राजनीति

सप्तरीमा उम्मेदवारी दर्ता सकिन राती १२ बजे सम्म लाग्न सक्ने

राजविराज- प्रमुख दलहरुले वडा स्तरीय उम्मेदवारहरुको समयमा टुंगो लगाउन नसक्दा सप्तरीमा उम्मेदवारी दर्ता प्रक्रिया निकै ढिलो भएको छ।

केहि स्वतन्त्र उम्मेदवारहरु बाहेक प्रमुख राजनीतिक दलका उम्मेदवारहरु भने २ बजे पछि मात्रै उम्मेदवारी दर्ता गराउन पुगेका कारण समेत उम्मेदवारी दर्ता ढिलो भएको थियो । प्रायः जसो केन्द्रहरुमा साँझ ५ बजे सम्म उम्मेदवारी दर्ता गराउनेहरुको लाम निकै ठूलो देखिएको थियो।

 ‘उम्मेदवारहरुको निकै लामो लाईन हेरिरहेको छु, दर्ता गर्दा गर्दै राति पनि हुन सक्छन’, तिलाठी कोईलाडी केन्द्रमा खटिएका सोहि गाउँपालिकाका कार्यकारी अधिकृत सरोजकुमार झाले भने, ‘५ बजे सम्म लाईनमा बसिसकेका उम्मेदवारहरुको मनोनय दर्ता गर्नुपर्ने हुन्छ ।’

            सप्तरीका मुख्य निर्वाचन अधिकृत शारदा प्रसाद कोईरालाले सवै जसो केन्द्रहरुमा अझै पनि उम्मेदवारहरुको भिड रहेकोले अबेर राति सम्म उम्मेदवारी दर्ता प्रक्रिया चल्न सक्ने सम्भावना व्यक्त गरे।

प्रमुख दलहरुले वडा स्तरीय उम्मेदवारहरुको टुंगो लगाउन नसकेका कारण जिल्ला भरी नै उम्मेदवारी दर्ता प्रक्रिया निकै ढिलो भएको थियो । सवै जसो राजनीतिक दलहरु प्रमुख पदकै उम्मेदवारको टुंगो लगाउनमै अन्तिम समय सम्म व्यस्त रहेकोले बुधवार विहान सम्म वडा अध्यक्ष तथा वडा सदस्य पदहरुको उम्मेदवारको टुंगो नै लगाउन सकिएको थिएन।

स्थानीय तह निर्वाचनका लागि बुधवार सप्तरीमा पनि अत्यन्त उत्साहका साथ उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन्। सप्तरीका १८ वटै स्थानीय तहहरुमा उम्मेदवारहरुले निकै तामझामका साथ उम्मेदवारी दर्ता गराएका छन् ।

१८ बटै स्थानीय तहहरुमा काँग्रेस, माओवादी, एमाले, संघीय फोरम, राजपा, फोरम लोकतान्त्रीक लगायत प्रमुख दलहरुका साथै निकै संख्यामा स्वतन्त्र उम्मेदवारहरुले समेत उम्मेदवारी दर्ता गराएका छन् । बस, साना गाडी, ट्रायक्टर, सिटि रिक्सा, मोटरसाईकल लगायतका सवारी साधनहरुमा ठुलो संख्यामा कार्यकर्ताहरु सहित उम्मेदवारहरु उम्मेदवारी दर्ता गराउन पुगेका थिए ।

ठूल ठूला झण्डा, व्यानर, पार्टीको चुनाव चिन्ह अंकित टिसर्ट, टोपि लगाएर उम्मेदवारीमा स्थलमा जमा भएका पार्टीका नेता कार्यकर्ताहरु आ–आफ्नो पार्टीको पक्षमा नारावाजी समेत गरिरहेका थिए । महिलाहरुको पनि ठूलो संख्यामा सहभागिता रहेको थियो।

प्रकाशित: २१ भाद्र २०७४ १४:२४ बुधबार

सप्तरीमा उम्मेदवारी दर्ता सकिन राती १२ बजे लाग्न