राजनीति

पर्याप्त पूर्वाधार बनाउन नसक्दा राहदानी वितरणमा समस्या बढ्योः नेता पुन

फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पर्याप्त पूर्वाधार बनाउन नसक्दा विद्युतीय राहदानी वितरणमा समस्या बढेको बताएका छन्।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।  

उनले केही वर्ष अघिको सरकारले नेपाली राहदानी विद्युतीय प्रणालीमा जाने निर्णय गरेपनि पर्याप्त पूर्वाधार निर्माण गर्न नसक्दा अहिले समस्या झेल्नुपरेको बताए। सरकारले काम गर्न समस्या भए जनतालाई सो समस्या जस्ताको त्यस्तै राख्न सक्नुपर्ने उनको भनाइ छ।

नेता पुनले सरकारको नेतृत्व गर्ने मन्त्री वा नेताहरुले सकेसम्म समस्याहरुका विषयमा जनतासँग संवाद गर्न नचाहेको बताए। उनले काम गर्न समस्या भएको विषयमा जनतासँग संवाद गर्न सक्नुपर्ने बताए। उनले सरकारका समस्या, सुविधाहरु र सरकारले जनतालाई दिने सेवाहरुको विषयमा जनतासमक्ष संवाद गर्नेकुरा लोकतन्त्रको सुन्दर पक्ष भएको बताए।

उनले सरकारले महँगोमा राहदानी खरिद गर्नुपर्ने बाध्यता सरकारले काम गर्ने तरिकाकै कारण भएको बताए। राहदानी खरिदमा चलखेल हुनु राम्रो नभएको उनको भनाइ छ। उनले जनतामा राजनीतिक व्यक्ति र प्रशासकले सेवाग्राहीलाई सधँै हेप्छन् भन्ने भाष्य रहेको बताए।

उनले भने,‘ केही वर्षअघि विद्युतीय राहदानीमा जाने सरकारले निर्णय ग¥यो। तर त्यो समयमा प्राप्त पूर्वाधार बनाउन नसक्दा अहिले समस्या आएको हो। मन्त्रालय जनप्रतिनिधि संस्था भएकाले समस्या जस्ताको जस्तै राख्नुपर्छ। सरकारको नेतृत्व गर्ने मन्त्री वा नेताहरुले सकेसम्म समस्या बताउँन चाहँदैनौं। जनता वा सेवाग्राहीहरुसँग संवाद गर्न चाहँदैनौं। दुनियाँभर समस्या हुन्छ। सरकारको सक्षमता पनि सिमित हुन्छ। सबै कुरा भनेकै समयमा गर्न सकिँदैन। तर आफ्ना समस्या, सुविधाहरु र सरकारले जनतालाई दिने सेवाहरुको विषयमा जनता समक्ष संवाद गर्ने कुरा लोकतन्त्रको सुन्दर र अनिवार्य पक्ष हो। सरकारले हामी नयाँ प्रणालीमा जाँदैछौं क्षमता यो प्रकारको छ। सुरुमा ५० लाख विद्युतीय राहदानी रिप्लेस गर्ने कुरा ठिकै गरेको हो। राहदानी खरिद महँगोमा ल्याउनुपर्ने कारण काम गर्ने तरिकाको कारण भइरहेको छ। निरन्तर रुपमा भेरियसनको माध्यमबाट राहदानी खरिद गर्दा पक्कै चलखेल र कमिसन होला भन्ने लागेकोले शंकाको घेरामा रहेको हो। हामी जहिलै पनि राजनीतिक व्यक्ति र प्रशासक एक खालका हुन्। सेवाग्राही जनता जहिले पनि नेता तथा प्रशासकले हेप्छन् भन्ने भइराख्ने भएको छ। दुवै पक्ष समस्याको चुरो कुरामा नपुग्ने समस्या भइरहेको छ। सेवाग्राहीहरुले गुनासो गरिराख्ने शासनमा बस्नेहरु चुप लागेर बसेर महत्व वा आलोचना बढाउने प्रवृति रहेको छ । यो हाम्रो संस्कृत बदल्नुपर्छ। नबदल्दासम्म हामी गाली खाइराख्छौं।’

प्रकाशित: ६ असार २०८० १०:५० बुधबार

वर्षमान पुन