राजनीति

मौन अवधिमा ३९ मिडियाबाट आचारसंहिता उल्लंघन

काठमाडौं- स्थानीय तहको निर्वाचन अन्तर्गत निर्वाचन आयोगले तोकेको मौन अवधिमा ३९ सञ्चारमाध्यमले निर्वाचन आचारसंहिताविपरित सामग्री प्रकाशन/प्रसारण गरेको पाइएको छ।

प्रेस काउन्सिल नेपालले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा ती सञ्चारमाध्यमबाट प्रकाशन/प्रशारण भएका ७६ वटा सामग्री आचारसंहिता विपरीत पाइएको जनाएको छ । काउन्सिलले वैशाख २९ देखि ३१ गतेसम्म गरेको अनुगमनको प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदन अनुसार आचारसंहिता उल्लंघन गर्नेमा छापामाध्यम अग्रपंक्तिमा देखिएका छन् । २६ वटा छापामाध्यमा प्रकाशित ६३ वटा सामग्री निर्वाचन आचारसंहिता विपरित रहेको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै अनलाईन ९ वटा र टेलिभिजन ४ वटाले उल्लंघन गरेका छन् । पत्रकार र तिनले प्रयोग गर्ने सामाजिक सञ्जालबाट पोष्ट भएका १२ वटा सामग्रीले आचारसंहिता आकर्षित भएको पाइएको काउन्सिलले जनाएको छ । 

मौनअवधिमा पत्रकार, उम्मेदवार तथा कसैले पनि राजनीतिक दलको प्रचार–प्रसार, गालीगलौज गर्न नपाईने व्यवस्था रहेको छ । काउन्सिलका अनुसार मौन अवधि सुरु हुनुअघि ६२ वटा आमसञ्चारमाध्यमका एक सय १५ सामग्रीमा निर्वाचन आचारसंहिता उल्लंघन भएको पाइएको थियो ।

प्रकाशित: १ जेष्ठ २०७४ ११:३४ सोमबार

मौन अवधिमा ३९ मिडियाबाट आचारसंहिता उल्लंघन