राजनीति

मतदातामा द्विविधाले बदर मत बढ्यो

रामेछाप – मत खसाल्नु पूर्व मतदातामा रहेको द्विविधाका कारण प्रतिनिधि सभा र प्रदेश सभामा खसेको मत गणना गर्दा बदर मतको संख्या उल्लेख्य रहेको छ । स्थानीय निकायको निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा बदर मतको संख्या अनुमान गरेको भन्दा बढी नै देखिएको छ । 

गणना गरिएको मतलाई हेर्दा प्रतिनिधि सभा र प्रदेश सभामा बदर मतको संख्या समेत फरक फक पाइएको छ । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको रामेछापमा तहगत हिसावमा हेर्दा करिब ७ प्रतिशतसम्म मत बदर पाइएको मुख्य निवार्चन अधिकृत कृष्ण प्रसाद भट्टराईले जानकारी दिए । जिल्लामा गरिएको मतगणनामा प्रदेश सभा (क) मा बढी मत बदर देखिएको छ । प्रदेश सभा (क) मा कुल गणना गरिएको ४३ हजार ७८ मत मध्ये २ हजार ९ सय ८८ मत बदर भएको छ । यो ६ दशमलव ९३ प्रतिशत मत बदर हो । प्रदेश सभामा भने कुल गणना गरिएको ८८ हजार ७ सय ८१ मत मध्ये ५ हजार ३ सय ५१ मत बदर भएको छ । यो कुल ६ प्रतिशत बदर हो । त्यसैगरी सबैभन्दा मत बदर ‘क’ मा भने प्रदेश सभा ‘ख’ मा देखिएको छ । प्रदेश सभा ‘ख’ मा कुल गणना गरिएको ४५ हजार ८ सय ३ मत मध्ये २ हजार ९३ मत बदर भएको छ । यो ४ दशमलव ५६ प्रतिशत मत बदर हो। 

स्थानीय निकायको निर्वाचनमा केही समय अघि मात्र मतदान गरेर बसेका मतदातामा रहेको द्विविधाका कारण पनि बदर मतको संख्या बढी देखिएको निर्वाचनमा जिम्मेवारी सरकारी अधिकारीका रुपमा खटिएका रामेछापका कोष तथा लेखा नियन्त्रक मधु पोख्रेलले बताए । कुन मत पत्रमा कुन पार्टीलाई मत दिने भनेर सबै मतदातामा ज्ञान नहुँदा र सदाको भन्दा मतदान गर्ने प्रक्रिया केही फरक हुँदा पनि मतदातामा अलमलपन देखिएको पोख्रेलले बताए । स्थानीय निकायमा एउटा मत पत्रमा ७ वटा छाप लगाएका मतदातालाई अहिलेको मत पत्रमा फरक किसिमले छाप लागाउनु पर्ने पक्रियाले पनि मत बदर बढेको हुन सक्ने पोख्रलले बताए। ३ वटा मतपत्रमा ४ वटा छाप लगाउनु पर्ने भएकाले पनि मतदाताहरूमा समस्या देखा परेकोले बदर मतको संख्या बढेको जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रुमख कपिल शर्माले बताए।

पार्टीहरूमा भएको गठबन्धनले पनि मतदाताहरू अलमलमा परेकोले पनि बदर मत बढेको हुन सक्ने शर्माले बताए। 
मतदानको प्रक्रिया केही फरक किसिमको भएको र मतदाता शिक्षा प्रयाप्त हुन नसक्दा पनि बदर मत बढ्न गएको मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद पौडेलले जानकारी दिए । छोटो समयमा नै सबै तयारी गर्नु परेकोले पनि निर्वाचन पूर्वका केही गतिविधिहरू गर्न समय नभएका कारण पनि यस्तो भएको हुन सक्ने पौडेलले बताए । अधिकांश मतदाताहरूको खेतीपाती भित्र्याउने मध्यसमय परेकोले पनि मतदाता शिक्षामा उनीहरूको सहभागिता रहन नसक्दा र निर्वाचनलाई खासै महत्वमा नराख्दा पनि मत बदर बढेको प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामिछानेले बताए । यता मतदाता शिक्षाका लागि खटिएका शिक्षक र भोट माग्न जाने दलका कार्यकर्ताहरूले आ–आफ्नै किसिमले भोट माग्ने गरेकाले पनि मतदाता अलमलमा परेर मत बदर भएको मन्थलीका कृष्ण बस्नेत बताउँछन । उनले छोटो समयको मतदाता शिक्षा प्रभावकारी समेत बन्न नसकेको दावी गरे। 

सोमबार अपरान्हसम्म जिल्लाको समानुपातिक तर्फको ४६ हजार ६ सय ८२ मत गणना गर्दा समेत ४ हजार ९ सय ८० मत बदर भेटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ। 

 

प्रकाशित: २५ मंसिर २०७४ ११:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App