चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले आफ्नो भत्ता रकम विपन्न परिवारको बिमा वापतमा लगाउने भएको छ। उनले वडाध्यक्षलाई उपलब्ध गराइएको मोटरसाइकल र पेट्रोल खर्च समेत लिएको छैन।
उनले भने, ‘मैले कार्यभार सम्हालेको दिन नै मासिक उपलब्ध हुने पारिश्रमिक सुविधा नलिने घोषणा गरेको हुँ, उक्त रकमले विपन्न परिवारको स्वास्थ्य बिमा गर्दै छु, वडाको सवारी साधन प्रयोग गरेको छैन, म आफ्नै सवारी प्रयोग गर्छु, तेल खर्च पनि लिएको छैन।’
यसै बिच वडा नम्बर ४ ले वृद्धभत्ता घरघरमै पुगेर वितरण गर्दै आएको छ। उनले भत्ता वितरण गर्न जाँदा लाग्ने खर्चको बिल भर्पाई समेत कार्यालयमा पेस नगरेको बताए।
वडाध्यक्ष उप्रेतीले भने, ‘हामीले घरघरमा पुगेर वृद्धभत्ता वितरण गरेका छौं, सोबापत हुने खर्चसमेत कार्यालयमा पेस गरेका छैनौं,ग्लोबल आइएमई बैंकले टोलटोलमा कर्मचारी खटाएर वृद्धभत्ता वितरण गर्न हामीलाई सहयोग गरेको छ।’
लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएका उनले असहाय रोगीको उपचारका लागि आर्थिक सहयोग गर्दै आएका छन्। साथै उनले शिक्षा, खेलकुद लगायतका क्षेत्रमा पनि सहयोग गर्दै आएका छन्।
आफूले आगामी दिनमा पनि वडाध्यक्ष बापत पाउने सेवा सुविधा नलिने बताए।
‘मैले शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका क्षेत्रमा सहयोग गर्दै आएको हुँ म आगामी दिनमा पनि सेवा सुविधा लिने छैन, नसक्ने अवस्था भए अर्को कुरा, म सकेको दिन्छु, लिन आएको होइन’, वडाध्यक्ष उप्रेतीले भने। रासस
प्रकाशित: १८ वैशाख २०८० ०६:१० सोमबार