राजनीति

राष्ट्रिय सभामा प्रश्नः आरजु देउवा र मञ्जु खाँणमाथि पक्राउ पूर्जि किन जारी भएन

राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले गठबन्धनमा भएकै कारण आरजु देउवा राणा र मञ्जु खाँणमाथि पक्राउ पूर्जि हुन नसकेको हो? भन्दै सरकारसँग प्रश्न गरेका छन्।

आइतवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो प्रश्न उठाएका हुन्। उनले  नक्कली भूटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेताको नाम पनि जोडिएको कुरा बाहिर आइरहेको भन्दै सरकारले गल्ती गर्नेहरुलाई कारबाही गर्नुपर्ने तर निर्दोषको मान हानी गर्न नहुने बताए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि सार्वजनिक कार्यक्रममा ट्रेलर मात्रै हो, वास्तविक फिल्म आउन बाँकी छ भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीले के बोल्ने र के नबोल्ने भन्ने बारेमा ज्ञान राख्न आवश्यक रहेको बताए। नक्कली भूटानी शरणार्थीको कुरा सबैभन्दा पहिला संसदमा नेकपा एमालेले उठाएको दाबी गरे।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा नेकपा एमालेका केही नेताहरुको नाम पनि जोडिएको छ। पक्राउ पूर्जि जारी भयो रे भनेर हल्ला पनि छ। फेरि उहाँ हराउनु भयो रे भन्ने हल्ला पनि छ। मैले त यसो हेरेँ, अडियो प्रकरण पनि आयो रे, यो हल्लै हल्लाको देश हो। यसमा आरजु देउवाले अढाइ करोड र बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँणले ६ करोड बुझेको भन्ने अडियो प्रकरण आएको छ। उनीहरुलाई यो सरकारले पक्राउ पूर्जि त जारी गरेको छ भन्ने सुनेको छैन। अर्कोतिर प्रधानमन्त्रीले यो त ट्रेलर मात्रै हो, वास्तविक फिल्म त आउन बाँकी छ, के भनेको , के बोलेको? कुन फिल्म देखाउनु हुन्छ। फिल्महरु हेर्दै जाने समय आएको छ। सरकारको नेतृत्व गरेर कसैले बदमासी गरे कारबाही गर्ने दिशामा लाग्नुपर्ने हो। कुनैपनि प्रकरणमा कसैको गल्ती भएको छ भने कारबाही हुनुपर्छ, नेकपा एमाले ढाकछोप गर्ने पक्षमा छैन। हाम्रै सांसदले यो प्रकरण उठाउनुभएको हो, सबैभन्दा पहिला नेकपा एमालेले उठाएको हो, कहाँ जानुभएको थियो। यस्ता बकवास यो सरकारले बन्द गरोस्।’

उनले पूर्वसहसचि बालकृष्ण पन्थीको संयोजकत्वमा बनाएको छानबिन समितिको प्रतिवेदन अविलम्व सार्वजनिक गर्न माग गरे।  

प्रकाशित: २४ वैशाख २०८० ११:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App