न लागेको बताएका छन्। 

पर्वत सदरमुकाम कुश्मा बजारमा बुधबारदेखि शुरु भएको १० औं पश्चिमाञ्चलस्तरीय महिला महोत्सवको उद्घाटन गर्दै अध्यक्ष दाहालले विसं २०१५ पछि पहिलोपटक दुई तिहाइ बहुमत प्राप्त सरकार बन्न लागेको बताउँदै अहिले त्यसैको कसरतमा सरकार लागिपरेको बताए।

अब सरकार दुई तिहाइको बनाउने र समृद्धि, स्थायित्व र समाजवादतर्फ मुलुकलाई लैजान यतिबेला चटारो रहेको उनले उल्लेख गरे। उनले मुलुकमा एउटै कम्युनिष्ट केन्द्र केही दिन पहिलेको सात बुँदे सहमति र कार्यदलको पछिल्लो प्रतिवेदनले बनिसकेको दाबी गर्दै मधेश केन्द्रित दल पनि सहभागी भएपछि दुई तिहाइको सरकार बन्ने बताए। 

उनले एक/दुई दिनमै मधेशवादी दलसहितको सरकारले पूर्णता पाउनेबताउँदै मधेशवादी दलसँग संविधान संशोधनलगायत केही विषयमा सहमति हुन बाँकी रहेको स्पष्ट पारे। 

मुलुकवासीले जनमतबाटै कम्युनिष्ट पार्टीलाई जिम्मेवारी दिइसकेको बताउँदै अध्यक्ष दाहालले स्थायित्व विकास र समृद्धिजस्ता जनतासँग गरेका कबुल पूरा गर्ने समय आएको बताए।

प्रकाशित: १६ फाल्गुन २०७४ १४:४० बुधबार

मधेसी दलसहित सरकारले एक/दुई दिनभित्र पूर्णता पाउँछ अध्यक्ष दाहाल