राजनीति

चुनावी हिंसा बढ्यो : म्यादी प्रहरीको ज्यान गयो, उम्मेदवार गम्भीर

काठमाडौं – दोस्रो चरणको मतदानका लागि एक साता बाँकी रहँदा निर्वाचनविरोधीले आपराधिक गतिविधि बढाउँदा सुरक्षामा खटिएका म्यादी प्रहरी विनोद चौधरीको ज्यान गयो । बुधबार शक्तिशाली एम्बुसमा पर्दा उदयपुर क्षेत्र नम्बर २ का कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भए। 

दुई दिनमा भएको विस्फोटमा परेर १५ जना घाइते भएका छन् । चुस्त सुरक्षा व्यवस्था मिलाइएको दाबी गरिएको उपत्यकाका ललितपुर र भक्तपुरमा विस्फोटका घटना बढेका छन् तर गृहका जिम्मेवार अधिकारी मौन छन्।

कात्तिक २४ बाट निर्वाचनविरोधी समूहले विभिन्न स्थानमा विस्फोट गराउँदै आए पनि मानवीय क्षति भएको थिएन । ४० विस्फोटक घटनामध्ये नुवाकोट र रौतहटको चन्द्रपुरमा भएको विस्फोटको घटना ठूलो थियो । नुवाकोटको घटनामा तीनजना सामान्य घाइते भएका थिए । रौतहटमा भएको घटनामा ७ वर्षीय जैविक राईसहित २ जना गम्भीर घाइते भएका थिए।

माओवादी केन्द्रले सम्हालेको गृह मन्त्रालय माओवादी मन्त्रीलाई बिनाविभागीय बनाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा छ । गृह सचिव मोहनकृष्ण सापकोट र शान्ति सुरक्षा महाशाखा प्रमुख नारायणप्रसाद शर्मा सञ्चारकर्मीको सम्पर्कमा आउन रुचाएका छैनन् । निर्वाचन सुरक्षाबारे हरेक दिन बेलुका गृहले  सपाट विज्ञप्ति जारी गरेर झारा टार्ने गरेको छ।

बुधबार बेलुका गृहले वेबसाइटमा राखेको विज्ञप्तिमा निर्वाचन सुरक्षाका क्रममा मारिएका सदस्यका परिवारलाई श्रद्धाञ्जली दिँदै घाइतेको स्वास्थ्यलाभको कामना गरिएको छ । पहिलो चरणको निर्वाचनदेखि नै गृह निर्वाचनविरोधी समूहबारे मौन बस्दै आएको छ । दोस्रो चरणको निर्वाचनमा समेत आपराधिक गतिविधिमा संलग्न समूहबारे उसको मौनता जारी छ।

बुधबार जारी गरिएको विज्ञप्तिमा ‘निर्वाचन विरोधीले विस्फोटको घटना घटाएको’ मात्र उल्लेख छ । विज्ञप्तिमार्फत उसले आपराधिक गतिविधि नगर्न संलग्न समूहलाई सचेत गराएको छ।

मंगलबार दाङको तुलसीपुरमा आयोजित कांग्रेसको सभानजिकै विस्फोट हुँदा म्यादी प्रहरी चौधरीसहित ८ जना घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि राप्ती अञ्चल अस्पतालमा भर्ना गरिए पनि चौधरीको ज्यान जोगिएन । अन्य उपचारकै क्रममा छन्।

बुधबार उदयपुरको गढी गाउँपालिकामा विस्फोटमा परी उम्मेदवार कार्कीसहित उदयसी बहुमुखी क्याम्पस कटारीकी स्ववियु सभापति निरा कटुवाल, प्रहरी जवान कालिदास श्रेष्ठ र चालक राजन कार्कीलगायत ७ जना घाइते भएका थिए । 
गम्भीर घाइते भएका उम्मेदवार कार्की र कटुवालको अवस्था गम्भीर भएपछि हेलिकप्टरमा काठमाडौं ल्याएर महाराजगन्जको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाभन्दा दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा सुरक्षा जोखिम बढी रहेको गृहले तयार पारेको सुरक्षा रणनीतिमा उल्लेख छ । पहिलो चरणमा नेत्रविक्रम चन्द विप्लव र पूर्वी पहाडी क्षेत्रमा जातीय संगठनका गतिविधिलाई चुनौती देखेको गृहले दोस्रो चरणको निर्वाचनमा यी समूहसँगै तराईमा सुस्त रहेका भूमिगत समूह र चन्दा आतंक मच्चाउन खुल्ने नयाँ समूहलाई समेत चुनौतीको सूचीमा राखेको थियो । उसले सोही अनुसारको सुरक्षा रणनीति र सुरक्षाकर्मी परिचालन गरे पनि पहिलो चरणको मतदान सकिएलगत्तै दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा विस्फोटका घटना बढेका छन्।

