राजनीति

‘भारतीयको बलमिच्याईबाट जोगाउनेलाई भोट’

पर्साको पिराडीस्थित ओरिया नदीमा बलजफ्ति पसेर ट्याकटरमा बालुवा झक्दिै गरेका भारतीय माफियाहरु । तस्विरः रितेश त्रिपाठी

 वीरगन्ज- उसो त गाउँमा पुग्ने बिभिन्न दलका नेताहरुको चुनावी अजेण्डाहरु सुन्नमा कम मिठा छैनन्। पर्साको सिमावर्ती गाउँ पिराडी गुठीका बासिन्दाले नेताहरुबाट चाहेको कुरा विकास र अधिकारको अश्वासन मात्र रहेनछ, उनीहरु सिमापारी भारत तिरबाट हुने दैनिक बलमिच्याई र अपमानबाट मुक्ति चाहेका छन्।

भारतबाट दैनिक रुपमा सयौं वटा ट्याक्टर लिएर बलजफ्ती रुपमा नेपाली भुभागमा पसेर बालुवा उत्खखन गर्ने माफियाहरुको चंगुलबाट पिराडीगुठीका बासिन्दाहरु गाउँको मुक्ति चाहेका हुन् । ‘हामी आवाज उठाउछौं, कुटिन्छौं बर्षमा दर्जनौं पटक दोहरिन्छ यस्तो घट्ना सिडोओ आउछन् मिलेर बस्न सुझाव दिएर फर्किन्छन्,’ स्थानीय भुलाइ खाँ थारुले भने, ‘कति बेइज्जति सह्नु, यस पटकको चुनावमा हामीले नेतासंग भनेको कुरा यति हो –सक्छौ भने यसबाट मुक्ति दिलाउ।’

गाउँको पश्चिममा बगेको छ ओरिया नदी । कुनै समयमा ओरिया नदी स्थानीयको लागि बरदान थियो । बस्तु भाउको लागि प्रसस्त घास, उतरमा पर्ने जंगलबाट बगेर आउने काठ दाउरा, नदीमा पाइने माछा र बगरमा उब्जिने घरको छानो छाउने खर यहाँबाट गउँलेले जोहो गर्थे। स्थानीय मान्यतामा देवीको रुपमा मानिने नदी ‘ओरिया माईको महिमा अपरम्पार छ । खुसी भइन भने गाउँमा ‘बर्कत’ (धन र खुसियाली) लिएर आउछिन, कुपित (क्रोधित) भइन भने बिनाश ।’ जबदेखी भारतीय बालुवा तस्करहरुको नजरमा परेको छ यो नदी, ओरिया माई कुपित नै छिन्। स्थानीयका अनुसार भारतीयहरुको अनियन्त्रित उत्खननले बर्षेनी दशौं बिगहा जग्गा बर्खे भेलको भेंट चढेर बालुवाको बगर बन्दैछ।

 अहिले भारतको सिमावर्ती पश्चिमी चम्पारण जिल्लाको मैनाटाँर, इनर्वा, चुहडी, बलथर लगायतका बजारदेखी बेतिया सहरसम्म ओरिया नदीको बालुवा बेंच्ने कारोबारीका रुपमा दर्जनौं जना चिनिन्छन । ‘नेपालको बालुवा’, ‘ओरिया नदीको बालुवा’ आफुले बेच्ने गरेको ग्राहकलाई उनीहरुले हाकाहाकी बताउँछन् । त्यसबाट आर्जन हुने पैसाको बलमा उनीहरुले यो कारोवारलाई सानोतिनो साम्राज्य जस्तै चलाएका छन्।

