राजनीति

प्रचण्डलाई अप्ठ्यारो परे एमालेले काँध थाप्छ : सचिव ज्ञवाली

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले चुनाव गराउन कुनै बाधा, अड्चन र अप्ठ्यारो आए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो पार्टीले काँध थाप्ने बताएका छन् ।  

मधेशी मोर्चा चुनावमा आउने कुराको ग्यारेन्टी कसले लिने ?

विहीबार काठमाडौँमा एक कार्यक्रममा सचिव ज्ञवालीले अहिले सरकारमा सहभागी हुने आफ्नो पार्टीको कुनै चाहना नरहेको जिकिर गर्दै भने, ‘हामी अहिले सरकारमा सहभागी हुँदैनौं, तर प्रचण्डजीलाई कुनै बाधा भए बाहिर बसेर उहाँलाई सहयोग गर्छौं ।’ उनले आफ्नो पार्टीको ध्यान पूर्ण रुपमा चुनावमा केन्द्रित रहेको स्पष्ट पारे । 

त्यसैगरी उनले चुनाव कुनैपनि हालतमा वैशाख ३१ गते नै हुने बताए । ज्ञवालीले भने,‘कुनैपनि बहानामा चुनावलाई सार्न, टार्न र असफल बनाउने काम भए नेकपा एमाले त्यसको सशक्त विरोधमा उत्रिन्छ, हामीलाई यो कुरा स्वीकार्य छैन्।’ उनले प्रधानमन्त्री दाहालले दुई चरणमा चुनाव गर्नेगरी अघि सारेको प्रस्तावलाई आफूहरूले अस्वीकार गरिसकेको उल्लेख गर्दै उक्त प्रस्तावको अहिले कुनै अर्थ नरहेको स्पष्ट पारे । 

सचिव ज्ञवालीले मधेशी मोर्चा चुनावमा आउने कुराको ग्यारेन्टी कसले लिने भन्दै प्रश्न समेत तेर्साए । उनले भने,‘अब कुनैपनि बहानाबाजी बनाउनुहुँदैन, सरकारले अब जनतालाई अल्झ्याउने काम बन्द गर्नुपर्छ, दुई चरणमा चुनाव गर्ने भन्ने कुरा पनि जनता अलमलाउने काम हो, यो कुरा स्वयम् जनताले नै ठाडै अस्वीकार गरिसके ।’ उनले मधेशी मोर्चाले निर्वाचनको मुखैमा आन्दोलन गर्ने घोषणा गरिसकेकोले अब आन्दोलनमा उत्रिएका पक्षलाई कुरेर निवाचनको मिति तलमाथि गर्न नहुने धारणा राखे । 

प्रकाशित: ७ वैशाख २०७४ ११:४० बिहीबार

प्रचण्डलाई अप्ठ्यारो परे एमालेले काँध थाप्छ सचिव ज्ञवाली