राजनीति

मोदीले गरे नेपाली नेताहरुसँग टेलिफोन संवाद

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा प्रतिनिधिसभा र प्रदेशसभा चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गरेकोमा नेपाली नेताहरूलाई बधाई ज्ञापन गरेका छन् । मोदीले अब नेपालमा स्थायित्व र आर्थिक विकास हुने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बिहीबार साँझ भिन्नाभिन्नै टेलिफोन संवाद गरी नेपालमा अब राजनीतिक स्थायित्व भई आर्थिक विकास हुने बताएका हुन् ।

‘नेपालमा ऐतिहासिक चुनाव निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न सकेकामा मोदीले बधाई दिनुभयो,’ प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने, ‘मोदीले निर्वाचनले नेपालमा राजनीतिक स्थायित्व ल्याउने विश्वास गर्नुभयो ।’ जबाफमा प्रधानमन्त्री देउवाले चुनावले नेपालको संविधान पूर्ण कार्यान्वयनमा आएको बताएका थिए ।
एमाले अध्यक्ष ओलीसँग भएको टेलिफोन संवादमा मोदीले चुनावमा प्राप्त गरेको सफलताप्रति वाम गठबन्धनलाई बधाई दिएका थिए ।
‘यस सफलताले नेपालमा लोकतन्त्र सुदृढ बनाएको तथा निर्वाचनमा हासिल परिणाम र गठबन्धनको जितले नेपालमा राजनीतिक स्थायित्व कायम हुने र आर्थिक विकास हुने विश्वास व्यक्त गर्नुभयो,’ एमालेका सचिव प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नयाँ सरकार बनेलगत्तै भारत भ्रमण गर्न मोदीले ओलीलाई नियन्त्रणमा दिएका छन् ।
‘सरकार गठनलगत्तै भारत भ्रमणका लागि अध्यक्ष ओलीलाई निमन्त्रणा गर्दै आफू उहाँलाई स्वागत गर्न आतुर रहेको र नयाँ सरकारसँग सहकार्य गर्न प्रतीक्षारत रहेको बताउनुभयो,’ विज्ञप्तिमा भनिएको छ, ‘उहाँ (ओली) ले भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गर्दै सरकार गठनलगत्तै औपचारिक निमन्त्रणापत्र पठाइने बताउनुभयो ।’
टेलिफोन संवादमा ओलीले छिमेकी देशहरुसँग सुसम्बन्ध राख्ने बताएका थिए । ओलीले अब आफ्नो ध्यान स्थायित्व, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक विकासमा केन्द्रित भएको बताएका थिए । विज्ञप्तिमा उल्लेख छ, ‘यसका लागि छिमेकीसँग सुसम्बन्ध कायम गरिनेछ । खास गरी भारत र चीनसँग शान्ति र समृद्धिका लागि सहकार्य गरिनेछ ।’
माओवादी केन्द्रका अध्यक्ष दाहालसँगको टेलिफोन संवादमा मोदीले निर्वाचनमा वाम गठबन्धनले प्राप्त गरेको सफलताप्रति बधाई दिएका थिए ।
नेपाली नेतासँग भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन संवाद गरिरहेको जानकारी भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले साप्ताहिक पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।
पछिल्लो समयमा भारतीय सञ्चारमाध्यमले नाकाबन्दीलगायतको विषयका कारण नेपालसँग चिसिएका सम्बन्धलाई नयाँ ढंगबाट अघि बढाएर सुदृढ बनाउन सुझाव दिँदै आएका छन् ।

प्रकाशित: ७ पुस २०७४ ०२:४० शुक्रबार

मोदीले गरे नेपाली नेताहरुसँग टेलिफोन संवाद