राजनीति

सप्तरी घटनाबारे जानकारी दिन काठमाडौंमा एमालेको बृहत् भेला

काठमाडौं—नेकपा (एमाले)ले आफ्ना कार्यकर्तालाई सप्तरीको राजविराजमा भएको हिंसात्मक घटनाको स्पष्ट जानकारी दिन बिहीबार उपत्यकामा बृहत् भेलाको आयोजना गर्ने भएको छ। 

पार्टी महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले राजविराजको शान्तिपूर्ण कार्यक्रममा गरिएको हस्तक्षेपविरुद्ध कार्यकर्तालाई स्पष्ट पार्न र घटनाको भण्डाफोर गर्न भेला आयोजना गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी जनाए। 

भेलामा काठमाडौँ उपत्यकाभित्र रहेका पार्टी सदस्यहरु, मोर्चा, सङगठनका सदस्य र सम्पर्क कमिटी अन्तर्गतका पार्टी सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ। यसैगरी बैठकले राजविराज घटना र मेची–महाकाली राष्ट्रिय अभियानबारे जानकारी दिन देशभरका सबै जिल्लामा जिल्ला आमसभा आयोजना गर्ने निर्णय समेत गरेको छ। 

बैठकले एमालेका नेता–कार्यकर्तालाई धम्की दिने, कुटपिट गर्ने, कालोमोसो दल्ने, घरबाट विस्थापित गर्ने जस्ता अमानवीय र अराजनीतिक कार्य भइरहेकोतर्फ सरकारको ध्यानाकर्षण पनि गराएको छ। रासस 

 

 

प्रकाशित: २५ फाल्गुन २०७३ ११:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App