राजनीति

मुख्यसचिवमाथि खनिए मन्त्री

काठमाडौं- शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीलाई सचिवहरूले टेर्न छाडेको विषयलाई लिएर बिहीबारको मन्त्रिपरिषद् बैठकमा चर्काचर्की भएको छ ।

नयाँ प्रधानमन्त्रीका रुपमा हेरिएका केपी ओलीको निर्देशनअनुसार मुख्य सचिव र सचिवहरू चलेको मन्त्रीहरूको आरोप, मुख्यसचिव लोकदर्शन रेग्मीद्वरा प्रतिवाद ।

सिंहदरबारमा बिहान १० बजे सुरु भएर २ बजेसम्म चलेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरू सचिवहरूले टेर्न छाडेको भन्दै मुख्यसचिव लोकदर्शन रेग्मीविरुद्ध खनिएपछि तनाव उत्पन्न भएको थियो ।  बैठकको अधिकांश समय यसै विषयमा बित्यो । बैठकमा मन्त्री–मन्त्री र मन्त्री–मुख्यसचिवबीच आरोप–प्रत्यारोप भएपछि प्रधानमन्त्री देउवाले हस्तक्षेप गर्नुपरेको थियो ।
नयाँ प्रधानमन्त्रीको रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार मुख्य सचिव लोकदर्शन रेग्मी र सचिवहरूले काम गरिरहेको तथा आफूहरुलाई नटेरेको आरोप मन्त्रीहरूले लगाएपछि बैठक तनावग्रस्त बनेको थियो । ‘ओलीजीको निर्देशनअनुसार मुख्य सचिव र सचिवहरूले आफूहरूलाई टेर्न छाडेको भन्दै केही मन्त्री खनिन थाल्नुभयो,’ एक मन्त्रीले नागरिकसँग भने, ‘मुख्य सचिवले त्यस्तो नभएको भन्दै प्रतिवाद गर्नुभयो तर मन्त्रीहरूले सुन्नै चाहनुभएन ।’ ती मन्त्रीका  अनुसार रेग्मीले देउवा नेतृत्वको सरकारले आफूलाई मुख्यसचिव वनाएकाले कुनै पनि काममा शंका नगर्न बारम्बार अनुरोध गरेका थिए ।
यस विषयमा जिज्ञासा राख्दा कानुन मन्त्री यज्ञबहादुर थापाले भने, ‘सचिवहरूले काम नगरेको र नटेरेको भनेर केही मन्त्रीले सामान्य सिकायत गरेका मात्रै हुन् । मुख्यसचिवले त्यसबारे प्रस्ट पारिसकेपछि विषय टुंगियो ।’ मन्त्री र सचिवबीचको सम्बन्ध प्रगाढ नै रहेको र सहयोग प्राप्त भइरहेको उनले बताए ।
बैठकको सुरुमा पर्यटन मन्त्री जितेन्द्र देवले सरुवा, बढुवा र राजनीतिक नियुक्ति गर्न नदिएर सचिवहरूले बाधा उत्पन्न गरेको तथा मन्त्रीहरूको निर्देशन पनि टेर्न छाडेको भन्दै विषय उठान गरेका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले असहयोग गरेपछि आफूले हटाउन खोज्दा सचिव महेश्वर न्यौपाने र निर्वाचन आयोग बाधक भएको गुनासो देवले गरेका थिए । ‘सचिवले पनि सहयोग गरेनन्, पछि मलाई त्यही विषयमा निर्वाचन आयोगमा लगेर उभ्याउने काम गरियो,’ देवको गुनासो थियो, ‘अहिले आचारसंहिता लागेको छैन, नियुक्ति र केही सरुवा–बढुवा गर्न खोज्या थिएँ, सचिवले दिँदै दिँदैनन् ।’ मन्त्री देवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायलाई प्राधिकरणमा लैजान खोजे पनि सम्भवः नभएपछि त्यो पदमा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई प्रस्ताव गरिरहेका छन् ।
विभिन्न नियम कानुन देखाएर सचिवहरूले मन्त्रीहरूको निर्देशन पालना गर्न आनकानी गरिरहेको मन्त्री देवको गुनासो थियो । बैठक स्रोतका अनुसार मन्त्री देवको गुनासोप्रति उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले समर्थन जनाउँदै थपे, ‘जितेन्द्र देवजीले भने झै अन्य मन्त्रीले पनि यो पीडा भोगेका छन, सचिवहरूले टेर्न छाडेपछि मन्त्रीहरूले कसरी काम गर्ने ? यो गलत छ ।’  
