राजनीति

पार्टीभित्रको अन्तरविरोध चुनौती

बुटवल – एमाले स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मालाई कांग्रेस जिल्ला सभापति अब्दुल रज्जाकले गत संविधानसभा चुनावमा रुपन्देही–१ मा झिनो मतले पराजित गरे । रज्जाक अहिले पनि विश्वकर्मालाई पराजित गरेर दोस्रोपल्ट जितको नतिजा निकाल्ने योजनामा छन् भने विश्वकर्मा पराजयलाई विजयमा बदल्ने दाउमा छन्।

चुनाव जित्नका लागि दुवैका लागि एउटै खालको चुनौती छ, त्यो हो पार्टीभित्रको अन्तरविरोध । ‘जितको नतिजा निकाल्न दुवै उम्मेदवार अन्तरविरोधलाई चिर्दै अघि बढ्नुपर्नेछ, अबको केही दिनका चुनावी अभियानले जितहार देखाउनेछन्,’ रुपन्देहीको खैरेनीका स्थानीय पत्रकार तिलोचन दाहालले भने।

गएको स्थानीय तहको चुनावमा क्षेत्र नम्बर १ मा पर्ने देवदह नगरपालिकाको प्रमुखमा एमाले प्रदेश कमिटीले क्षेत्रीय अध्यक्ष नीलकण्ठ पौडेललाई उम्मेदवार बनाउने निर्णय गर्‍यो । यो निर्णय उल्ट्याएर पूर्वजिल्ला कमिटी सदस्य टीकाराम चापागार्इंलाई मेयर उम्मेदवार बनाइयो । उम्मेदवार चयनमा भएको विवादले १२ वटा वडा रहेको देवदह नगरपालिकामा ९ वडा र उपमेयर जित्दा एमालेले मेयर गुमायो । प्रदेश कमिटीको पहिलो निर्णय उल्टाएर चुनावमा विवाद बढाएको आरोप विश्वकर्मामाथि लाग्दै आएको छ । स्थानीय तहको चुनावताकाको विवाद साम्य नभइसक्दै विश्वकर्मालाई एमालेले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। 

खानेपानी तथा सरसफाइ राज्यमन्त्रीसमेत रहेका रज्जाकले चुनाव जित्न प्रदेश–२ बाट राप्रपाका ताहिर अली अन्सारीलाई टिकट दिए । मुस्लिम मत उल्लेख्य रहेको यस क्षेत्रका लोकप्रिय ताहिरको उम्मेदवारीले एकैतिर घोप्टिने आँकलन रज्जाकले गरेका छन् । तर उनीमाथि पार्टीभित्रको अर्को पक्षले संकीर्ण गुटबन्दी गर्ने गरेको आरोप लगाउँदै आएको छ। पूर्वक्षेत्रीय सचिव बैजनाथ साहनीले प्रदेश सभासद्मा उम्मेदवारी पाउने आश्वासन पाए । तर उम्मेदवार राप्रपाका अन्सारी बने । रज्जाकले प्रयोग मात्रै गर्न खोजेको भन्दै साहनीले रज्जाकविरुद्ध प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरे । पार्टीका उच्च नेता र स्वयम् रज्जाकको आग्रहमा साहनीले उम्मेदवारी फिर्ता लिए पनि उनीसहितका युवाको आक्रोश मत्थर भएको छैन । यस क्षेत्रमा १ लाख १२ हजार १ सय ३१ मतदाता छन्।

स्थानीय तहको चुनावको नतिजा हेर्दा वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा ५ हजार मतले अघि छ । यो मत हेर्दा वाम गठबन्धनका विश्वकर्मा बलिया छन् । तर उनीसँग पार्टीभित्रको चर्को अन्तरविरोधको व्यवस्थापन गर्नुपर्ने चुनौती छ । देवदहको एमाले अन्तरविरोधको व्यवस्थापन नभए त्यसको फाइदा सीधै रज्जाकले लिनेछन्।

