राजनीति

राजपाका ठाकुर र महतोले मतदान गर्न पाएनन्

सर्लाही- सर्लाही निवासी राजपाका दुई शीर्ष नेताहरुले प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनमा मतदान गर्न पाएनन् । राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर एवं सदस्य राजेन्द्र महतोले मतदान गर्न नपाएका हुन् ।
ठाकुरले महोत्तरीको प्रतिनिधि सभा ३ बाट तथा महतोले धनुषाको प्रतिनिधि सभा ३ बाट उम्मेद्वारी दिएर उतै प्रचार प्रसारमा रहेकाले सर्लाहीमा आएर मत खसाल्न नपाएका हुन् । ठाकुरको मलंगवा नगरपालिका–८ तथा महतोको चन्द्रनगर गाउँपालिका–२ मा मतदाता नामावली रहेको छ ।
राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र रायले भने आफू उठेको सर्लाही प्रतिनिधि सभा २ अन्तर्गत हरिपूर्वा नगरपालिका–९, बसन्तपुर स्थित रामजानकी मतदान केन्द्रबाट मतदान गरेका छन् ।
त्यस्तै पशुपंक्षी विकास राज्य मन्त्री शम्भुलाल श्रेष्ठले आफू उठेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत लालबन्दी नगरपालिका–१३ को पथ्थरकोट स्थित कुशेश्वर आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।
फोटो क्याप्सन ः सर्लाहीको हरिपूर्वा नगरपालिका–९ बसन्तपुर स्थित रामजानकी मतदान केन्द्रमा मतदान गर्दै राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय ।
सर्लाही स्थित विभिन्न मतदान केन्द्रमा मत हाल्न लामबद्ध एवं मत खसाल्दै मतदाता ।

 

प्रकाशित: २१ मंसिर २०७४ ०४:०८ बिहीबार

राजपाका ठाकुर महतोले मतदान गर्न पाएनन्