राजनीति

चुनाव तयारी सम्बन्धी कार्यक्रम बिथोल्ने १३ पक्राउ

कार्यक्रम बिथाेल्न गएका माेर्चा कार्यकर्ता । तस्बिर ः सुरेश यादव

जनकपुर – चुनावको तयारी सम्बन्धी कार्यक्रम बिथोल्ने मधेशी मोर्चाका १३ जना जिल्ला नेता तथा कार्यकर्तालाई शुक्रबार धनुषा प्रहरीले पक्राउ गरेको छ । 

जनकपुरको मुजेलियास्थित ग्रामिण प्रशिक्षण केन्द्रमा स्थानीय तहको निर्वाचन सम्बन्धी तयारी अन्तर्गत आयोजित प्रशिक्षण कार्यक्रम बिथोल्न गएका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका नायव प्रहरी उपरिक्षक मनोज यादवले जानकारी दिए । 

पक्राउ पर्नेमा मोर्चाका धनुषा संयोजक प्रमोद यादव, राजपाका जिल्ला नेता परमेश्वर साह, सञ्जय सिंह, सतिशलाल दास, संघीय समाजवादी फोरम नेपालका नेता हरिनारायण यादव, रामपुकार यादव, रामरतन यादव, सोमन्त ठाकुर, सीताराम यादव ‘हनुमान’, रामचन्द्र साह र उदयकुमार सिंह छन् । 

मोर्चाले पूर्वघोषित कार्यक्रम अनुसार शुक्रबार जनकपुरमा विरोध सभाको तयारी गरिरहेको थियो । सभाको सम्बोधन गर्न राजपा अध्यक्ष महन्थ ठाकुर जनकपुर आउने कार्यक्रम छ । उनीहरूले जिल्लामा निर्वाचन सम्बन्धी कुनै कार्यक्रम नगर्न चेतावनी दिँदै आएका थिए । 

 

प्रकाशित: ८ वैशाख २०७४ ०६:३१ शुक्रबार

चुनाव तयारी सम्बन्धी कार्यक्रम बिथोल्ने १३ पक्राउ