राजनीति

अध्यक्ष ओलीको निर्देशन विपरित निर्वाचनबाटै चुनीयो लुम्बिनीको नेतृत्व

प्रदेश अध्यक्षमा कँडेल विजयी,२ मतले हारे रिजाल

सर्वसम्मत नेतृत्व चयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिएको कडा निर्देशनका बाबजुद नेकपा एमालेको लुम्बिनी प्रदेश नेतृत्व निर्वाचनबाटै चुनीएको छ।

एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधकृष्ण कँडेल निर्वाचित भएका छन्। पाल्पाका कँडेलले प्युठानका हरि रिजाललाइ २  मतले पारजित गर्दै प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्षमा निर्वाचित कँडेललाइ उपाध्यक्ष बिष्णु पौडेलको समर्थन थियो भने रिजाललाई महासचिव शंकर पोखरेलको समर्थन थियो। दुवै जनाले प्यानलै बनाएर निर्वाचन लडेका हुन्।

कँडेलले ४ सय ७९ मत ल्याएर विजयी भएका हुन्। अध्यक्षका अर्का प्रतिस्पर्धी हरि रिजालले ४ सय ७७ मत पाए। कँडेल निर्वतमान प्रदेश अध्यक्ष  हुन् भने प्युठानका रिजाल केन्द्रिय सदस्य छोडेर प्रदेश अध्यक्षमा लडेका थिए।  

भदौ १६ गतेदेखि बुटवलको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको अधिवेशनमा मंगलबार निर्वाचन भएको थियो। कुल १ हजार ५ मतदाता मध्ये ९ सय ६५ मत खसेको थियो। उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठले ४५५ मत ल्याएर विजयी भए,उपसचिव पुरुष तर्फ रोल्पाका पूर्ण बुढामगरले ४१८ मत सहित विजयी भए। उपसचिव महिलामा बर्दियाकी लिला रानामगरले ३५२ मत ल्याएर निर्वाचित भइन। सचिव पदमा दाङका लक्ष्मण आर्चाय त्यसअघि नै निर्विरोध निर्वाचित भएका थिए।

निर्वाचित पदाधिकारी मध्ये उपसचिवमा जितेका रोल्पाका पूर्ण बुढामगर रिजाल प्यानलका हुन  भने अरु कँडेल प्यानलका छन्। २०५ सदस्यीय प्रदेश कमिटिमा धेरै सदस्य कँडेल प्यानलबाटै विजयी भएका छन्।  लेखा समिति अध्यक्षमा कँडेल प्यानलकै दामोदर घिमिरे निर्वाचित भए। लेखा समितिको उपाध्यक्षमा बैकुण्ठ महत निर्विरोध निर्वाचित भए। चार दिनसम्म चलेको अधिवेशनमा पदाधिकारीमा सचिव सहित भूगोलतर्फ ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले बताए। रुपन्देही,दाङ,गुल्मी र बाँके जिल्लामा भने भुगोल र खुल्ला पदमा प्रतिस्पर्धा भएको थियो।

नवनिर्वाचित प्रदेश अध्यक्ष कँडेलले लोकतान्त्रिक प्रक्रिया अपनाएर निर्वाचित भएपछि आफू कुनै समूहको नभइ पार्टीभित्रको साझा नेताको रुपमा काम गर्ने प्रतिक्रिया दिए। उनले नतिजा आफनो पक्षमा आएपनि दुवै उम्मेद्वारको जित भएको पनि बताए।

लुम्बिनीको अधिवेशनमा भएको कँडेल र रिजाल बीचको जित हारलाइ एमाले नेता कार्यकर्ताहरु भने पार्टी उपाध्यक्ष पौडेलको जित र  महासचिव पोखरेलको हारको रुपमा व्याख्या गर्न थालेका छन्। ‘पार्टी अध्यक्षको ठाडो निर्देशनका वावजुद पनि आन्तरिक लोकतन्त्रलाइ बचाउनु पर्छ भन्ने सन्देश हामीले बुटवलबाट दिन सफल भएका छौं’ एकजना नवनिर्वाचित प्रदेश सदस्यले भने।

पार्टी अध्यक्ष ओलीले दिएको सर्वसम्मतीको कडा निर्देशनका वावजुद पनि निर्वाचनबाटै प्रदेश नेतृत्व चयन भएपछि एमालेका केही पुराना नेताहरु पार्टीले अंगीकार गरेको जनताको बहुदलीय जनवादको मर्म अनुरुप प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने पद्यतीमा एमाले फर्कीएको भनेर विश्लेषण गर्न थालेका छन्।  लुम्बिनीको अधिवेशनले क्षीण हुँदै गएको पार्टीको आन्तरिक लोकतन्त्रलाइ सुदृण गरेर अगाडी बढाउने दिसामा अन्य प्रदेशलाइ पनि महत्वपूर्ण सन्देश दिएको उनीहरुको ठम्मयाइ छ। त्यसोत लुम्बिनी अधिवेशनले एमालेमा कुनै गुटउपगुट नभएको भनेर चर्को भाषण गर्ने उपाध्यक्ष पौडेल र महासचिव पोखरेल गुटगत राजनीतिका बलिया खेलाडी हुन भन्ने कुरालाइ केही हदसम्म पुष्टि गरीदिएको छ।

प्रकाशित: २० भाद्र २०८० १३:१९ बुधबार

नेकपा एमाले