गृहको दाबीअनुसार ६८ हजार सेना, ७२ हजार प्रहरी, ३५ हजार सशस्त्र र ३ हजार राष्ट्रिय अनुसन्धान विभागको जनशक्तिमध्ये ९० प्रतिशत र ९८ हजार म्यादी सुरक्षामा परिचालित छन् । गृहले मनोनयनअगाडि, मनोनयनपछि, मतदानको दिन र मतगणना गरेर चार चरणको एकीकृत सुरक्षा योजना बनाएको थियो। 

पहिलो चरणको सुरक्षा रणनीतिअन्तर्गत मतपेटिकाको सुरक्षामा केही जनशक्ति खटिएका छन् । दोस्रो चरणको निर्वाचन सुरक्षा योजनाअनुसार अहिले मनोनयनपछिको सुरक्षा रणनीति कार्यान्वयनमा छ, जसअनुसार उम्मेदवारको सुरक्षा, चुनावी प्रचारका लागि हुने आभसभास्थलको सुरक्षा, निर्वाचन र पार्टी कार्यालयको सुरक्षा र निर्वाचनविरोधी समूहका सदस्यको खोजीमा सुरक्षाकर्मी परिचालित छन्।

पहिलो चरणको मनोनयनसँगै उम्मेदवार केन्द्रित आक्रमण सुरु भएपछि प्रहरीले ८ सयभन्दा बढीलाई पक्राउ गरेको छ । पहिलो चरणमा ४ सय पक्राउ परेका थिए भने दोस्रो चरणमा उत्तिकै संख्यामा पक्राउ परेका छन् । पक्राउ परेकामध्ये ५ सय २४ जना निर्वाचनविरोधी गतिविधिको आरोपमा प्रहरी हिरासतमा छन् । यीमध्ये अधिकांश विप्लव समूहका नेताकार्यकर्ता हुन् । २ सय ५२ जना पेस्तोललगायतका हतियारसहित पक्राउ परेका छन्।

‘निर्वाचनविरोधी गतिविधिमा संलग्न देखिएका ५ सय २४ जना प्रहरी हिरासतमा छन्,’ प्रहरी प्रवक्ता मनोज न्यौपानेले भने, ‘पक्राउ परेकामाथि विस्फोटक पदार्थ र सार्वजनिक अपराध दुवै प्रकृतिको अभियोगमा अनुसन्धान भइरहेको छ।’  

मतदानको दिन मंसिर १० मा फाट्टफुट्ट अवरोधको प्रयास भए पनि ठूलो घटना नहुँदा मतदान शान्तिपूर्ण भएको थियो । पहिलो चरणमा वाम गठबन्धनका उम्मेदवारमाथि आक्रमण क्रम बढेको थियो । दोस्रो चरणमा नेपाली कांग्रेसका उम्मेदवार केन्द्रित आक्रमणका घटना बढेका छन् । दोस्रो चरणको चुनावी प्रचार क्रमले तीव्रता पाएसँगै राजधानीसहितका जिल्लामा कार्यक्रमस्थल, प्रचारमा हिँडेका उम्मेदवार र उम्मेदवारको घर केन्द्रित विस्फोटका घटना भएका छन्। 

कांग्रेसका तर्फबाट झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ का नेपाली कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलाको चन्द्रगढीस्थित घर नजिकै सोमबार राति बम विस्फोट भएको थियो । मंगलबार उदयपुर क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार डा. नारायण खड्काको गाडीलाई लक्षित गरी बम प्रहार भएको थियो भने ललितपुरको जाउलाखेलमा वाम गठबन्धनले आयोजना गरेको आमसभास्थलबाट ३ सय मिटर पर घरेलु बम पड्किएको थियो । मंगलबार नै भक्तपुरमा समेत सकेट बम पड्किएको थियो।

