राजनीति

कोइरालाको क्षेत्रमा टिकट लिन होडबाजी

नेपालगन्ज- पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निर्वाचन क्षेत्रमा आसन्न प्रतिनिधिसभा सदस्यको चुनाव लड्न कांग्रेसका पाँच नेता आकांक्षी देखिएका छन् । सांसदको टिकट लिन नेता राजकुमार बर्मा, निरन्जनसिंह सिजापति, अब्दुल हमिद सिद्धिकी(भोला), मोहम्मदी सिद्धिकी र मोहम्मद याकुव अन्सारीबीच होडबाजी चलेको छ ।
कांग्रेस नगर र क्षेत्रीय कार्यसमितिले पाँचैजनाको नाम सिफारिस गरेकोे छ । क्षेत्र नम्बर २ मा नेपालगन्ज उपमहानगरपालिकाका १६ र १७ वडाबाहेक सबै वडा तथा डुडुवा गाउँपालिका पर्दछ । आकांक्षीको नामलाई जिल्ला कार्यसमितिले रायसहित केन्द्रमा पठाइसकेको सभापति किरण कोइरालाले बताइन् । सबैको नाम केन्द्रमा सिफारिस गरिसकिएकोे हुँदा टिकट पाउनेको नाम केन्द्रले टुंगो लगाउने उनको भनाइ छ । ‘हामीले सबैका नाम केन्द्रमा पठाइसकेका छौं,’ उनले भनिन्, ‘यो क्षेत्रमा कांग्रेसको पोजिसन राम्रो छ, केन्द्रले जसलाई टिकट दिए पनि पार्टीले जित्छ ।’ दिवंगत कोइरालाको निर्वाचन क्षेत्र भएकाले विगतको सफलताले निरन्तरता पाउने उनको विश्वास छ ।
उम्मेदवारको सिफारिसमा परेका पाँचै व्यक्ति पार्टी र समाजको सेवामा सक्रिय रहँदै आएका छन् । नेता बर्मा, सिजापति र अन्सारी पार्टीका विभिन्न जिम्मेवारीमा छन् । यस्तै नेता अब्दुल हमिद सांसद तथा नेतृ सिद्धिकी पूर्वसभासद् हुन् । उनीहरू राजनीतिसँगै सामाजिक संघसंस्थामा पनि आबद्ध छन् । कांग्रेसका क्षेत्रीय सभापति रमेश गुप्ताले पार्टी एकढिक्का भएर चुनावमा जानेबित्तिकै निर्वाचन परिणाम अनुकूल आउने दाबी गर्छन् । यसका लागि केन्द्रले सबै कुरा बुझेर योग्य व्यक्तिलाई टिकट दिनुपर्ने उनको सुझाव छ ।

दिवंगत सुशील कोइरालाको निर्वाचन क्षेत्रमा कांग्रेसको पोजिसन राम्रो छ । केन्द्रले जसलाई टिकट दिए पनि पार्टीले जित्छ ।


सभापति गुप्ताले भने, ‘यो सुशील दाइ चुनाव लड्ने क्षेत्र भएकाले कांग्रेसको पक्षमा धेरै मत छ, पार्टीभित्रका सबै नेता कार्यकर्ता एक भएर लाग्ने हो भने चुनाव जित्न गाह्रो छैन ।’ जिल्लाले आफ्नो राय सहित केन्द्रमा नाम पठाएपछि उम्मेदवारका आकांक्षी राजधानी पुगेका छन् । केन्द्रीय नेताको घरदैलो र पार्टी कार्यालय धाउन उनीहरू व्यस्त छन । कतिपयले जिल्लामै चुनावी माहोल बनाइरहेका छन् । नगर, क्षेत्र र जिल्लाबाट पहिलो नम्बरमा सिफारिसमा परेका नेता राजकुमार बर्माले चार दशकदेखि पार्टीलाई पुर्याएको योगदानका आधारमा आफूले टिकट पाउनुपर्ने दाबी गरेको बताए । ‘पार्टीमा मेरो लगानी छ, दिवंगत सुशील दाइले विगतमा दिएको जुनसुकै जिम्मेवारी पूरा गरेकै हुँ, केन्द्रबाट टिकट पाउने कुरामा पूर्ण आशावादी छु,’ उनले भने ।
पूर्वसभासद् सिद्धिकीले पार्टीको राजनीति र महिला अधिकारका क्षेत्रमा सक्रिय रहेकाले प्रत्यक्षतर्फ टिकट पाउने अपेक्षा गरेको बताइन् । ‘पार्टीले महिलालाई अहिलेसम्म प्रत्यक्षतर्फ टिकट दिएको छैन, यसपटक मूल्यांकन गर्नुपर्छ,’ उनले भनिन् । टिकट लिन राजधानी पुगेका सांसद अब्दुल हमिदले दिवंगत कोइरालाको उत्तराधिकारी बन्न आसन्न निर्वाचनमा दाबेदारी प्रस्तुत गरेको बताए । ‘सुशील दाइको सिद्धान्त र प्रेरणाबाट प्रभावित भएर नै म राजनीतिमा आएको हुँ, बाँचुञ्जेल उहाँलाई मैले अभिभावक मानेँ, निधनपश्चात् पनि उहाँले देखाएको बाटोलाई छाडिनँ,’ उनले टेलिफोनमा भने ‘पार्टीले मलाई विश्वास गरेर सुशील दाइको उत्तराधिकारी बनाउनेमा आशावादी छु ।’
 दिवंगत कोइराला २०४८, २०५३, २०५६, २०६४ र २०७० साल गरी पाँचपटक यस क्षेत्रबाट सासद् तथा सभासद्को चुनाव लडेका थिए । कोइरालाले २०४८, २०५६ र २०७० सालको चुनाव जितेका थिए भने २०५३ र २०६४ सालको चुनावमा पराजय बेहोरेका थिए । यस क्षेत्रलाई २०४८ देखि २०५६ सम्म निर्वाचन क्षेत्र नम्बर २ कायम गरिएको थियो । २०६४ र २०७० सालको संविधानसभा चुनावमा क्षेत्र नम्बर ३ मा राखिएको थियो । अहिले नयाँ संरचनाअनुसार यो क्षेत्रलाई पुनः २ नम्बर नै कायम गरिएको छ ।

प्रकाशित: २५ आश्विन २०७४ ०१:०३ बुधबार

कोइरालाको क्षेत्रमा टिकट लिन होडबाजी