धनगढी- एमाले, माओवादी केन्द्रलगायतका राजनीतिक दलका उम्मेदवार प्रचारप्रसारमा गाउँटोलमा व्यस्त रहेका बेला कांग्रेसका नेता, उम्मेदवारका आकांक्षी र कार्यकर्ता हप्तांदेखि काठमाडौंमा रहेका छन्।
एमाले, माओवादी केन्द्रलगायतका दलहरु सबै तहमा उम्मेदवार घोषणा गरेर प्रचारप्रसारमा जुटेका छन्। तर कांग्रेसका उम्मेदवार आकांक्षी र जिल्ला नेताहरू काठमाडौंमा रहेकाले प्रचारप्रसार प्रभावित भएको कार्यकर्ता बताउँछन् ।
कांग्रेस कैलालीका सचिव पूर्ण कुँवरले धनगढी उपमहानगरपालिकाको मेयर, उपमेयरलगायतका कैलालीका विभिन्न निकायमा उम्मेदवारको घोषणा हुन बाँकी रहेको बताए। उनले भने, ‘जुन उत्साह र ऊर्जाका साथ प्रचारप्रसार हुनुपर्ने हो त्यो त हुन सकेको छैन, तर कार्यकर्तासहित हामी प्रचारप्रसारमा जुटेका छौं,’ उनले भने ।
निर्वाचन मिति नजिकिएसँगै राजनीतिक दलहरूका चुनावी गतिविधि बढेको छ । जिल्लाका १३ वटै निकायमा राजनीतिक दलहरूले प्रचार अभियान तीव्र पारेका छन् ।
जिल्ला सभापति नरनारायण शाह मनु, अधिकांश क्षेत्रीय सभापतिहरू, उम्मेदवारका आकांक्षी नेताहरु केही दिनदेखि काठमाडौंमा छन् ।
एमाले उपाध्यक्ष भीम रावल, माओवादी नेता लेखराज भट्टलगायत नेताहरु गाउँगाउँमा चुनावी प्रचारमा जुटेका छन् । चुनावी अभियानका लागि कांग्रेस नेताहरू रमेश लेखक, एनपी सावद, दीर्घराज भाट, पुस्करनाथ ओझालगायत गाउँ नआएको कार्यकर्ता बताउँछन् ।
वडा अध्यक्ष र सदस्यमा टिकट पाएका र आकांक्षी कार्यकर्ताले वडा, टोल स्तरमा कांग्रेसका चुनावी कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
सुदूरपश्चिमका धेरैजसो स्थानीय तहमा कांग्रेसले उम्मेदवार छान्न सकेको छैन । छानिएका क्षेत्रमा पनि टिकट वितरणमा देखिएको असन्तुष्टिको प्रभाव पनि चुनावी अभियानमा देखिन्छ । कतिपय ठाउँमा असन्तुष्टहरू बागी उम्मेदवारी घोषणा गर्दै चुनावी प्रचारमा जुटेका छन् ।
केही ठाउँमा वडा कार्यालय र चुनाव प्रचासप्रसारका लागि खोलिएका कार्यालयमा तालाबन्दी भएका छन्।
धनगढी उपमहानगरपालिकामा वडा अध्यक्षको उम्मेदवार छनोटप्रति असन्तुष्टि बढी देखिन्छ।
कैलालीमा प्रमुख प्रतिस्पर्धी ठानिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सबैजसो तहमा केही साता पहिले नै उम्मेदवार घोषणा गरेको छ ।
केन्द्रीय पदाधिकारीहरू सरकार गठनमा व्यस्त भएका कारण कांग्रेसले कैलालीसहित सुदूरपश्चिमका केही तहमा उम्मेदवार टुंग्याएर औपचारिक रूपमा सार्वजनिक गर्न सकेको छैन।
एमालेले धनगढी उपमहानगरपालिकाको मेयरमा दुर्गाप्रसाद जोशी र उपमेयरमा रुक्मणी देवकोटा उम्मेदवारी दिएको छ । माओवादी केन्द्रले मेयरमा रामसमझ राना र उपमेयरमा शान्ति अधिकारी क्षेत्रीलाई उम्मेवार बनाएको छ । यस्तै राप्रपाले मेयरमा बिष्णुबहादुर साहु र उपमेयरमा जनककुमार कुँवरलाई उम्मेदवार बनाएको छ । सुन्दर सुदूरपश्चिमका अभियन्ता उद्योगी गोपाल हमालले पनि मेयरमा स्वतन्त्र उम्मेदवार घोषणा गर्दै प्रचार तीव्र पारेका छन् ।
प्रकाशित: २४ जेष्ठ २०७४ ०२:४२ बुधबार