पक्राउ परेनन् विप्लवका कमान्डर
गृह प्रशासनले निर्वाचनविरोधी गतिविधिमा संलग्न समूहबारे औपचारिक रुपमा कसैको नाम लिएको छैन । निर्वाचन भाँड्न विप्लवले सर्कुलर जारी गरेका थिए । सर्कुलरको निर्देशन र आक्रमणको प्रकृति एकै भएपछि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध समूहले गराएको निष्कर्ष निकाल्दै सुरक्षा निकायले उसका नेता–कार्यकर्ता पक्राउ क्रम बढाएको थियो।

विप्लवसहितका केन्द्रीय तहका नेता खोज्न आतंकवाद हेर्ने प्रहरीको विशेष ब्युरो खटिएको छ । उसले हालसम्म विप्लवका केन्द्रीय तहका ३ सदस्यमात्र पक्राउ गरेको छ । ब्युरोले विप्लवसँगै उपत्यका ब्युरो इन्चार्ज माइला लामा, केन्द्रीय सदस्य खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र वास्तोलालाई खोजे पनि फेला पार्न सकेको छैन ।
स्रोतका अनुसार सन्तोष बुढामगर, उमा भुजेल, पदम राई, अनिल शर्मा, भरत बम, ओमप्रकाश पुन, बाबुराम नेपाली, शरदसिंह भण्डारी, रामप्रसाद तिमल्सिना, गगन खड्का, कृष्ण धमला, खुमा सुवेदी, हेमराज भट्टराई, देवीदत्त पाण्डे, अशोक रोकाया, चूडामणि वली, भेषराज भुसाल, गुणराज लोहनी, टेकबहादुर केसी, मोहलाल चन्द, झकबहादुर मल्ल, तेजबहादुर मिजारलगायत खोजीको सूचीमा रहे पनि फेला पार्न सकेको छैन।

कात्तिक १९ मा विप्लवले सर्कुलर जारी गरेलगत्तै सुरक्षा निकायले उनको गतिविधि निगरानीमा राखेको थियो । विप्लव पूर्व क्षेत्र पुगेसम्मको रेकर्ड सुरक्षा निकायसँग छ । पूर्वबाट मध्य लागेपछि उनीबारे सुरक्षा निकाय बेखवर छ । तराईमा भएका केही घटनाको जिम्मा भूमिगत सशस्त्र समूह जयकृष्ण गोइत समूहले लिएको छ।

दोहोरो निर्देशनको मारमा प्रहरी
निर्वाचनको सुरक्षामा खटिएकाको ज्यान जानेगरी विस्फोटको घटना सुरु भए पनि गृह प्रशासन विप्लव समूहप्रति नरम छ । उच्च स्रोतका अनुसार केन्द्रबाट जिल्लाका प्रहरी प्रमुखलाई विप्लवका नेता–कार्यकर्ता जहाँ भेट्यो त्यहीं पक्राउ गर्न निर्देशन गएको छ । प्रमुख जिल्ला अधिकारीले भने तल्लो तहका कार्यकर्ता पक्राउमा जोड दिए पनि माथिल्लो तहका नेतालाई निगरानीमा राख्नमात्र निर्देशन दिने गरेका छन् ।
प्रहरीको चेन अफ कमान्डमा प्रमुख जिल्ला अधिकारीभन्दा प्रहरी महानिरीक्षक बलियो हो तर जिल्ला तहमा परिचालनको अधिकार प्रमुख जिल्ला अधिकारीलाई समेत रहँदा दोहोरो निर्देशनले जिल्ला प्रहरी प्रमुख अलमलमा देखिएका छन्। 

यस्तो अवस्थामा प्रहरी अधिकारीले प्रहरी प्रमुखको निर्देशनलाई प्राथमिकता दिने गरे पनि प्रहरी नियमावली २०७१ मा कार्यसम्पादन मूल्यांकनबापतको नम्बर दिने अधिकार सिडिओले समेत पाएका छन् । त्यसैले जिल्ला तहका प्रहरी अधिकारले सिडिओको आदेश उल्लंघन गर्न चाहँदैनन्।

‘प्रहरी प्रशासन र गृह प्रशासनबाट आउने निर्देशनको प्रकृति फरकफरक हुँदा विप्लवका कुन तहका नेता पक्राउ गर्ने भन्ने अलमल छ,’ एक सुरक्षा अधिकारीले भने, ‘केन्द्र र सिडिओसापको निर्देशन समान नहुँदा जिल्लाका प्रहरी नेतृत्व दोहोरो मारमा छन्।’

प्रकाशित: १४ मंसिर २०७४ ०१:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App