राजनीति

भरतपुर १९ : उम्मेदवारहरू मत माग्न सक्रिय

चितवन- अढाइ महिनापछि भरतपुर महानगरपालिकाको वडा नं. १९ फेरि चुनावमय भएको छ। उम्मेदवारहरूले मतदाता भेट्न थालेका छन्। गणना नसकिँदै मतपत्र च्यातिएपछि वडा नं. १९ को चुनावी नतिजाबारे लामो समयसम्म अन्योल थियो। सर्वोच्च अदालतले मतपत्र च्यातिएको वडामा फेरि मतदान गराउन आइतबार आदेश दिएपछि उम्मेदवारहरू सक्रिय भएका हुन्।

 कांग्रेसबाट वडा नं. १९ मा वडा अध्यक्ष पदका उम्मेदवार कर्णबहादुर गुरुङ सोमबार मध्याह्न शारदानगरको रानीपोखरी टोलमा ब्युटी पार्लर तालिम उद्घाटन कार्यक्रममा सरिक भए।

एमालेका वडा अध्यक्ष पदका उम्मेदवार प्रकाश तमाङ गुरुङ फर्केलगत्तै सो ठाउँमा मत माग्न जाने योजना बनाएर बसेका थिए।

सर्वोच्च अदालतबाट मतदान गर्नुपर्ने आदेश आए पनि चुनाव मिति भने तोकिएको छैन।

सर्वोच्चको निर्णयको प्रतिलिपि प्राप्त नभइसकेका कारण मिति तय गर्ने प्रक्रिया सुरु नभएको भरतपुरका सहायक निर्वाचन अधिकृत तथा सूचना अधिकारी गम्भीर घिमिरेले बताए। पत्र आएलगत्तै मुख्य निर्वाचन अधिकृतले सर्वदलीय बैठक राखेर मिति तोक्ने उनले बताए।

'कानुनले मुख्य निर्वाचन अधिकृतलाई मिति तोक्ने अधिकार दिएको छ। सर्वोच्चको निर्णय पत्र आएपछि सर्वदलीय बैठक राखेर सुरक्षा अंगसँग सल्लाह गरी मिति घोषणा हुन्छ,' घिमिरेले भने। चाँडै मतदान हुने संकेत पाएका कारण उम्मेदवारहरू व्यस्त भएका हुन्। 

भरतपुरको १९ नम्बर वडामा माओवादी केन्द्रले वडाध्यक्षसहित सबै सदस्य पदमा कांग्रेसका उम्मेदवारलाई मत हाल्ने निर्णय गरेको छ। त्यसैले यहाँ कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी छन्।

मेयर–उपमेयरमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ। गठबन्धनबाट मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह छन्।

एमालेबाट मेयरमा देवीप्रसाद ज्ञवाली र दिव्य शर्मा आचार्य उपमेयरमा उम्मेदवार छन्। उपमेयर पदमा प्रतिस्पर्धी उम्मेदवारभन्दा धेरै मतान्तरले अगाडि रहेकी कांग्रेसकी पार्वती शाहको जित निश्चितजस्तै छ। तर मेयरमा एमालेका ज्ञवाली र माओवादी केन्द्रकी दाहालबीच तीव्र प्रतिस्पर्धा छ। १९ नम्बर वडाको मत गन्न बाँकी रहँदा ज्ञवाली दाहालभन्दा ७८४ मतले अगाडि थिए।

भरतपुर महानगरमा २९ वटा वडा छन्। दुईवटा वडा १९ र २० बाहेक अरू सबैको मत परिणाम सार्वजनिक भएको छ। १९ र २० नम्बर वडा कांग्रेसको मत आधार राम्रो भएको ठाउँ हो। १९ नम्बर वडाको मत गन्न सुरु भएर अन्तिम हुन लाग्दा पनि मेयर पदमा रेणु दाहाललाई राम्रो मत आएको थिएन।

वडा नं. १९ मा तीन हजार ७९७ मतदाता छन्। भरतपुरमा स्थानीय तह निर्वाचनको पहिलो चरणमा वैशाख ३१ गते मतदान भएको थियो। मतदानमा वडा नं. १९ मा दुई हजार ८६० मत खसेको थियो।

१९ नम्बरको मत गणना हुनुअघि मेयर पदमा देवीप्रसाद ज्ञवालीको ४० हजार ९८० र रेणु दाहालको ४० हजार १९६ मत आएको थियो।

