राजनीति

एमालेलाई सरकारमा पुग्न नदिन अनेक उपाय खोजियो: ओली

ओलीले देश र जनताको सेवा गरेबापत प्राप्त हुने सन्तुष्टि नै आफ्नो लागि सबै भन्दा ठुलो प्राप्ति हुने गरेको बताए।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गरेबापत आफूलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको टिप्पणी गरेका छन्।

‘देश समृद्धि होस्, जनता सुखी रहून्’ भन्ने ध्येयका साथ काम गरिरहँदा पनि केही मानिसहरु आफूलाई सरकारमा पुग्न नदिनका लागि अनेक उपायको खोजीमा लाग्ने गरेको ओलीको भनाई छ।

सोमबार भक्तपुरमा निर्माण गरिएको ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’को उद्घाटन गर्दै उनले आफू भने कुनै प्रतिफलको आशा नगरी देश र जनताको समृद्धिको काममा लागिपर्ने बताए।

ओलीले आफू सरकारमा नभए पनि देश र जनताका लागि केही न केही काम गरिरहेको दाबी समेत गरे।

उनले आफू सरकारमा सहभागी भएको बेला सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्‍याउनेलगायतका थुप्रै काम आफूले गरेको तर त्यसको जस आफूलाई नै दिनुपर्छ भन्ने मान्यता नलिएको पनि पटक पटक दोहोर्‍याए।

ओलीले देश र जनताको सेवा गरेबापत प्राप्त हुने सन्तुष्टि नै आफ्नो लागि सबै भन्दा ठुलो प्राप्ति हुने गरेको बताए। 

उनले आफूले नै सडक बालबालिकाको व्यवस्थापनको काम सुरु गरेको, दुर्गम ठाउँहरुको अन्त्य हुने गरी सडक सञ्जाल निर्माणको काम सुरु गरेको भएपनि त्यसको श्रेय लिनुपर्छ भन्ने नलागेको बताए।

जनताको सेवा गरेर प्राप्त हुने सन्तुष्टिबाट नै आफूलाई सन्तुष्टि मिल्ने गरेको उनको भनाइ थियो। त्यस अवसरमा उनले ज्येष्ठ नागरिक आश्रमहरुलाई जातको आधारमा भेदभावपूर्ण व्यवहार नगर्न पनि सचेत गराएका थिए।

प्रकाशित: १८ असार २०८० १३:१४ सोमबार