राजनीति

प्रदेश २ : चिकित्सा पर्यटनको बलियो स्रोत

लहान– हुनेखाने नेपालीहरु स्वास्थ्यमा समस्या भयो कि उपचारका लागि भारत दौडिहाल्छन् । तर छिमेकी मुलुक भारतका नागरिक नेपालकै अस्पतालमाथि विश्वास गर्छन् ।  लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा दैनिक आउने बिरामीमा करिब ६० प्रतिशत भारतका हुन्छन्।

यो आँखा अस्पताल प्रदेश नम्बर २ का लागि ‘चिकित्सा पर्यटन’ को बलियो स्रोत बनेको छ । चिकित्सा पर्यटनले लहान नगरको व्यापारलाई बढाएको छ । यो अस्पतालले यस क्षेत्रका करिब चारसय नागरिकलाई प्रत्यक्ष रोजगारी दिएको छ । ‘यसबाट होटेल, लज र खुद्रे पसलको ब्यापारमा वृद्धि भएको छ । ‘रोजगारीका अवसरहरु पनि सिर्जना भएका छन्,’ अस्पताल प्रबन्धन अभिषेक रोशनले भने, ‘कूल विरामीमा झन्डै ६० प्रतिशत भारतकै हुने गरेको अस्पतालको रेकर्डबाट खुल्छ ।’

गुणस्तरीय, सस्तो र सबैखाले सहजताले उपचार गराउन आउनेमा बढी भारतीय हुने गरेको उक्त आँखा अस्पतालका प्रबन्धक रोशनले बताए । यो अस्पताल बिरामीले तिर्ने न्युन्तम शुल्क एवं दातृ संस्थाहरुको सहयोगले चल्छ । यस अस्पतालमा मुलुककै १५ उत्कृष्ट आँखा विज्ञसहित ३ सय २० चिकित्साकर्मी एवं प्रसासनिक कर्मचारी छन् ।

अहिलेसम्म कुनै विवादमा नपरेको यस अस्पतालमा वार्षिक जचाउन आउने बिरामीको संख्या ३ लाख ४५ हजार र शल्यक्रिया गराउनेहरुको संख्या करिब ६० हजार छ । गत वर्ष जचाउन आउने बिरामीको संख्या ३ लाख ३८ हजार ५ सय ४५ र शल्यक्रिया गराउनेहरुको संख्या ५४ हजार थियो । गत वर्षको तुलनामा यो तत्यांक निकै बढी हो ।

उक्त अस्पतालमा दैनिक औसत आउने ७ सय आँखाका बिरामीमा ४० प्रतिशतमात्र स्थानीय नेपाली हुन्छन् । पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रमअन्र्तगत नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित उक्त गैर नाफामूलक अस्पतालमा आधारभूत दृष्टि जाँचदेखि विश्वको अति विकसित अस्पतालमा मात्र उपलब्ध जटिल शल्यक्रियासम्म हुन्छ ।

यो आँखा अस्पतालमा मोतिया बिन्दु, जल बिन्दु, पर्दा (रेटिना) को रोग, कोर्निया (नानी) प्रत्यारोपण, अकुलोप्लास्टिक (आँखाको ढिक्कासम्बन्धी रोग), अकुलोप्रोस्थेसिस (कृत्रिम आँखा राख्ने), बालबालिकाको मोतिया बिन्दु र आँखाको डेढोपन(स्वीकन्ट)सम्बन्धी शल्यक्रिया, बच्चाको आँखासम्बन्धी सघन सल्यक्रिया यहाँ हुन्छ । यहाँ चश्माका ठाउँमा कन्टयाक्ट लेन्स राख्ने सेवासमेत उपलब्ध छ ।

बस्न लाग्ने खर्च, औषधिसहित मात्र १ हजार २ सय रुपैयाँमा मोतिया बिन्दुको शल्यक्रिया यहाँ हुन्छ । प्रबन्धक रोशनका अनुसार यस वर्ष मंगलबारसम्म शल्यक्रिया गराएका ५८ हजार ९ सय १७ गराएका आँखा बिरामीमा ७३ प्रतिशत मोतिया बिन्दुका र अन्यमा, रेटिना एवं जलबिन्दुलगायतका छन् ।

प्रबन्धक रोशनले भने, ४८ रुपैयाँ पुर्जी शुल्क तिरेपछि आँखाको सम्पूर्ण परीक्षण हुन्छ । ‘नेपालमा मात्र नभइ अन्य देशको तुलनामा सबभन्दा कम मूल्य १२ हजार रुपैयाँमा रेटिनाको शल्यक्रिया गर्छौं ।’ यही उपचार अन्य आँखा अस्पतालमा गराउँदा २४ हजारदेखि २ लाख रुपैयाँसम्म पर्छ,’ उनले भने ।

