राजनीति

वडाध्यक्षका उम्मेदवारको नागरिकता खारेज

बारा-  निजगढ नगरपालिका वडा नं. ४ बाट वडाध्यक्ष पदमा मनोनयन पत्र दर्ता गराएका एक जना उम्मेदवारको जिल्ला प्रशासन कार्यालय बाराले नागरिकता नै खारेज गरेको छ।

जिल्ला प्रशासन कार्यालय बाराले निजगढ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षका एमाले उम्मेदवार जयराम कुनवरले थर परिवर्तन गरी विभिन्न मितिमा दुई वटा नागरिकता लिएको विषयमा अनुसन्धान गरी नागरिकता खारेज गरेको हो।

कुनवरले २०६३ माघ २१ गते घुम्ती टोलीमार्फत निजगढ–४ बाट लिएको ३३३१०११/५९९ नम्बरको नागरिकतामा जयराम कुनवर रहेको छ भने २०६० बैशाख १४ गते लिइएको नागरिकतामा ९६७३ नं. नागरिकतामा जयराम कुवँर रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

पछिल्लो पटक जयराम कुनवर थरले बनाइएको नागरिकतालाई खारेज गरिएको बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले बताए।

प्रजिअले एउटै व्यक्तिको दुईवटा नागरिकता भेटिएपछि पछिल्लो पटक एमाले उम्मेदवार कुनवरको नागरिकता खारेज गरिएको बताए।

वडाध्यक्षको मनोनयन पत्र कुनवरले खारेज गरिएको नागरिकताको आधारमा नै दर्ता गराएको हुनाले उनको उम्मेदवारी रहने कि नरहने त्यसको निर्णय निर्वाचन अयोगले गर्ने प्रजिअ मानन्धरले बताए।

निजगढ नगरपालिकाका निर्वाचन अधिकृत गोबिन्दराज गौलीले एमाले उम्मेदवार कुनवरले मनोनयन पत्र दर्ता गराएको नागरिकता नै खारेज भएको अवस्थामा उनका उम्मेदवारी रहने कि नरहने त्यसको बारेमा बुझने काम भई रहेको बताए।

मनोनयन पत्र दर्ता गराउनमा नागरिकता अनिवार्य रहनु पर्ने नियम रहेको भएपनि कुनवरको नागरिकता खारेजले उनको उम्मेदवारीको बारेमा निर्वाचन आयोगसँग राय सल्लाह लिएर कारवाही गरिने उनले बताए।

निर्वाचन आयोगका प्रवत्ता नवराज ढकालले निर्वाचन अधिकृतको कार्यालयबाट आयोगलाई लिखित जानकारी आएपछि उम्मेदवारको उम्मेदवारीको सम्बन्धमा कानुन अनुसार उचित निर्णय लिईने जानकारी गराए।

निर्वाचन कार्यक्रमको दावी बिरोध पेश गर्ने दिन कुवरले दोहोर नागरीकता लिएको उजुरी नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार सुनिल चौधरीले गरेका थिए। उनले किर्ते गरेर दुई पटकगरी दुई वटा छुट्टा–छुट्टै नम्बर र थर भएको नागरिकता लिएको भन्दै काँग्रेसका वडा अध्यक्षका उम्मेदवार चौधरीले उजुरी दिएका थिए।

उम्मेदवारी दर्ता गर्दा कुनवरले २०६३ माघ २१ गते घुम्ती टोलीमार्फत निजगढ–४ बाट लिएको ३३३१०११/५९९ नम्बरको नागरिकताको २०६८ बैशाख २९ गते निकालेको नागरिकता प्रतिलिपी पेश गरेका थिए।

एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेलले निजगढ ४ बाट वडाध्यक्षमा उम्मेदवारी दिएका जयराम कुनवरको नागरिकता राजनितिक रिसइबी साँध्नको लागि चुनावको मुखमा आएर खारेज गरिएको बताए।

 

प्रकाशित: ३१ भाद्र २०७४ १३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App