राजनीति

'एउटा मतदान केन्द्रमा भए पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न देऊ'

काठमाडौं- उपयोगी प्रविधिको अनुसन्धान र विकासमा संलग्न जुम्ल्याहा राम–लक्ष्मण रिमालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एउटै मात्र मतदान केन्द्रमा भए पनि स्वदेशी भोटिङ मेसिन प्रयोग गरिदिन निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।
आयोगले अनुमति दिए मतदाता शिक्षा लगायत विद्युतीय मेसिनबाट मतदान गराउँदा लाग्ने सम्पूर्ण खर्च आफैंले बेहोर्ने उनीहरुले प्रस्ट पारे । आइतबार काठमाडौंमा आयोजित नमुना मतदान तथा पत्रकार सम्मेलनमा उनीहरुले नुवाकोटको बेलकोटगढी–१२ स्थित भृकुटी मावि मतदान केन्द्रमा मेसिन प्रयोग गर्ने अनुमति मागे । सो क्षेत्रका उम्मेदवारहरु विद्युतीय मेसिनबाट मतदान गराउन राजी भई लिखित सहमति दिइसकेको राम–लक्ष्मणले बताए ।
उक्त मतदान केन्द्रमा मेसिन प्रयोग गर्न निर्वाचन आयोगलाई पत्र लेखेको तर आयोगका अधिकारीहरुले पत्र बुझ्न नमानेको उनीहरुको भनाइ छ । ‘आज पत्र लिएर आयोग गएका थियौं, उहाँहरुले पत्र लिनै मान्नु भएन,’ जुम्ल्याहामध्येका लक्ष्मण रिमालले भने, ‘उहाँहरुलाई पनि प्राविधिक अप्ठेरो होला ।’ निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेती भने विद्युतीय मेसिन प्रयोग गर्न कानुनी अड्चन नभएको बताउँछन् ।  
स्वदेशमा तयार भएको मेसिनले सरकारी निकायबाट वैधता पाओस् भनेर केही मतदान केन्द्रमा प्रयोग गर्न खोजेको रिमालद्वयले प्रस्ट पारे । पत्रकार सम्मेलनमा लक्ष्मण रिमालले भने, ‘मेसिनको प्रभावकारिता र विश्वसनीयताका लागि पनि हामीले आमनिर्वाचनमा प्रयोग गर्नु आवश्यक छ ।’
मेसिनले मतदान गर्दा कुनै त्रुटि देखिए दोहो¥याएर मतदान गर्दा लाग्ने सम्पूर्ण खर्च आफैंले बेहोर्ने उनीहरुको भनाइ छ । ‘अहिले हामीसँग ८–१० वटा मतदान केन्द्रमा मतदान गराउन पुग्ने मेसिन छ । हामीले एउटै मात्र केन्द्रमा भए पनि प्रयोग गर्न दिइयोस् भन्ने चाहेका छौं,’ उनले भने । आयोगले अनुमति मात्र दिए सम्पूर्ण व्यवस्था आफैं गर्न उनीहरु तयार छन् ।
निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले यो मेसिन आफूले सोचेभन्दा बढी स्मार्ट भएको बताए । ५५ वटा संस्थागत निर्वाचन त्रुटिरहित तरिकाले सम्पन्न गराइसकेको मेसिन प्रयोग गर्न सरकार र आयोग हिच्किचाउन नहुने उनको भनाइ थियो । ‘आयोगले गर्वका साथ प्रयोग गर्नुपर्छ,’ उप्रेतीले भने, ‘यसले निर्वाचनमा हुने ठूलो रकम जोगाउँछ ।’ उनका अनुसार अहिले एउटा चुनाव सम्पन्न गराउँदा निर्वाचन आयोगले मात्रै १२–१३ अर्ब रुपैयाँ खर्च गरिरहेको छ र यो आगामी दिनमा अझ बढ्ने छ ।
मेसिन प्रयोग गर्न कुनै किसिमको कानुनी अड्चन नरहेको पनि पूर्वप्रमुख आयुक्त उप्रेतीले जानकारी गराए । निर्वाचन सम्बन्धी कानुनमै मेसिनले मतदान गराउन सकिने व्यवस्था रहेको र विगतमा पनि आयोगले मेसिन प्रयोग गरिसकेको उनले सम्झिए । उप्रेती प्रमुख आयुक्त भएको बेला पनि राम–लक्ष्मणले मेसिन प्रयोग गर्न आग्रह गरेका थिए । तैपनि आयोगले स्वदेशी मेसिन प्रयोग गरेन । त्यसको कारण भने उनले खुलाएनन् ।
सरकार र निर्वाचन आयोगले उक्त मेसिन अवलम्बन गर्नुपर्नेमा उप्रेतीको जोड थियो । ‘यो मेसिनमार्फत मुलुकले प्रविधि निर्यात गरेर नाम र दाम दुवै कमाउन सक्ने उप्रेतीको भनाइ थियो । सामान्य परिवर्तन गरी एकपल्ट प्रयोग भइसकेको मेसिन अर्को चुनावमा समेत प्रयोग गर्न सकिने उनको भनाइ छ ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मेसिन प्रयोग गर्न राम–लक्ष्मणले गरेको प्रयासलाई आयोगले सहयोग गर्नुपर्ने उप्रेतीको भनाइ थियो ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसको इलेक्ट्रोनिक्स तथा कम्प्युटर इन्जिनियरिङ विभागका पूर्वप्रमुख डा. नन्दबिक्रम अधिकारीले सुरक्षाका दृष्टिले उक्त मेसिन निकै मजबुत रहेको बताए । ‘यसमा कोही पनि घुस्न सक्दैन,’ पत्रकार सम्मेलनमा अधिकारीले भने, ‘उत्तिकै त्रुटिरहित पनि छ, यसमा मैले अहिलेसम्म कुनै त्रुटि भेटेको छैन । शताब्दी सुहाउँदो छ ।’
प्रविधि विकासकर्ता रामलक्ष्मणका अनुसार यो मेसिन आँखा नदेख्ने व्यक्तिले पनि अर्काको सहयोगबिनै मतदान गर्न सक्ने गरी तयार गरिएको छ । आँखा नदेख्ने व्यक्तिले मतदान गर्दा स्क्रिनमा रहेको चुनाव हरेक चिह्नमा औंला पुग्दा मेसिनले उक्त चिह्नको नाम बताइदिने गरी विकास गरिएको छ । यसो हुँदा मतदाताले आफूले चाहेको चिह्नमा हात पुगेपछि मेसिनले दिएको सूचना अनुसार थिचेर मतदान गर्न सक्छ ।
यसअघि सरकारले स्वदेशमा विकसित मेसिनको बेवास्ता गर्दै स्वदेशी भन्दा निकै बढी मूल्यमा विदेशी मेसिन किन्न खोजेको थियो । सरकारको उक्त कदमको व्यापक आलोचना भएको थियो । कमिसनका लागि विदेशी मेसिन किन्न खोजेको आरोप समेत लागेको थियो ।

प्रकाशित: ४ मंसिर २०७४ ०५:३७ सोमबार

मतदान केन्द्रमा भए विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न देऊ