राजनीति

सरकारको अनुचित अडानका कारण संसद बैठक चल्न सकेनः एमाले

सरकारको अनुचित अडानका कारण संसद बैठक चल्न नसकेको प्रमुख प्रतिपक्ष दल एमालेले आरोप लगाएको छ।  

एमालेका सचेतक महेश बर्ताैलाले आफ्नो पार्टीले संसदमा उठाएको मागलाई सम्बोधन नगरी सरकारले जबरजस्ती अनुचित अडान लिएका कारण संसद बैठक चल्न नसकेको बताएका हुन्।

सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले सुन तस्करीको जालोलाई अन्त्य गर्ने गरी आफ्नो पार्टी उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दा सरकारले बेवास्ता गरेका कारण संसद बैठक चल्न नसकेको पनि दोहो¥याए। उनले एमाले संसदमा कुनै पनि गतिरोध उत्पन्न नहोस् भन्ने मान्यतामा दृढ रहेको बताए।

सचेतक बर्तौलाले भने, ‘हामी यो संसद चलाउन चाहन्छौं। संसदमा कुनै पनि गतिरोध निर्माण नहोस् भन्ने चाहन्छौं। यो नेकपा एमालेको स्थायी मान्यता हो। सरकार यो संसद अवरोध गर्न चाहन्छ। संसदको भ्ुमिकालाई निस्तेज पार्न चाहन्छ। संसदलाई प्यारालाईज गर्न चाहन्छ। त्यसकारण प्रतिपक्षले संसदमा उठाएको मागलाई नजरअन्दाज गर्ने, अनदेखा गर्ने, माग पूरा गर्दिन भनेर अनुचित अडान एक प्रकारले भन्ने हो भने सरकार चाहीँ जब्बरजस्तीमा उभिएको अवस्था छ। त्यसकारण सरकारको अनुचित र जबरजस्ती अडानका कारणले गर्दा यो संसद आज पनि अगाडि बढन सकेन। हामीले सभामुखलाई भनेको छौं–सदन सुचारु गरौं। सरकारलाई पनि आग्रह ग¥र्र्यौ हामीले। हामीले उठाएको माग देशको हीतको पक्षमा छ। जनताको माग सम्बोधन गर्ने प्रकृतिको छ। र, यदी सरकार साँच्चै यो देशमा भ्रष्टाचारलाई समाप्त पार्न चाहन्छ। तस्करको स्वर्ग नेपाल बन्ने जे परिस्थिति निर्माण भएको छ। त्यसलाई अन्त्य गर्न चाहन्छ। तस्करको जालो अन्त्य गर्न चाहन्छ भने त प्रतिपक्षले उठाएको यो मागले त सरकारलाई सहयोग पुग्छ।’

सचेतक बर्ताैलाले एमालेले सदन सुचारु गराउन सभामुख देवराज घिमिरेको पनि ध्यानाकर्षण गराइरहेको बताए। 

प्रकाशित: २९ श्रावण २०८० ११:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App