राजनीति

निर्वाचन कानुन खारेज माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं— विवेकशील नेपाली पार्टीले निर्वाचन आयोगमा दर्ता सबै दलहरुलाई दलकै हैसियतमा निर्वाचन चिन्ह प्रदान नगर्ने निर्वाचन ऐन २०७३ को प्रावधान खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ।

विवेकशील नेपालीका अध्यक्ष उज्जवलबहादुर थापाले अाइतबार दायर गरेको रिटमा स्थानीय निर्वाचनमा सबै दलहरुलाई आ-आफ्नो चुनाव चिन्ह लिएर नागरिकसामु जाने अधिकार सुनिश्चित गर्न माग गरिएको छ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, संघीय व्यवस्थापिका संसद, कानुन तथा न्याय मन्त्रालय तथा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ।

स्थानीय निर्वाचन ऐनको चुनाव चिन्ह सम्बन्धी प्रावधान राजनीतिक दल सम्बन्धमा नेपालको संविधानको प्रावधान विपरीत भएकोले नेपालको संविधानको धारा १३३(१) र १३३(२) अनुसार संविधानसँग बाझिएको कानून उत्प्रेषणको आदेशबाट बदर घोषित गर्न माग गरिएको छ।

प्रकाशित: २० चैत्र २०७३ १२:४५ आइतबार

निर्वाचन कानुन खारेज माग गर्दै सर्वोच्चमा रिट