राजनीति

सरकार गठन भन्दा पहिला पार्टी एकता : प्रचण्ड

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनभन्दा पहिला पार्टी एकता टुड्ग्याउने क्रममा आफूहरु रहेको बताएका छन्। 

प्रेस सेन्टर चितवनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले सरकार त गठन हुन्छ नै पार्टी एकता त्यो भन्दा अगाडिनै होस् भन्ने आफ्नो चाहना छ भने। 

उनले भने, “मेरो कोशिस भन्नुहुन्छ भने त सरकार गठन भन्दा अघिनै पार्टी एकता हुनु जनभावनाअनुसार पनि हुन्छ । हामीले गरेको प्रतिबद्धता अनुसार पनि हुन्छ ।” आज भोलिनै एउटा निष्कर्षमा पुग्ने तयारीमा रहेको पनि उनले बताए। उनले फागुनको दोस्रो हप्ताभित्र सरकार गठन हुने बताए। 

देशको राजनीतिक स्थायित्व हुन र विकासलाई गति दिनका लागि पनि कम्युनिष्टको एउटा बलियो केन्द्र आवश्यक रहेको अध्यक्ष प्रचण्डले विचार व्यक्त गरे। 

अहिलेको काम चलाउ सरकारले गम्भीर प्रकृतिका निर्णय गर्ने गल्ती गरेको भन्दै प्रचण्डले अहिलेको निर्णयले नेपाली काँग्रेसको लोकतान्त्रिक चरित्रमाथि नै प्रश्न चिन्ह खडा भएको उनको भनाई थियो। 

दाहालले भने,“ यसले नेपाली काँग्रेसलाई दीर्घकालीन असर गर्छ भन्ने कुरा साँचो हो, सरकारको यो निर्णयप्रति एमाले र माओवादीको मत एउटै छ। ”
माडीको बाँदरमुढे घटनामा मृत्यु भएकालाई शहीद घोषणा गरिएको विषयमा टिप्पणी गर्दै उनले जस्को नेतृत्वमा सरकार भयो त्यसले आफूखुसी शहीद घोषणा गर्ने प्रक्रिया राम्रो नभएको बताए। 

एउटा मापदण्ड बनाएर त्यो भित्र रहेर मात्रै शहीद घोषणा गर्नु राम्रो हुनेथ्यो । यद्यपि उनले शहीद घोषणा गरेकोमा आफ्नो कुनै आपत्ति भने नभएको बताए। 

मधेशवादी दल पनि अब बन्ने वाम गठबन्धनको सरकारमा सहभागी हुने प्रचण्डले विश्वास व्यक्त गरे । मधेसवादी दलहरुले उठाएको संविधान संशोधनको विषयमा पनि समझदारी बन्ने सम्भावना रहेको उनको भनाई थियो।   (रासस)

प्रकाशित: १३ माघ २०७४ ०८:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App