राजनीति

मोर्चाले मृतक भनेका दिगम्बर यादब ज्युउँदै, धरानमा उपचारत

मोर्चाको विज्ञप्तिको अंश

धरान—प्रहरीको गोली लागेर मृत्यु भएको भनिएका राजविराट ५ का ४५ बर्षीय दिगम्बर यादवको धरानमा उपचार भइरहेको छ।

मधेशी मोर्चाले उनलाई मृतकको सूचीमा राखेर विज्ञप्ती जारी गरेको थियो। ‘दिगम्बर यादवको मृत्यु भएको छैन, सर्जरी युनिट २ को वेड नम्बर १० मा राखेर उपचार भइरहेको छ’–प्रतिष्ठानस्थित प्रहरी पोष्टका इञ्चार्ज सई तिलक गिरीले भने।

ढाडमा गोली लागेका यादवको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित सर्जरी वार्डको युनिट २ को वेड नं १० मा उपचार भइरहेको छ। एमालेको मेची महाकाली अभियानअन्र्तगत सप्तरीमा आयोजित कार्यक्रम बिथोल्ने प्रयासमा प्रहरीसँग झडपमा गोली लागेर उनी घाइते भएका थिए।

उपचारको लागि उनलाई सोमबार धरान ल्याइएको हो। मधेशी मोर्चाले उनलाई मृतकको सूचीमा राखेर विज्ञप्ती जारी गरेको थियो।
‘दिगम्बर यादवको मृत्यु भएको छैन, सर्जरी युनिट २ को वेड नम्बर १० मा राखेर उपचार भइरहेको छ’–प्रतिष्ठानस्थित प्रहरी पोष्टका इञ्चार्ज सई तिलक गिरीले भने।

सोमबार प्रहरीसँगको झडपको क्रममा घाइते भएका १४ जनालाई उपचार गर्न धरानस्थित बीपी प्रतिष्ठान ल्याइएको थियो। ती मध्ये प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारको क्रममा आनन्द साह र पिताम्बरलाल मण्डलको मृत्यु भएको छ। घटनास्थलमा मृत्यु भएका सञ्जन साहको शव पनि प्रतिष्ठानमा ल्याइएको छ।

घाइतेमध्ये लक्ष्मण यादव, अरुणकुमार यादव, जप्पु साह र दिनेश साह राती नै डिस्चार्ज भइसकेको छन्। अन्य घाइतेहरुको उपचार भइरहेको सई गिरीले जानकारी दिए।

गोली लागेर घाइते भएका मध्ये जमुनी मध्यपुरा १ का ५५ बर्षीय इनर(इन्द्र) यादवको सिर्जिकल आइसियुमा उचार भइरहेको छ। उनको राती अप्रेशन गरिएको थियो। यस्तै, वीरेन्द्र महतो, दिलिप यादव, जितेन साह, विरेन्द्रकुमार महतोलगायतको पनि प्रतिष्ठानमा उपचार भइरहेको छ।

प्रकाशित: २४ फाल्गुन २०७३ ०५:०८ मंगलबार

मोर्चाले मृतक भनेका दिगम्बर यादब ज्युउँदै धरानमा उपचारत