राजनीति

सरकार निकै पुर्वाग्रही भएर बुढीगण्डकीको सम्झौता खारेज गर्योः दाहाल

चितवन - बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्ने जिम्मा चीनको गेजुवा कम्पनीलाई दिने भनेर अघिल्लो सरकारले गरेको निर्णय वर्तमान सरकारले खारेज गर्ने काम गलत भएको पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । मंगलबार साँझ भरतपुरमा आफ्नो चुनाबी प्रतिवद्धता पत्र सार्वजनिक गर्ने कार्याक्रममा नेता दाहालले यो विषयमा पनि बोलेका हुन् । 

दाहाल प्रधानमन्त्री हुँदा भएको सो सम्झौता रद्द गर्ने निर्णय सोमबारको मन्त्रीपरीषद बैठकले गरेको थियो । ‘एकलौटी ढंगले त्यसलाई खारेज गर्ने निर्णय गरेर सरकार देशको आर्थिक विकास र सम्वृद्धि होइन निक्कै संकिर्ण राजनैतिक स्वार्थ र पुर्वाग्रहमा चलेको छ भन्ने प्रमाण मात्रै हो यो’ दाहालले भने । कम्पनीसँग मात्रै नभएर चीन सरकारका प्रतिनिधिसँग पनि सँगै बसेर गरेको निर्णय एकाएक खारेज हुनु गलत भएको उनले बताए ।

‘बुढीगण्डकी नेपालको जलविद्युतको सन्दर्भमा राष्ट्रिय गौरबको असाध्यै महत्वपुर्ण महत्वकाँक्षी आयोजना हो । यो आयोजना सफल भए ठुलो आर्थिक क्रान्ति ल्याउँथ्यो । यसलाई धेरै मिहिनेत गरेर टुङ्गोमा पुर्याइएको थियो । तर के स्वार्थले हो खारेज गरेर गलत गरियो’ दाहालले भने । सरकारमा आफुहरु भए पनि यो विषयमा कुनै सर सल्लाहसमेत नगरेको उनले बताए । 

‘सरकारमा हामी त छौं तर बिना विभागीय भनेर राखिएको छ । हामी देशमा अफ्ठ्यारो आए सरकारमा हुनुको नाताले केही भुमिका खेल्न सकिएला कि भनेर बसी राखेका छौं । तर सरकारले धेरै कुराहरु आफ्नै ढंगले बिना परामर्श नगरी गर्दै आएको छ’ दाहालले भने । संविधान र ऐनको व्यवस्थाले सरसल्लाह गर्नै पर्ने भए पनि त्यसो हुन छाडेको दाहालले बताए ।

‘आफ्नै ढंगले निर्णय गर्न पाउने भएको भए सरकारले हाम्रा मन्त्रीलाई निकाल्थ्यो नि, तर निकाल्न सकेको छैन । किन सकेन भन्दा संविधान र ऐनको प्रवधानले छेक्छ, त्यसैले ननिकालेको हो । तर बुढीगण्डकीको सन्दर्भमा गर्नै नमिल्ने काम पनि गर्यो’ दाहालले भने । 

 

प्रकाशित: २९ कार्तिक २०७४ ०६:०६ बुधबार

सरकार निकै पुर्वाग्रही भएर बुढीगण्डकीको सम्झौता खारेज गर्योः दाहाल