राजनीति

मन्त्रालय राख्ने भवन टुङ्गो लाग्यो, कार्यालयहरु भवन खोज्दै

मकवानपुर – प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडामा राखेपछि सरकारी अधिकारीहरु भवन र अन्य ब्यवस्थापन गर्न दौडधुप जारी छ। क्षेत्रीय तथा जिल्लास्तरीय सरकारी कार्यालय प्रमुखहरुको बैठकले प्रदेशस्तरीय मन्त्रालय, निवास र सचिवालय रहने भवनहरुको पहिचान गरेको छ।

मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा प्रदेश प्रमुखको कार्यालय, क्षेत्रीय प्रशासकको निवासमा प्रदेश प्रमुख र क्षेत्रीय शिक्षा निर्देशनालयमा प्रदेश सभाको सचिवालय राखेपछि थप तयारी भइरहेको छ। सरकारी टोलीले प्रदेशस्तरीय मन्त्रालयको कार्यालय, मन्त्री र सचिवको निवास राख्ने बारे पटक–पटक बिस्तृत छलफल गरी टुङ्गो लगाएका हुन्। मध्यमाञ्चल क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेको संयोजकत्वमा बसेको उच्चस्तरीय सरकारी टोलीले हेटौंडामा रहने सात वटै मन्त्रालयहरुको स्थान समेत तोकेर काम अघि बढाईएको छ।

‘प्रदेशको सात मन्त्रालयको राख्न उपयुक्त भवनको छनौट ग¥यौं’, मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले नागरिकलाई भने– ‘तत्कालको लागि मन्त्रालय राख्न उपयुक्त भवन छनौट गरी परिक्षण गर्दैछौं।’ मन्त्रालय राख्नको लागि सबै भौतिक संरचना भएको भवनहरु छनौट गरिएको बताउँदै उनले मन्त्रालयले नयाँ भवन बनाउने वा त्यसलाई व्यवस्थित गर्नेबारे विचार गर्ने बताए।

उनका अनुसार सरकारी टोलीले मन्त्रालयको लागि हेटौंडास्थित जिल्ला शिक्षा कार्यालय, डिभिजन सहकारी कार्यालय, श्रम कार्यालयको नयाँ भवन, क्षेत्रीय स्वास्थ्य निर्देशनालय, हेटौंडा कपडा उद्योगको प्रशासनिक भवन, क्षेत्रीय वन निर्देशनालय, जिल्ला वन कार्यालय मकवानपुरको भवन तोकेको छ। प्राबिधिक र ईन्जिनियरहरुले भबनहरुको अवलोकनगरि जाँच गरिरहेको बताउँदै प्रमुख जिल्ला अधिकारी बुढाले हेटौंडा कपडा उद्योगको भवन धेरै मर्मत गर्नुपर्ने पाईएको बताए।

महिला तथा बालबालिका कार्यालयको भवन, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला कृषि विकास कार्यालयको भवनलाई पनि मन्त्रालय भवनको रुपमा प्रयोग गर्न सकिने गरी तयारी गरिएको छ। प्रदेशस्तरीय मन्त्रीहरुको निवास हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको क्वाटरलाई प्रस्ताव गरिएको छ।

सभामुख र उपसभामुखको सचिवालय प्रदेश सभाको सचिवालय राखिएको क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमै र निवास सडक कम्प्लेक्समा राखिने तयारी गरिएको छ। मुख्यमन्त्री र सहायक मुख्यमन्त्रीको कार्यालय जिल्ला समन्वय समितिको कार्यालयमा रहने छ भने निवास क्षेत्रीय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हाल रहेको कार्यालय भवनमा हुनेछ। प्रमुख सचिवको निवास क्षेत्रीय वन निर्देशकको निवासमा, मुख्यमन्त्री कार्यालयको सचिवको निवास जिल्ला बन अधिकृतको निवासमा र अन्य सचिवहरुको निवास सडक कम्प्लेक्समा राख्ने तयारी भएको भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्रका प्रमुख सुदीप आचार्यले बताए। उनका अनुसार भौतिक संरचनाका आधारमा शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा र बन मन्त्रालयलाई जिल्ला बन कार्यालयमा राख्ने तयारी भएपनि अन्य मन्त्रालयको भवन भने टुङ्गो लाग्न बाँकी रहेको छ।

प्रदेशसभा सदस्यको सपथसँगै प्रधानमन्त्रीको कार्यालय तथा गृह मन्त्रालय र सहरी विकास मन्त्रालयले प्रदेशस्तरीय मन्त्रालयहरुको कार्यालय भवनबारे जानकारी गराउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि तयारीले द्रुत गति लिएको थियो।

मन्त्रालय बन्ने भएपछि कार्यालयहरु सर्ने तयारी

प्रदेश सभाको चाँडै बैठक बस्न सक्ने भएकाले सक्दो छिटो कार्यालय खाली गर्न क्षेत्रीय प्रशासक पाण्डेले कार्यालयहरुलाई पत्राचार गरिसकेका छन्। मकवानपुरका प्रमुख जिल्ला अधिकारी बुढाले प्रदेश सभा सचिवालयमा सभामुख बस्ने अग्लो मञ्च बनाउने, झ्यालमा पर्दा हाल्ने लगायतको तयारी भईरहेको भन्दै अन्य भवनको मर्मत, सम्भारको पनि तयारी भईरहेको जानकारी दिए।

मध्यमाञ्चल क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेले हेटौंडा सिमेन्टको गेष्ट हाउसलाई निवासको रुपमा प्रयोग गरिरहेका छन्। उनले मर्मत सम्भार गरेर क्षेत्रीय वन कार्यालयको क्वाटरलाई प्रयोग गर्ने बताइएको छ।

जिल्ला समन्वय समिति मकवानपुर केही समय निजी भवनमा सर्न सक्नेछ। त्यसपछि घरेलु तथा साना उद्योग कार्यालयको निर्माणाधिन नयाँ भवनमा सर्ने भएको छ। घरेलु तथा साना उद्योग कार्यालयले भने पुरानै भवनबाट सेवा दिनेछ।

क्षेत्रीय अख्तियार दुरुपयोग अनुसन्धान आयोग भने आफ्नो नयाँ भवनमा सर्ने तयारी गरिरहेको छ। अन्य कार्यालयहरुले पनि खाली रहेका सरकारी भवन र नपाईए निजी भवनको खोजी गरिरहेको बताईएको छ। त्यसको टुङ्गो भने मन्त्रालयका लागि प्राबिधिक र ईन्जिनियरहरुले भबनहरुको जाँच गरी अन्तिम नतिजा दिएपछि लाग्ने सरकारी अधिकारीहरुले जनाएका छन्।

प्रकाशित: १० माघ २०७४ १५:२२ बुधबार

मन्त्रालय राख्ने भवन टुङ्गो लाग्यो कार्यालयहरु भवन खोज्दै