राजनीति

मालपोतका नासु घुससहित पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा ऋषिराम बुढाथोकीलाई तीन लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।

मोहीले भोगचलन गरेको १३ रोपनी गुठी जग्गा व्यक्तिका नाममा नामसारी गर्ने प्रयोजनका लागि घुस लिँदै गर्दा नासु बुढाथोकीसहित तीन जनालाई बुधबार साँझ नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए। बुढाथोकीको साथबाट स्रोत नखुलेको एक लाख चार हजार पाँच सय रुपैयाँ पनि बरामद भएको उनले बताए।

बुढाथोकीसँगै सोही कार्यालयका सहायक केशव खत्री र मतियारको भूमिका निर्वाह गर्ने लेखा व्यवसायी विष्णु निसुतु पनि पक्राउ परेका छन्। खत्रीबाट एक लाख रुपैयाँ घुस रकम र स्रोत नखुलेको २९ हजार पाँच सय रुपैयाँ तथा निसुतुबाट स्रोत नखुलेको एक लाख रुपैयाँ बरामद भएको कोइरालाले जनाए।

घुस लिँदै गरेको विशेष सूचनाका आधारमा खटिएकोे अख्तियारको टोलीले भक्तपुरको सूवर्ण भोजनालयबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रकाशित: १२ फाल्गुन २०७३ १३:२९ बिहीबार

मालपोतका नासु घुससहित पक्राउ