राजनीति

संसद् ‘हाइज्याक’ गरियोः लामिछाने

फाइल तस्बीर।

प्रतिनिधिसभाको सोमबारको बैठक पनि प्रमुख प्रतिपक्षी दल एमालेले अवरुद्ध गरेको छ। प्रतिनिधिसभाको बैठक बस्नासाथ सभामुखले कांग्रेस सांसद सुनिल शर्मालाई बोल्न समय दिए। प्रमुख प्रतिपक्षी दल उठिरहेका बेलामा उनले सत्तापक्षका सांसद शर्मालाई बोल्न अनुमति दिएका थिए। बैठकमा एकजना सांसद पनि उठेमा बोल्न दिन मिल्दैन, यस्तो अवस्थामा सदन अवरुद्ध हुने संसदीय अभ्यास छ। तर, सभामुखले शर्मालाई बोल्न समय दिँदा एमाले आआफ्नो स्थानबाट उठिरहेका थिए। शर्माले आफ्नो कुरा राख्ने क्रममा राज्यसत्ताले बिनापुर्जी पक्राउ गरेको भन्दै पक्राउपछि पनि दुव्र्यवहार भएको बताए। शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले माफी नमागे र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए आमरण अनसन बस्ने चेतावनी पनि दिए।  

आफूले सुन तस्करी प्रकरणमा नैतिक रूपमा संलग्न व्यक्तिहरूको राजीनामा माग गर्दा आफूलाई पक्राउ गरेर दुःख दिएको भन्दै शर्माले प्रधानमन्त्रीले आतंककारी सरकारको नेतृत्व गरेको कि प्रजातान्त्रिक सरकारको भनी प्रश्न गरे। ‘गृहमन्त्री, प्रधानमन्त्रीले आतंककारी सरकारको नेतृत्व गर्दै हुनुहुन्छ कि डेमोक्रेटिक सरकारको नेतृत्व गर्दै हुनुहुन्छ ?,’ उनले भने, ‘यो प्रजातान्त्रिक सिस्टममा बोल्न पनि पाइँदैन, राजीनामा माग्न पाइँदैन भने हामीजस्ता सभासद्लाई बिना पक्राउ–पुर्जी ‘एरेस्ट’ गरिन्छ भने जनताको अवस्था के हुन्छ ?’  

शर्माले सरकारले आतंककारी शैलीमा आफूलाई पक्राउ गरेको भन्दै आतंककारी सरकारभन्दा माओवादी केन्द्रका हितराज पाण्डेले नियमापत्ति जनाए। तर, शर्माले ‘मैले बोलेपछि तपाईंले नियमापत्ति गर्नुहोला’ भन्दै पुनः आतंककारी सरकार भन्दै आफू निर्दोषलाई पक्राउ गरेको दोहोराए। शर्मा नक्कली प्रमाणपत्रको अभियोगमा पक्राउ परेर रिहा भएका र उनको अनुसन्धान भइरहेको अवस्था छ।  

शर्माले भनाइ राखेपछि पनि सभामुखले हितराज पाण्डेलाई नियमापत्ति गर्न समय दिएनन्। उनले एमालेका मानवीर राईलाई बोल्न समय दिए। मानवीर राईले बोल्दै गर्दा माओवादी केन्द्रका सांसद उठेर विरोध गरिरहेका थिए। सभामुखले राईको भनाइ रोक्दै केमा नियमापत्ति हो भन्दै सोधे। त्यसपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले आतंककारी भन्ने शब्द रेकर्डबाट हटाउन माग गरे। त्यसपछि मानवीर राईलाई बोल्न समय दिइयो। उनले साउन २ गते बरामत भएको सय किलो सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म सदन अवरुद्ध हुने बताउँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद उठेर आफूहरूले पनि बोल्न पाउनुपर्छ भन्दै आवाज उठाए। सभामुखले रास्वपा उठेको अवस्थामा पनि राईलाई भनाइ राख्न दिए। एमालेका सांसद राईले भनाइ राखेपछि नाराबाजी गर्न सुरु गरे। त्यसपछि बैठक भदौ ३ गतेसम्मका लागि स्थगित भयो।  

बैठक सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् ‘हाइज्याक’भएको टिप्पणी गरेका छन्। रास्वपा सांसद विराजभक्त श्रेष्ठले संसद्मा प्रतिपक्षलाई बोल्न नदिएर विभेद गरिएको बताएका छन्। सोमबार नै सत्तारूढ दल कांग्रेस संसदीय दलको बैठकले प्रमुख प्रतिपक्ष दल एमालेलाई संसद्को अवरोध अन्त्य गर्न आग्रह गरेको थियो।

प्रकाशित: ३० श्रावण २०८० ०२:०९ मंगलबार

संसद् ‘हाइज्याक’ गरियोः लामिछाने