बैठकमा सहरी विकास मन्त्री दिलनाथ गिरीले सचिव दिपेन्द्रनाथ शर्माले आफनो निर्देशन मान्न छाडेको र उनको ठाउँमा डा. रमेश सिंहलाई ल्याउन खोज्दा मुख्य सचिवले नमानेको गुनासो गरेका थिए । ‘सहरी विकासमा पिएचडी पनि गरेको र सहरको योजना बनाउन सक्ने क्षमता भएकाले सिंहलाई सचिवमा ल्याउन सके केही काम गरेर जान सकिन्छ भनेर मुख्य सचिवसँग कुरा गरें तर सुनवाइ नै भएन’, गिरीलाई उद्यृत गर्दै स्रोतले भन्यो । मन्त्री गिरीले नागरिकको जिज्ञासामा सबै कुरा बताउन आनाकानी गरे पनि सचिवले नटेरेको विषय मन्त्रीहरूले बैठकमा उठाएको जानकारी दिए । ‘आज (बिहीबार) को बैठकको अधिकांश समय मन्त्रीको निर्देशन सचिवहरूले नटेरेको भन्ने सबालमा केन्द्रित भयो,’ गिरीले भने, ‘सबैजसो मन्त्रीको यस्तो गुनासो आएपछि प्रधानमन्त्री र मुख्यसचिवले जबाफ दिनुभयो ।’ बैठकमा भौतिक योजना मन्त्री वीरबहादुर बलायर, कृषि मन्त्री रामकृष्ण यादव, सिँचाइ मन्त्री सञ्जय गौतमलगायतले आआफ्नो मन्त्रालयका सचिवले निर्देशन पालनामा आनाकानी गरेको र मोबाइल पनि उठाउन छाडेको गुनासो सुनाएका थिए । उनीहरूले केही सचिव काम गर्न अस्वीकार गर्दै बिदामा बसेको  पनि बताएका थिए । बैठकमा अधिकांश मन्त्रीले मुख्य सचिव रेग्मीले ओलीसँग भेट गरी सचिवहरूलाई ‘कामचलाउ सरकार’ का मन्त्रीको निर्देशन नमान्न निर्देशन दिएको आरोप लगाएका थिए ।
मन्त्री–मन्त्रीबीच पनि चर्काचर्की
मन्त्रिपरिषद् बैठकमा सचिव दिपेन्द्रनाथ शर्मालाई सरुवा गर्न आफूले आग्रह गरे पनि मुख्य सचिवले नसुनेको गुनासो सहरी विकास मन्त्री दिलनाथ गिरीले राखेका  थिए । यस विषयलाई लिएर मुख्य सचिव लोकदर्शन रेग्मीसँग मन्त्री गिरीको विवाद भयो । विवाद बढेपछि उपप्रधान तथा ऊर्जा मन्त्री कमल थापाले हस्तक्षेप गर्दै मन्त्री गिरीलाई राजीनामा दिन भने ।
‘मेरो राजीनामा माग्ने तपार्इं को हो ? प्रधानमन्त्री हो र तपाई ? भन्दै मन्त्री गिरी पड्किनु भयो । काम गर्न नदिने हो भने राजीनामा दिन्छु भन्नुभयो,’ प्रत्यक्षदर्शी एक मन्त्रीले नागरिकसँग भने, ‘त्यसपछि प्रधानमन्त्रीले हस्तक्षेप गरेर राजीनामा पनि दिनुपर्दैन, स्वीकृत पनि गरिँदैन भनेपछि उहाँ शान्त हुनुभयो ।’ थापा र गिरी दुवै राप्रपाबाट मन्त्री भएका हुन् । ती मन्त्रीका अनुसार बैैठकमा एउटै पार्टीका मन्त्रीबीच नै विवाद भएपछि प्रधानमन्त्री देउवाले साँझ मन्त्री गिरीलाई बालुवाटार बोलाएर कुराकानी गरेका थिए ।
पुरातत्व विभागले निर्धारण गरेअनुसार रानीपोखरी पुनर्निर्माण गर्न बैठकले निर्देशन दिएको छ । ‘रानीपोखरीको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई आत्मसात् गर्दै पुरातत्व विभागको मापदण्डअनुसार मात्र निमार्ण कार्य अघि बढाउन  मन्त्रिपरिषद् बैठकले सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ’, बैठकपछि उपप्रधानमन्त्री थापाले भने ।
बैठकले मिर्गौला, क्यान्सर, स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई मासिक ५ हजार जीविकोपार्जन भत्ता दिने तथा बंगलादेशलाई हराउँदै प्रथम ह्विलचेयर क्रिकेट च्याम्पियन बन्न सफल नेपाली टिमका सबै खेलाडीलाई जनही १÷१ लाख रुपैयाँ प्रोत्साहनस्वरुप दिने निर्णय गरेको छ । बैठकले स्वास्थ्य मन्त्रालयको सचिवमा स्त्रीरोग विशेषज्ञ डा. पुष्पा चौधरीलाई नियुक्त गरेको छ ।

प्रकाशित: १४ पुस २०७४ ०१:५० शुक्रबार

मुख्यसचिवमाथि खनिए मन्त्री