राजनीति

राष्ट्रपतिले बोलाए सर्वदलीय बैठक

फाइल तस्बिर

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको जारी अवरोध हटाउन सर्वदलीय बैठक बोलाएका छन्।

राष्ट्रपति पौडेलले संसदीयमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई मंगलबार बिहान सर्वदलिय बैठक बोलाएका हुन्।

‘संसदको जारी अवरोध कसरी हटाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न राष्ट्रपतिले मंगलबार बिहान ८: ३० बजे प्रतिनिधिसभामा प्रतिनिधितव गर्ने दलका नेतालाई शीतल निवास बोलाउनु भएको छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने।

सुन तस्करीको छानविनको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले साउन १० गते देखि संघीय संसदका दुबै सदन अवरुद्ध गरेसँगै राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल देखिका नेताहरूलाई शीतल निवास बोलाएर दवाव दिंदै आएका छन्। राष्ट्रपतिले पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई साउन २५ गते नै शीतल निवास बोलाएर संघीय संसद सुचारुका लागि पहल लिन आग्रह गरेका थिए। त्यसको भोलिपल्ट साउन २६ गते संघीय संसदन्र्तग प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनालाई शीतल निवास बोलाएका थिए।

सोहीक्रमलाई निरन्तरता दिंदै राष्ट्रपति पौडेलले साउन ३१ गते प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन्। साउन २६ गते देखि नै ओलीलाई भेट्ने प्रयासमा रहेका राष्ट्रपतिले साउन ३१ गते बुधबार ओलीलाई शीतल निवास बोलाएर संसदलाई सुचारु गर्नका लागि पहल लिन आग्रह गरेका हुन्।

प्रकाशित: ३ भाद्र २०८० १३:२४ आइतबार

राष्ट्रपति रामचन्द्र पौडेल