राजनीति

राजपा रुपन्देही फुटको संघारमा

भैरहवा – राजपा रुपन्देही फुटको संघारमा पुगेको छ । पार्टीको निर्वाचन बहिष्कार रणनीतिलार्इ लत्याउँदै केन्द्रीय नेताले नै आफ्ना मान्छेलाई चुनावमा भाग लिन लगाएको विषयमा उत्पन्न विवाद अहिले उत्कर्षमा पुगेको हो । गत असार १४ गते सम्पन्न स्थानीय निर्वाचनमा पार्टीका केन्द्रीय नेता सवेन्द्रनाथ शुक्लाले आफ्ना मान्छेलाई चुनावमा पठाएको भन्दै उत्पन्न विवादले राजपा रुपन्देहीलाई फुटको  संघारमा उभ्याएको हो । 

स्थानीय निर्वाचनमा राजपाका केन्द्रीय उपाध्यक्ष शुक्ला नजिकका स्थानीय नेता तथा कार्यकर्ताहरूले रुपदेहीको दुई गाउँपालिकासहित एक नगरपालिकामा प्यानल सहितको उम्मेदवारी दिएका थिए । 

सोही विषयलाई लिएर उतीबेलै देखि राजपा रुपन्देहीमा तत्कालिन सद्भावना पार्टीपक्ष र तत्कालिन तमलोपा पार्टी पक्षका नेताकार्यकर्ताहरू बीच चर्को विवाद हुँदै आएको थियो । विवादकै बीचमा राजपामा आवद्ध तत्कालिन सदभावना पक्षका नेताहरूले अध्यक्ष मण्डलको संयोजक नै परिर्वतन गरेका छन्।
  
गत आइतबार तत्कालिन तमलोपाका जिल्ला अध्यक्ष रहेका राजपा जिल्ला संयोजक अजय बर्मालाई हटाएर उनीहरुले राष्ट्रिय समाजवादी पार्टीका जिल्ला अध्यक्ष रहेका देवमणि पाण्डेलाई संयोजक तोकेका हुन्। पाण्डे यसअघि राजपा रुपन्देहीको अध्यक्ष मण्डलका सदस्य थिए । राजपाका केन्द्रीय उपाध्यक्ष ओमप्रकास गुल्जारीले प्रत्येक दुई महिनामा अध्यक्ष मण्डलको  संयोजक परिर्वतन गरी चक्रिय प्रणाली अनुसार राख्ने पार्टीको नीति रहेकाले सोही अनुरुप संयोजक त्रिपाठीलाई बनाइएको बताए । बर्माले आफनो समयावधी सकिँदा पनि केन्द्रस्य नीतिअनुरुप संयोजक अरुलाइ नदिएकाले जिल्ला नेतृत्वमै रहेका अध्यक्ष मण्डलका अन्य सदस्यले बैठक बसालेर पाण्डेलाई संयोजक तोकेको दावी  गरेका छन्।

संयोजक परिर्वतन संगै पार्टी नीति विपरित जाने केन्द्रीय नेताहरू शवेन्द्रनाथ शुक्ला र हृदयस त्रिपाठीलाई कारबाहीको सिफारिस समेत गरीएको नेता गुल्जारीले बताए । 

यता तत्कालिन तमलोपा पक्षका नेता कार्यकर्ताहरुले भने राजपाको जिल्ला संयोजक परिवर्तन नभएको र केही व्यक्तिहरूले गरेको कोठे निर्णय पार्टीको निर्णय हुन नसक्ने बताएका छन । उनीहरूले राजपा रुपन्देहीको संयोजक अजय बर्मानै भएको भन्दै दुईचार जना मिलेर राजपा रुपन्देहीलाई बदनाम गराउन र आपसी द्वन्द्व बढाउने खेलमा लागेको बताएका छन् । बर्माले पार्टीलाई बदानाम गराउने केही व्यक्ति र केन्द्रीय नेताहरू शुक्ला र त्रिपाठीमाथि झुटा आरोप लगाउनेलाई उल्टै कारबाही गरिने बताएका छन् । उनले केन्द्रीय उपाध्यक्ष शुक्ला र केन्द्रीय सहध्यक्ष त्रिपाठीले कुनै गल्ती नगरेको दावी पनि गरेका छन् । 

तमलोपा पक्षले मंगलबार भैरहवामा बैठक बसी जिल्ला संयोजक अर्को व्यक्ति नतोकिँदा सम्म पुन बर्मा नै संयोजक रहने निर्णय गरिएको बताएको छ । सो पक्षले उल्टै ओमप्रकाश यादव गुल्जारी र राजेन्द्र गुप्तालाई कारबाहीको माग गरेको छ । दुई पक्षको टकरावकाबिच पार्टी फुटको संघारमा पुगेका सम्बन्धमा भने यी दुवै पक्षले अस्विकार गरे । पर्टी एकढिक्कै रहने तर पार्टी नीति विपरीत काम गर्नेलाई कारवाही अवश्य हुने दाबी केन्द्रीय उपाध्यक्ष गुल्जारीको छ । यता जिल्ला संयोजक बर्माले पनी गुल्जारी र गुप्ताले जिल्ला नेतृत्वलाई हस्तक्षेप गरी आफूखुसी कोठे बैठक राखेर पार्टी भाड्ने काम गरेकाले उनीहरुलाई कारवाही भएपछि सबै कुरा मिल्ने बताएका छन् । 

प्रकाशित: १९ श्रावण २०७४ ११:४० बिहीबार

राजपा रुपन्देही फुटको संघारमा