रुपन्देही—२ प्रदेश नम्बर पाँच टुक्र्याउन हुन्न भनेर आन्दोलन चर्केको बुटवलसमेत रहेको क्षेत्र हो । प्रदेश टुक्र्याउन हुन्न भनेर चर्केको आन्दोलनको अगुवाइ एमालेले ग¥यो । यसै कारण गएको स्थानीय तह चुनावमा कांग्रेस—माओवादी गठबन्धन भए पनि एमालेले मेयरउपमेयरसहित बहुसंख्यक वडामा जितहात पा¥यो । यही क्षेत्रबाट एमाले उम्मेदवार छन््, प्रदेश टुक्र्याउने विरोधको आन्दोलनका रणनीतिकार एमाले उपमहासचिव विष्णु पौडेल । कांग्रेसले युवा नेता युवराज गिरीलाई उम्मेदवार बनाएको छ।

पौडेल २०५६ सालदेखि यस क्षेत्रबाट चुनाव लडिरहेका छन् । २०५६ सालको संसदीय चुनावमा कांग्रेसका सूर्यप्रसाद प्रधानले पौडेललाई पराजित गरे । त्यसपछिका दुईवटै संविधानसभामा पौडेलले प्रधानलाई पराजित गरे । गएको संविधानसभामा यहाँबाट माओवादीबाट बाबुराम भट्टराई उम्मेदवार बनेपछि चुनावमा अर्कै तरंग आएको थियो तर जितको नतिजा पौडेलले निकालेपछि उनी चर्चामा चुलिए । चौथोपल्ट चुनावमा उठेका पौडेलका प्रतिद्वन्द्वी गिरी चुनावी  मैदानमा नयाँ खेलाडी हुन् । कांग्रेस रुपन्देहीका पूर्वसभापति रामचन्द्र ढकाललाई टिकट दिने निर्णय भइसकेपछि अन्तिम समयमा गिरीले खोसेको आरोप उनीमाथि लागेको छ । गएको स्थानीय चुनावको मत हेर्दा वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा साढे १३ हजार मतले बढी छ । युस हिसाबले पौडेलको जितलाई गिरी बाधक नबन्ने देखिन्छ । अर्थमन्त्री भएका बेला जिल्ला र क्षेत्रको विकासमा उल्लेख्य बजेट पारेकाले पनि पौडेलले मतदातालाई आकर्षित गरिरहेका छन् । यो क्षेत्रमा १ लाख ५ हजार मतदाता छन्।

बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिकाका केही वडा, शुद्धोधन, सियारी, मायादेवी, ओमसतिया गाउँपालिकाका केही वडासहित सिद्धार्थनगरपालिकासमेत रहेको क्षेत्र नम्बर ३ रुपन्देहीको नमिल्दो क्षेत्र हो । पहिले क्षेत्र नम्वर २, ३ र ४ मा रहेका स्थानलाई तानतुन गरेर क्षेत्र मिलान गर्दा यो क्षेत्र बनाइएको हो। 

सत्ताका खेलाडी कांग्रेस नेता बालकृष्ण खाँणले चुनाव जित्नका लागि यस्तो नमिल्दो क्षेत्र बनाएको यहाँ चर्चा चल्ने गरे पनि चुनावमा उनै खाँण उठेनन् । यो क्षेत्रमा कांग्रेसले राप्रपा प्रजातान्त्रिकका दीपक बोहरालाई समर्थन गरेको छ । एमालेमा थोरै वैचारिक नेतामा गनिने उपमहासचिव घनश्याम भुसाल उनीसँग प्रतिस्पर्धा गर्दैछन् । यस क्षेत्रमा वाम  गठबन्धनभन्दा साढे चार हजार मतले लोकतान्त्रिक गठबन्धन पछि छ । स्थानीय चुनावको मत हेर्दा यसो देखिए पनि भैरहवा क्षेत्रको मत रातारात प्रभावित हुने विगतका नतिजाले देखाएकाले अहिले नै स्थानीय चुनावको तथ्याङकले काम गर्छ भन्न नसकिने एमाले रुपन्देहीका एक जिल्ला कमिटी सदस्यले बताए  । गत संविधानसभाको चुनावमा राप्रपा उम्मेदवार बोहरालाई भोट बेचेर पार्टीका  ाधिकारिक उम्मेदवारलाई चुनाव हराएको आरोप जिल्ला कमिटी सदस्यहरुलाई नै लाग्यो । अन्तरघातको आरोप लागेकालाई पार्टीले गठन गरेको छानबिन समितिले दोषी देखाउँदासमेत कुनै कारबाही नगरी थामथुम मिलाइएको थियो । कांग्रेस नेता खाँणले आफू उम्मेदवार नहुने भएपछि राप्रपा प्रजातान्त्रिकका बोहरालाई उम्मेदवार बनाएको आरोप पार्टीभित्रको अर्को पक्षले लगाएको छ । कांग्रेस रुपन्देहीमा रहेका खाँण विरोधी पक्षले बोहरालाई उनैको उम्मेदवार भनेर प्रचार गर्दैछन् । यो प्रचारले कांग्रेसको सबै मत बोहरालाई नजान सक्ने संकेत देखिँदैछ । यो क्षेत्रमा १ लाख ९ हजार २ सय ७८ मतदाता छन्।