सिमापारी अर्थात ‘नदी पारी’ बाँयातिर इनर्वा र दायाँतिर भाँगहा भन्ने दुईटा बजार छन । त्यही बजारलाई आधार बनाएर अहिले भारतीय बालुवा तस्करहरुले बलजफ्ती नेपाली भुभागमा भारतीय ट्याकटरसहित आएर अबैध रुपमा बालुवा उत्खनन गरेर लैजाने गरेका छन् । उनीहरुसंग निरन्तर भिडिरहने सिमाका पहरेदार हुन पिराडीका स्थानीय । भारतीयसंग जुधेर चोटपटक खाएकाहरुको सूची लामै छ त्यहाँ । कहिलेकाँही सिमामा समर लागेपछि स्थानीयसँग हैसेमा होस्टे थप्न स्थानीय अस्थायी प्रहरी चौकी र नजिकको सशस्त्र प्रहरी बलको जवानहरु पनि पुगि हाल्छन् । हावाई फायरिङसम्म पुगेको घटना ३ पटक दोहरिसकेको छ । नेपाली सूरक्षाकर्मी सहित दर्जनौं जना घाइते भएका घटना बिगतमा भइसकेका छन् । नेपालतिरबाट प्रमुख जिल्ला अधिकारी लगायताकाले पारीका समकक्षीसँग छलफल गरेर कुरा मिलाउने क्रम पनि धेरै पटक दोह्रियो । भारतीयहरुको बलमिच्याई भने कहिले पनि रोकिएन्।

‘बिवाद धेरै पुरानो हो, यता नदीले कटान गरेर खेतलाई बगर बनाई दिने बर्षेनी पीडा हो हाम्रो भारतीयहरु ट्याकटर लिएर हाम्रोतिर आएर नीजि जग्गा ऐलानी जग्गा जहाँबाट पनि उत्खनन गर्छन्, मनोमानी छ,’ हेमराज प्रसाद चौधरीले भने, ‘सिमानाको बिवादित ठाउँ भयो यो । परार साल संयुक्त सर्वे नापी आएपछि यताको करिब ७० बिगहा जग्गा भारतमा पारिदियो । त्यो गाउँको नजिकको सिमा करिब ५० मिटर सरेर यता आयो। हामी गाउँलेले आफ्नो जग्गा आबाद गर्न खोज्दा बिवाद हुँदा सिडियो साहेब आउनु भयो, यसमा मैले पनि केही बोल्दैन दिल्ली र काठमाडौंबीचको सम्झौता हो भनेर जानु भयो ।’ भारतमा गइसकेको जग्गाको कुरा मात्र छैन, सारिएर यता पारिएको सिमाना पार गरेर पनि २ किलोमिटर भित्रसम्म भारतीय माफियाहरु पसेर उत्खनन गर्ने कुराले स्थानीयलाई नोक्सानी रहेको र हेपाई महसुस भएको उनले बताए।

स्थानीय रामचेतन महातोको दुई बिगहा जग्गा अब भारतमा गएर ‘बेहाँत’ भएको छ । रामायन प्रसादको पाँच कट्ठाको बिचमै अहिले दुई देशको सिमा छुट्याउने खम्बा परेको छ । यसरी जग्गाधनीको प्रमाणपुर्जा र लेखत हातमा र जग्गा नयाँ नापनक्सा भारतमा परेको दर्जनौं परिवारहरु गाउँमा छन् । शिक्षक ओमप्रकाश चौधरीका अनुसार पिराडीका मानिसहरुको पिडा जिल्लाका अरु ठाउँका मानिसका समस्याभन्दा भिन्न छ, त्यस कारण यहाँका मानिसहरुले राजनीतिक दलबाट आफ्नो अनवरत समस्याको सामाधन मागेको छन् । 

सोमवार पिराडी गाउँमा भोट माग्न पुगेका प्रतिनिधि पर्सा क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका सभाका उम्मेदवार रमेश रिजाललाई स्थानीयले ओरिया नदीको किनार मै लगेर बस्तुस्थिती देखाए । नेता रिजालले समस्या साच्चिकै गम्भीर रहेको बताउदै केन्द्रस्तरबाटै यसमा ठोस पहल आवश्यक रहेको प्रतिक्रिया दिए । उनले आफुबाट सक्दो हरेक प्रयास गर्ने बताए । स्थानीय भने यसपाली भोट माग्न आउने रहेकसंग सिमापारीकाबाट पाएको दुखकष्टको निराकरणका निम्ति माग राख्न तम्तयार छन् ।

 

प्रकाशित: २२ कार्तिक २०७४ १४:२९ बुधबार

भारतीयको बलमिच्याईबाट जोगाउनेलाई भोट