राजनीति

उपेन्द्रको क्षेत्रमा चुनावी रोमाञ्च

उपेन्द्र यादव,  उमेशकुमार यादव, र जयप्रकाश ठाकुर

राजविराज – प्रतिनिधिसभातर्फ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारीसँगै चर्चामा आएको सप्तरी २ को चुनावी वातावरण निकै रोमाञ्चक भएको छ । फोरम–राजपा गठबन्धनका साझा उम्मेदवार हुनुका साथै कांग्रेससमेतको समर्थनका कारण उपेन्द्रको जित सहज ठान्नेहरु पनि स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुर र वाम गठबन्धनका उम्मेदवार पूर्व सिँचाइमन्त्री उमेशकुमार यादवको चुनौतीलाई कमजोर मान्न सकिरहेका छैनन्। 

सदरमुकाम राजविराजसँगै तिलाठी कोइलाडी, छिन्नमस्ता र महदेवा गाउँपालिका समावेश रहेको सप्तरी २ मा खासगरी राजपा र फोरमको बलियो संगठन छ । पछिल्लो स्थानिय तह निर्वाचनमा राजविराज नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिकाको प्रमुख–उपप्रमुखमा राजपाका उम्मेदवार विजयी भएका थिए । त्यस्तै महदेवामा फोरम नेपालले जित हात पारेको थियो भने छिन्नमस्ता गाउँपालिकाको उपप्रमुखमा राजपाले जित हात पारेको थियो। 

राजनीतिक माहोल फरक देखिएकाले स्थानीय तहको जितका आधारमा मात्रै कुनै उम्मेदवारलाई बलियो तथा कसैलाई कमजोर भन्न सकिने अवस्था नरहेको नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णुकुमार मण्डलको भनाइ छ । ‘एक तहको निर्वाचनलाई अर्को तहको निर्वाचनका परिणामसँग दाजेर व्याख्या गर्न सकिने अवस्था हुँदैन’, उनले भने, ‘पहिलो संविधानसभा चुनावमा सबै क्षेत्र जितेका मधेसवादी दलले पछिल्लो संविधानसभामा सप्तरीबाट एउटा पनि सिट जित्न सकेका थिएनन् । जनताको मनमा के चलिरहेको छ त्यो जनता नै जानून्।’ 

जानकारहरुका अनुसार उपेन्द्रका लागि सबैभन्दा ठुलो चुनौती राजपाकै सहमहामन्त्री जयप्रकाश ठाकुरको स्वतन्त्र उम्मेदवारी हो । सांगठनिक रुपमा मजबुत पकड राख्ने ठाकुर दोस्रो संविधानसभा निर्वाचनमा थोरै मत अन्तरले माओवादी प्रत्याशी उमेशकुमार यादवसँग चुनाव हारेका थिए । पूर्वमन्त्री यादव यसपटक पनि सशक्त उम्मेदवारका रुपमा देखिएका छन्।

राजपा–फोरम गठबन्धनका शीर्ष नेताले अन्तिम समयसम्म ठाकुरलाई मनाउन निकै प्रयत्न गरेका थिए । राष्ट्रियसभामा मनोनीत गर्नेदेखि लिएर अन्य ‘अफर’ समेत ठाकुरलाई दिइएको गठबन्धन निकटकै स्रोतको दाबी छ । ठाकुरले उम्मेदवारी फिर्ता नलिएपछि राजपाले विज्ञप्ति निकालेर बागी उम्मेदवारलाई पार्टीको साधारण सदस्यताबाट बर्खास्त गरेको घोषणा गरिसकेको छ।

राजपाका जिल्लास्तरीय र सप्तरी घर भएका केन्द्रीय नेताले उपेन्द्रलाई साझा उम्मेदवार भनी प्रचारप्रसार गरिरहँदा समेत राजपाका स्थानीय कार्यकर्ता भने अझै अलमलमै छन् । उनीहरुले गठबन्धनको धर्म निर्वाह गर्लान् भन्नेमा फोरम नेपालका नेताकार्यकर्ता सशंकित छन् । यद्यपि फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेशकुमार यादवले गठबन्धनप्रति दुवै दलका नेताकार्यकर्ता निकै इमानदार देखिएको प्रतिक्रिया जनाए । राजपा सप्तरीका अध्यक्ष सुनिलकुमार झासमेत आफूहरु गठबन्धनको निर्णय र सिद्धान्तविपरीत नलाग्न सम्पूर्ण नेताकार्यकर्तालाई सर्कुलर गरिसकेको बताउँछन् । उता कांग्रेसले पनि उपेन्द्रलाई सघाउन भन्दै आफ्नो उम्मेदवारलाई फिर्ता गराएको छ । यसबाट उपेन्द्रको अवस्था केही सुदृढ भएको स्थानीय मतदातासमेत रहेका राजनीतिक विश्लेषक डा. हेमकुमार मिश्रको भनाइ छ। 

प्रकाशित: १३ मंसिर २०७४ ०२:०७ बुधबार

उपेन्द्रको क्षेत्रमा चुनावी रोमाञ्च