राजनीति

राष्ट्रिय सभा सदस्य रायमाझीको व्यांग्यः माननीय सकिएपछि भूटानी शरणार्थी हो त भन्ने होला नि

फाइल तस्बिर

राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले भूटानी शरणार्थी प्रकरणबारे कसैको दबाबमा नपरीकन कारबाहीको प्रक्रिया अघि बढाउन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरेका छन्।

आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले माननिय सकिएको दिनबाट हामी पनि भूटानी शरणार्थी बन्न जाने हो की? भन्दै व्यंग्य गरे। उनले पूर्वमाओवादीका नेतालाई नेकपा एमाले अध्यक्षले मायाँ गरेको नभइ सचिवहरु जोगाउन लागेको आशंका आफूलाई लागेको उल्लेख गरे। उनले यस्ता प्रकरणमा जोडिएकाहरुको छानबिन नहुने हो भने समाजले कहिल्यै पनि माफी नदिने बताए। उनले दोषीमाथि कारबाही हुनसके मात्रै अहिलेको व्यवस्था बच्ने भन्दै दोषीलाई कारबाहीको कठघरामा उभ्याउन सक्नुपर्ने बताए।

उनले भने, ‘भूटानी शरणार्थीको कुरा छ। माननिय सकिएको दिन त हामी पनि उतै लाग्ने हो की? भूटानी नै हौँ भनेर। त्यस्तो खालको संस्कार र संस्कृतिबाट गएको सरकार संसदबाट जनताले के अपेक्षा गर्ने? जनताले आवाज उठाइरहेका छन्, नेताहरुप्रति कटाक्ष गरिरहेका छन्, हामीले आफ्नो तर्फबाट राम्रो गरौँ। मेरै बन्धु माननिय टोपबहादुर रायमाझीको चर्चा छ। बन्धुको चर्चा अलिकति रमाइलो लाग्यो। उहाँको अब अहिले मायाँ गरेको हो की होइन, प्रतिपक्ष दलको नेताले सरकारले कुरा गर्न खोज्दा समय उपलब्ध नहुने, बोलचाल बन्द गर्ने, तर आफ्नो पार्टीको सचिव चर्चा भूटानी शरणार्थीमा आएपछि धेरै चासो गरेको देखाउनु भयो। मलाई त खासै माया गरेको जस्तो लाग्दैन। किनभने उहाँको जड्खेलो छोरो हो। हिजो माओवादीको नेता। खासै माया गरेको जस्तो त लागेन। आफ्नो सन्तान हुँदाहुँदै अरुलाई माया गर्दैनन्। तत्कालीन गृहमन्त्री रामबहादुर बादलको बेलामा भएका सचिवहरु जो आज संवैधानिक निकायमा नियुक्तिका बीचमा भएका छन्। खरदार सुब्बालाई कारबाही गरेर ठूलो छाती गरिरहेका छन् तिनको लागि हो की जस्तो पो लागिरहेको छ। जो मान्छे यो केसमा जोडिएका छन्। यस्ता मानिसलाई पार्टीको नाममा छोड्ने हो भने कहिले पनि यो समाजले छुट गर्ने छैन। यो व्यवस्था बचाउने की नबचाउने भन्ने हो, कारबाही गर्न सक्नुभयो भने यो व्यवस्था बच्छ, होइन भने समाजले नयाँ विकल्प खोज्छ। खुटट नकमाउनुस्, तपाईको आवश्यक्ता छ । कसैको दबाब बिना काम गर्नुहोला, तपाईको आशा छ जनतामा।’

सदस्य रायमाझीले दोषीमाथि कानूनअनुसार कारबाही हुनुपर्ने माग गरे। 

प्रकाशित: २४ वैशाख २०८० १२:०४ आइतबार

राष्ट्रिय सभा