रुपन्देहीको सीमावर्ती मर्चवार क्षेत्र नम्बर ४  मा पर्छ । यस क्षेत्रमा गएको संविधानसभामा राजपा नेता सर्वेन्दनाथ शुक्लाले चुनाव जितेका थिए । चुनावका पुराना खेलाडी शुक्लासँग एमालेका ओमप्रकाश यादव गुल्जारी र कांग्रेसका प्रमोद यादवले प्रतिस्पर्धा गर्दैछन् । कांग्रेसले शुक्लालाई सहयोग गर्ने र उम्मेदवारी नदिने बताइएको भए पनि अन्ततः यादवले उम्मेदवारी दिए । कांग्रेसका यादव व्यवसायी हुन् । पहिलो संविधानसभामा फोरमबाट तत्कालीन रुपन्देही—२ बाट चुनाव जितेका गुल्जारी केही दिनअघि एमाले प्रवेश गर्दै चुनावी मैदानमा छन् । एमालेको सांगठनिक धरातल कमजोर रहेको यो क्षेत्रमा अन्ततः राजपाका शुक्ला र कांग्रेसका यादवबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। 

गुल्जारीसँगै फोरम लोकतान्त्रिकको उम्मेदवार भएर सम्मरीमाई गाउँपालिकाको अध्यक्ष जितेका बब्लु शुक्लासमेत एमाले प्रवेश गरेका छन् । शुक्लाको यहाँ दरिलो पकड रहेकाले गुल्जारीले यिनीबाट राम्रो सहयोग पाउने विश्वास गरेका छन्। यिनै शुक्लाकी पत्नी पल्लवी शुक्लालाई एमालेले प्रदेशसभा सदस्य उम्मेदवार बनाएको छ । गएको स्थानीय तहको चुनावमा यो क्षेत्रमा कांग्रेस गठबन्धनको १० हजार मत छ । राजपाले ११ हजार मत ल्याउँदा वाम गठबन्धनको ५ हजारको हाराहारीमा मत छ । यस क्षेत्रमा ८९ हजार ८ सय ३२ मतदाता छन्।

रुपन्देही—५ बुद्ध जन्मस्थल लुम्विनीसमेत रहेको क्षेत्र हो । यस क्षेत्रबाट कांग्रेसका भरत शाह उम्मेदवार छन् । २०५६ देखि चुनावी मैदानमा रहेका शाहलाई पहिलो संविधानसभाको चुनावमा एमालेका रामनाथ ढकालले पराजित गरे । दोस्रो संविधानसभामा तिनै ढकाललाई शाहले पराजित गरे । अहिले उनीसँग माओवादी केन्द्रका डिलाराम आचार्यले टक्कर दिँदैछन् । वाम गठबन्धनमा रुपन्देहीका ५ वटा क्षेत्रमध्ये यो क्षेत्र माओवादी भागमा छ । अर्घाखाँचीका पूर्व सांसद आचार्यका लागि यो क्षेत्र नयाँ हो । विपक्षीले उनलाई ‘टुरिस्ट’ उम्मेदवारको आरोप लगाएका छन् । यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धन भन्दा वाम गठबन्धन ४ हजार मतले अघि छ । फोरम लोकतान्त्रिकको समेत प्रभाव रहेको क्षेत्र हो यो । फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भइसकेकाले वाम गठबन्धनसँग टक्कर लिन सजिलो भएको शाहले बताए । यस क्षेत्रमा १ लाख ६ हजार १ सय ५४ मतदाता छन्।

प्रकाशित: २२ कार्तिक २०७४ ०२:३४ बुधबार

पार्टीभित्रको अन्तरविरोध चुनौती