राजनीति

राष्ट्रिय सभा बैठक: शुन्य समयमा कसले के भने ?

राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले प्रधानमन्त्री पुष्पकमल दाहालको कुनै समय आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह दिल्ली गएको भन्ने अभिव्यक्ति आपत्तिजनक रहेको बताएकी छिन्।

मंगलबारको राष्ट्रिय सभा बैठकमा शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले प्रधानमन्त्री दाहालको सो अभिव्यक्ति स्वतन्त्र र सार्वभौमसम्पन्न नेपालीका लागि आपत्तिजनक रहेको बताएकी हुन्। उनले प्रधानमन्त्रीको कुर्सिमा बसेर राष्ट्रिय स्वाभिमानमा आँच पु¥याउने अभिव्यक्ति दिन कसैलाई छुट नभएको बताइन्। उनले यो अभिव्यक्ति फिर्ता लिँदै संसद समक्ष आएर स्पष्ट पार्न माग गरिन्।

उनले भनिन्, ‘हिजो एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीज्युले दिनुभएको अभिव्यक्ति स्वतन्त्र, सार्वभौमसम्पन्न स्वाभिमानि नेपालीका लागि गम्भिर आपत्तिजनक छ। हिजो उहाँले मलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली जानुभएको भनेर कोही व्यक्ति विशेषलाई उहाँले इंकित गर्दै भन्नुभएको छ। प्रधानमन्त्रीले बुझ्नुपर्छ यो मुलुकको स्वतन्त्रता र सार्वभौमिकतालाई जोगाउन धेरै देशभक्त नेपालीले आफ्नो रगत बगाएका छन्। जीवनको आहुति दिएका छन्। प्रधानमन्त्रीको कुर्सिमा बसेर यस किसिमका राष्ट्रिय स्वाभिमानमा आँच पु¥याउने अभिव्यक्ति दिन उहाँलाई कदापी छुट दिन सकिँदैन। म यस विषयमा प्रधानमन्त्रीले सदन समक्ष आएर स्पष्ट पार्न र आफ्ना भनाइ फिर्ता लिन अनुरोध गर्दछु।’

राष्ट्रिय सभा सदस्य गोपाल भट्टराईले पूर्वी नवलपरासीका पाँच वटा गाँउपालिकामा बाढी, पहिरोका कारण विगत केही दिनदेखि सडक अवरुद्ध भएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए।

उनले भने, ‘देशभरी बाढी, पहिरोले जनजीवन प्रभावित भएको छ। नवलपरासी र त्यस आसपासका जिल्लाहरुमा अहिले भीषण वर्षाले बाढी पहिरोको प्रकोप बढीरहेको छ। पूर्वी नवलपरासीका ४, ५ वटा गाँउपालिकामा चार, पाँचदिनदेखि सडक अवरुद्ध छ। यातायात छैन। जनताले निकै सास्ती पाएका छन्। त्यसको निम्ति सरकारको पहल देखिँदैन। तल्लो तटिय क्षेत्रमा डुबान र नदी कटानको अवस्था नाजुक छ। रुपन्देहीको तिनाउ नदी खतराको चिन्हबाट माथि गएको छ। त्यस क्षेत्रका जनतालाई अहिले त्रास मात्र छ । त्यसतर्फ सरकारको ध्यान जाओस् भन्न चाहन्छु।’

राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले विद्यालय कर्मचारीहरुको माग तत्काल सम्बोधन गर्न माग गरे। त्यस्तै सन् २०१९ देखि त्रिभुवन विश्वविद्यालयले सिएको समकक्षताको प्रमाणपत्र नदिँदा सिएहरु अलपत्र परेका भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए।

त्यस्तै राष्ट्रिय सभा सदस्य तारामान स्वाँरले कैलालीस्थित शत्ति भन्सार कार्यालयमा तत्काल क्वारेन्टाइनको स्थापना गर्न माग गरे।

उनले भने, ‘कैलालीको खक्रौलास्थित शत्ति भन्सार कार्यालयमा क्वारेन्टाइन नहुँदा कैलालीको पूर्वी क्षेत्रमा आउने खाद्यजन्य तथा पशुजन्य वस्तुहरु अन्यत्रबाट आउने भएकाले भन्सारको राजश्वमा भारी गिरावट आएको छ। तत्काल शत्ति भन्सारमा क्वारेन्टाइनको स्थापना गर्न सरकारसँग माग गर्दछु।’

राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले तनहुँको बुद्धसिंह मार्गमा कालोपत्रे गर्न र पक्की पुल निर्माण गर्न सरकारसँग माग गरे।

राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंह यादवले धान रोपाईं चलिरहेको यो बेलामा किसानले युरिया र डिएपी मल नपाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले बाढी, पहिरोबाट हुने जोखिमको रोकथामका लागि सरकारले बेलैमा ध्यान दिनुपर्ने बताइन्।

राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले नारायणघाट–मुग्लिन सडक खण्ड पहिरोका कारण अवरुद्ध हुने गरेको र यात्रा कष्टकर हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

उनले भनिन्, ‘बुटवल नारायणघाट सडक खण्ड निर्माण कार्यको कारणले जटिल त थियो नै नारायणघाट मुग्लिन सडक खण्ड पहिरोको कारणले अत्यन्त कष्टपूर्ण बन्यो। यसलाई तत्कालिन र दीर्घकालिन हिसाबले वैकल्पिक मार्गको खोजि नगरे पूर्व पश्चिम राजमार्गमा सधैँ यस्तै हुने नियती दोहोरिनेछ।’

राष्ट्रिय सभा सदस्य शेखरकुमार सिंहले सप्तरीको बेलीही भन्सारमा क्वारेन्टाइन चेकपोष्ट राख्न माग गरे।  

प्रकाशित: १९ असार २०८० ०८:५८ मंगलबार

राष्ट्रिय सभा