राजनीति

'सके हसिया हथौडा, नभए सूर्यमा भोट हाल्नुस्'

कात्तिक- ‘माओवादीबाट उठेकाले हसिया हथौडामा भोट हाल्नुस भन्छु । प्रत्यक्ष र समानुपातिकमा दुबै ठाउँ हसिया हथौडामै मत दिनुहोला । तपाईँलाई सूर्य मन पर्छ भने त्यहाँ हाल्दा पनि हुन्छ । त्यो भन्दा बाहिर नजानुहोला,’ माओवादी नेता कृष्णबहादुर महराले भने ।
‘सरकारमा भए पनि सरकार बाहिरजस्तै छौं । चुनावको सुनिश्चितताका लागि सरकार नछोडेको हौं । अब छोड्ने तयारीमा छौं,’ प्रेस सेन्टर र प्रेस चौतारीले संयुक्तरूपमा आयोजनामा गरेको पत्रकार भेटघाटमा बोल्दै उपप्रधानमन्त्री महराले थपे । दाङबाट चुनाव लडेका महरा चुनाबी कार्यक्रमका लागि गृह जिल्ला रोल्पा पुगेका हुन् ।

रोल्पाबाट प्रतिनिधि सभाका लागि उठेका माओवादी नेता वर्षमन पुनसँगै बसेर पत्रकार सम्मेलन गरेका महराले भने, ‘वामगठबन्धन एकतासम्म पुग्छ । तर राजनीतिक र सैद्दान्तिक छलफल गर्न बाँकी छ । एकता भएन भने त हामीजस्ता नयांँ पुस्ताको राजनीति ५० वर्ष पछाडि पर्छ नि,’ उनले थपे ‘अबको निर्वाचनमा वामगठबन्धनको दुई तिहाई बहुमत आउँछ ।’

विप्लबको खारेजी अभियानको कुनै अर्थ नरहेको बताउँदै महराले भने ‘उहाँको पार्टी नै खारेज हुँदैछ । उताका सबै नेता कार्यकर्ता हाम्रोमा आउँदैछन् । विप्लवजीहरु बेमौसमको धार पक्डेर हिँड्नुभएको छ । यो निर्वाचनमा खारेजी नाराले कुनै असर गर्दैन ।’
एक प्रश्नमा वर्षमन पुनले भने, ‘राजनितिक स्थिरता र समृद्धिका लागि वामएकता जरुरी छ । नयाँ संविधानको मर्मअनुसार राजनीतिक स्थिरताका लागि यो एकताले बहुमत ल्याउँछ ।

प्रकाशित: २० कार्तिक २०७४ ०८:५० सोमबार

सके हसिया हथौडा नभए सूर्यमा भोट हाल्नुस्