राजनीति

ललितपुरमा नयाँ शक्तिकी पोडे निर्विरोध वडा सदस्य

काठमाडौं- ललितपुर महानगरपालिकामा नयाँ शक्ति पार्टी, नेपालकी उम्मेदवार वीनाकुमारी पोडे वडा सदस्यमा निर्विरोध निर्वाचित भएकी छन्।

महानगरपालिकाको वडा नं. १ मा दलित महिला सदस्य पदको निर्वाचनमा पोडे एक्लैको उम्मेदवारी मनोनयनपत्र दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएकी हुन्।

निर्वाचन अधिकृतको कार्यालय ललितपुरले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ अनुसार पोडे निर्विरोध दलित वडा सदस्य पदमा निर्वाचित भएको जनाएको छ।

यस अघि नयाँ शक्तिबाटै रसुवाको पार्वतीकुण्ड गाउँपालिका वडा नम्बर २ मा नयाँ शक्ति पार्टीकी श्रीमाया विक वडा सदस्यमा निर्विरोध निर्वाचित भएकी थिइन्।

 

 

प्रकाशित: २२ वैशाख २०७४ १३:५३ शुक्रबार

ललितपुरमा शक्तिकी पोडे निर्विरोध वडा सदस्य