राजनीति

हेभिवेटको रुचिमा परेन मुख्यमन्त्री

धनगढी- प्रदेश नम्बर ७ का शीर्ष नेताले मुख्यमन्त्रीमा रुचि नदेखाउँदा यो जिम्मेवारी युवाको काँधमा आउने सम्भावना बढेको छ । नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका पहिलो पुस्ताका ‘हेभिवेट’ नेताले केन्द्रमा जाने चाहना राखेपछि दोस्रो पुस्ताका नेताका लागि मुख्यमन्त्री बन्ने बाटो खुला भएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका उपाध्यक्ष भीम रावल र माओवादी केन्द्रका लेखराज भट्ट प्रदेश नम्बर ७ मा शीर्ष नेता मानिन्छन् । रावल र भट्टलाई सम्भावित मुख्यमन्त्रीका रुपमा चर्चामा ल्याइए पनि दुवैले मुख्यमन्त्रीमा अनिच्छा देखाई केन्द्रीय संसद्मा जाने तयारी थालेका छन् ।
रावल अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफारिस भएका छन् । उनको नाम कैलाली क्षेत्र नम्बर २ बाट पनि प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको छ । ‘केन्द्रीय राजनीतिमा राम्रो भूमिका खेल्न सक्ने भएकाले रावलले प्रतिनिधिसभा सदस्यमा निर्वाचन लड्ने भएका छन्’, उनीनिकट एक एमाले नेताले भने ।
यसैगरी माओवादी केन्द्रका नेता भट्टले पनि केन्द्रमा जाने इच्छा राखेका छन् । ‘अहिले मेरो केन्द्रमै जाने इच्छा छ’, उनले भने, ‘प्रदेशमा नयाँ युवा आउँछन् ।’ माओवादी केन्द्रबाट यस क्षेत्रको सम्भावित मुख्यमन्त्रीका रुपमा चर्चामा रहेका अर्का नेता खगराज भट्ट पनि डँडेल्धुराबाट समानुपातिकतर्फ प्रतिनिधिससभा सदस्यमा सिफारिस भएको सो दलका पोलिटब्युरो सदस्य विरभान चौधरीले बताए । ‘माओवादीबाट नयाँ पुस्ताका युवा नेता मुख्यमन्त्रीको उम्मेदवार बन्नेछन्’, उनले भने । चर्चामा रहेका सबै केन्द्रमा गएकाले अहिले कसलाई बनाउने भनेर नाम अघि आइनसकेको उनले बताए ।
कांग्रेसका यस क्षेत्रका देउवासहितका ठूला नेता पनि प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस भएका छन् । कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक कञ्चनपुर क्षेत्र नम्बर ३ बाट र केन्द्रीय सदस्य एनपी साउद क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको कांग्रेस कञ्चनपुरका सभापति हरि बोहराले बताए । कांग्रेसका अर्का केन्द्रीय सदस्य वीरबहादुर बलायर डोटीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएको कांग्रेस डोटीका सभापति प्रदीप देउवाले बताए । यसैगरी दिलेन्द्र बडु र बद्री पाण्डेय पनि प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् ।
प्रतिनिधिसभाका लागि सिफारिस भए पनि पार्टीको केन्द्रले आवश्यकताअनुसार प्रदेशसभाको उम्मेदवार बनाउन सक्ने प्रावधान रहेको कञ्चनपुरका सभापति बोहराले बताए । ‘मुख्यमन्त्रीको उम्मेदवार को बन्ने भनेर अहिले टुंगो लागिसकेको छैन’, उनले भने, ‘केन्द्रले निर्णय गरेर तोक्नेछ ।’ कांग्रेसमा लेखक, साउद र बलायरको नाम मुख्यमन्त्रीको उम्मेदवारका रुपमा चर्चामा थियो । प्रदेशसभामा बहुमत प्राप्त दलको नेता मुख्यमन्त्री चुनिने प्रावधान छ ।
एमालेबाट मुख्यमन्त्रीको रुपमा चर्चामा रहेका भीम रावल, भानुभक्त जोशी र कर्ण थापामध्ये थापामात्र प्रदेशसभामा समानुपातिकतर्फ सिफारिस भएका छन । यसरी एमालेबाट थापा नै मुख्यमन्त्रीको सम्भावित उम्मेदवार देखिएका छन् । ‘पार्टीले निर्णय गर्न बाँकी छ, पार्टीले जिम्मेवारी दिएमा मुख्यमन्त्रीको उम्मेदवार बन्छु’, थापाले भने । उनले मंगलबार धनगढीमा पत्रकार भेटघाट कार्यक्रम राखेका थिए । यसलाई उनको सम्भावित मुख्यमन्त्रीको तयारीका रुपमा हेरिएको छ ।

 

 

प्रकाशित: २५ आश्विन २०७४ ००:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App