राजनीति

महोत्तरीमा नौ हजार मतदाता थपिए

बर्दिवास, कात्तिक २३ – प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि महोत्तरी जिल्लामा नौ हजार २८० मतदाता थपिएका छन् । गत असोजमा सम्पन्न स्थानीय तह निर्वाचनमा तीन लाख आठ हजार ४०९ मतदाता रहेका जिल्लामा यसपालि मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नौ हजार २८० मतदाता थपिएका हुन् ।

अहिले मतदाताको संख्या तीन लाख १७ हजार ६८९ रहेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको हो । विगतमा ६ वटा संसदीय निर्वाचन (संविधान सभा) क्षेत्र रहेको जिल्लामा अब संवैधानिक नयाँ व्यवस्थाअनुसार चार प्रतिनिधि सभा क्षेत्र र आठ प्रदेश सभा क्षेत्र बनेका छन् । 'प्रतिनिधि सभाकाे क्षेत्रगत मतदाता अभिलेखमा सबैभन्दा बढी १ नम्बर क्षेत्रमा ८० हजार पाँच सय ६३ रहेका छन् । त्यस्तै क्षेत्र नम्बर २ मा ७९ हजार १९७, क्षेत्र नं ४ मा ७९ हजार २५ र क्षेत्र नं ३ मा ७८ हजार ९०४ मतदाता रहेका छन्,'जिल्ला निर्वाचन अधिकारी पिङ्की रायले भने । जिल्लामा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ११ वटा मतदान केन्द्र थपिएका छन् ।

प्रकाशित: २३ कार्तिक २०७४ ०८:१९ बिहीबार

महोत्तरीमा मतदाता थपिए