‘सेवा र सुविधाको तुलनामा निकै कम शुल्क राख्दा हरेक वर्गको पहुँचामा हामी छौं,’ उनले भने । बढी रकम खर्चेरमात्र स्तरीय उपचार पाइन्छ भन्ने भ्रम र हल्लाको यो अस्पताल सशक्त जवाफ भएको उनले बताए ।

दायाँ आँखाको मोतीबिन्दुको शल्यक्रिया गराएको महिना दिनपछि बायाँ आाँखाको मोती बिन्दु शल्यक्रिया गराउन आएका भारत विहार अररिया जिल्लाका रामचरित्र सिंह भन्छन्, ‘उतै(विहारमै) थुप्रै अस्पताल छन्, तर भरपर्दो उपचार छैन ।’ उनले थपे, ‘यहाँको उपचार भरपर्दो भएकाले उपचारका निम्ति आएका हौँ ।’ मेरो मात्र नभएर धेरै मानिसको भरपर्दो आँखा उपचार केन्द्रको रुपमा यो अस्पतालले विश्वास जितेको सिंहको भनाइ छ ।

शल्यक्रियाको संख्या, उपलब्ध सुविधा, न्युन्तम शुल्क, विज्ञ र गुणस्तरीयताको हिसाबले यो अस्पताल विश्वका उत्कृष्ट आँखा अस्पतालहरुको सूचीमा पर्छ । राजधानीको आँखा अस्पतालहरुले समेत दिन नसक्ने उपचार यहाँ उपलब्ध रहेको अस्पताल प्रसानले जनाएको छ । यहाँ दृष्टिविहीन नेपाली बिरामीले १३ हजार रुपैयाँमा आँखाको नानी (कोर्निया) प्रत्यारोपण गराउँन सक्छन् । यो सेवा यस अस्पतालले मंगलबारबाट मात्र सुरु गरेको छ ।

मंगलबार भारत विहार राज्य भिमनगरकी मनसरीदेवी सदायलाई दायाँ आँखाको नानी प्रत्यारोपन गरिएको छ । सगरमाथा चौधरी आँखा अस्पतालका कोर्निया विज्ञ डा. रीना यादवले उनको आँखाको नानी प्रत्यारोपन गरेकी थिइन् ।  आर्थिक विपन्न उनको आँखाको नानी प्रत्यारोपन निःशुल्क गरिएको अस्पताल प्रबन्धक रोशनले बताए ।

नेत्र विशेषज्ञका लागि ‘पाठशाला’
आँखा उपचारमा नाम कमाएको सगरमाथा चौधरी आँखा अस्पताल विशेषज्ञ उत्पादन गर्ने थलोसमेत हो । अस्पतालले नेशनल एकेडेमी अफ मेडिकल साइन्ससँग स्वीकृती लिएर ‘नेत्र विशेषज्ञ कोर्ष’ अध्यापन गराउँदै आएको छ ।
गुणस्तरीय सेवा र आधुनिक शल्यप्रविधिका कारण विदेशमा पनि नाम फैलाउन सफल यो अस्पताल नेत्र विशेषज्ञ उत्पादन गर्ने केन्द्रका रुपमा समेत चिनिन थालेको छ । गुणस्तरसँगै विरामीको चापका कारण विश्वभरिका नेत्रविशेषज्ञले यो अस्पताललाई हबका रुपमा लिएको प्रबन्धक रोशनले बताए ।

अस्पतालका पूर्वनिर्देशक डा. एल्ब्रेच्ट हेनिङको आविष्कार ‘फिस हुक’ प्रविधिबाट मोतिबिन्दुको शल्यक्रिया विदेशी नेत्रविशेषज्ञका लागि नौलो र अनुकरणीय बनेको रोशनले बताए । यो प्रविधि सिक्न न्युजिल्यान्ड, भारत, अमेरिका, इजिप्ट, साउदी अरेबीयाका नेत्रविशेषज्ञहरु पनि यहाँ आएर फिस हुक प्रविधि सिक्ने गरेको अस्पताल प्रसाशनले जनाएको छ ।

इन्डोनेसियाका तीन जना नेत्रविशेषज्ञ एक महिने ‘फेको इमलसिफिकेशन’ तालिम लिएर भर्खैरै फर्किएको रोशनले बताए ।

लहानका समाजसेवी अशोक अमात्यका अनुसार लहान आँखा अस्पताल यो प्रदेशका लागि बलियो स्रोत हो । यो स्रोतको संरक्षण, सम्बद्र्धन गर्दै प्रबद्र्धन गर्नसके चिकित्सा पर्यटनमार्फत प्रदेशलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान दिन सक्छ ।

प्रकाशित: २० पुस २०७४ ०७:२५ बिहीबार

प्रदेश चिकित्सा पर्यटनको बलियो स्रोत