वडा नं. १९ को मत गणना हुँदा दाहालले उल्लेख्य मत ल्याएमा मात्रै जित्ने सम्भावना रहन्थ्यो। तर दाहालका लागि सोचेअनुरूपको मत आएको थिएन। वडा नं. १९ को १८ सयभन्दा धेरै मत गणना भएको अवस्थामा जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएको थियो। मतपत्र च्यातेको आरोपमा प्रहरीले तत्कालै माओवादी केन्द्रका दुईजना गणना प्रतिनिधिलाई समातेको थियो। उनीहरुविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ।

 मतपत्र च्यातिएलगत्तै गणना स्थगित भएको थियो। एमालेले तत्काल मतगणना सुरु गर्न माग गरेको थियो भने कांग्रेस र माओवादीले वडा नं. १९ मा फेरि चुनाव गराउन माग गरेका थिए। जेठ २० मा निर्वाचन आयोगले पनि वडा नं. १९ मा मतदान गराउनुपर्ने निर्णय दिएको थियो। सो निर्णयविरुद्ध जेठ २१ मा सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो।

 सर्वोच्च अदालतले आइतबार निर्वाचन आयोगको निर्णय नै सदर गर्दै मतदान गर्न भनेको हो। निर्वाचन आयोगको निर्णयलगत्तै कांग्रेस र माओवादीले संयुक्त चुनावी कार्यालय खोलेका छन्। एमालेले पनि भन्डाफोर अभियान भन्दै मतदाताको घरदैलोमा पुगेको छ।

भरतपुरमा कांग्रेसको राम्रो आधार छ। मेयरमा कांग्रेसकै उम्मेदवारले जित्ने सम्भावना हुँदाहुँदै पनि माओवादीसँग तालमेल गरेको भन्दै कार्यकर्ताहरू रुष्ट भएका थिए। कार्यकर्ताको आक्रोश साम्य पार्न कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भरतपुर आएर संयुक्त चुनावी सभालाई सम्बोधन गरेका थिए। रेणु पुष्पकमल दाहालकी छोरी हुन्।

 कांग्रेस र माओवादीको संयुक्त चुनावी अभियान चले पनि मतगणना सुरु भएपछि कांग्रेस समर्थक धेरैले मेयरमा दाहाललाई मत नदिएको देखिएको थियो। कांग्रेसको गढका रुपमा परिचित वडा नं. १९ मा फेरि निर्वाचन गराउन सके असन्तुष्ट मतदातालाई मनाएर दाहालका पक्षमा धेरै मत तान्न सक्ने योजनाका साथ माओवादीका प्रतिनिधिले मतपत्र च्यातेको एमालेले आरोप लगाउँदै आएको छ।

'तर अब चुनाव भए पहिला दाहाललाई मत दिएकाहरूले एमालेलाई मत दिने अवस्था छ। मतपत्र च्यातेर हाम्रो मतको अपमान गरेको भन्ने भावना मतदातामा छ,' एमालेका वडाध्यक्ष पदका उम्मेदवार प्रकाश तमाङले भने। घटनालगत्तै मतपत्र कस्ले च्यात्यो, अदालतमा कसका विरुद्ध मुद्दा दर्ता भयो भन्ने विषय उजागार भएको अपिलसहित आफूहरू सबै मतदातको घरघरमा पुगेको उनले बताए।

 कांग्रेस माओवादी गठबन्धनका जिल्ला नेताहरूले पनि संयुक्त अपिल निकालेर मतपत्र च्यातिनुमा एमालेलाई दोषी देखाउँदै घरदौलो गरे। 'मत गणनाका क्रममा एमालेबाट पटकपटक तनाव दिने काम भएको जगजाहेर छ। यसै क्रममा जेठ १४ गते मध्यरातमा अत्यन्त तनावपूर्ण वातावरण सिर्जना भई ९० वटा मतपत्र च्यातिएका हुन्,' सत्तारुढ गठबन्धनले मतदाताको हातहातमा पुर्‍याएको पर्चामा उल्लेख छ।

 वडा नं. १९ को मतदानपछि २० को पनि गणना हुने छ। नतिजा घोषणा भएका २७ वटा वडामध्ये एमालेले १४ वटा वडामा वडाध्यक्ष जितेको छ। कांग्रेसले १० र माओवादी केन्द्रले तीनवटा वडामा वडाध्यक्ष जितेका छन्।  

प्रकाशित: १७ श्रावण २०७४ ०२:५५ मंगलबार

भरतपुर १९  उम्मेदवारहरू मत माग्न सक्रिय