राजनीति

स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक, फागुन १४ गते मतदान

काठमाडाैं– त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते गर्ने स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

त्रिविले स्ववियु निर्वाचनको लागि फागुन १ गतेदेखि सुरु हुने गरी शनिबार निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनायलका कार्यकारी निर्देशक गङ्गाबहादुर थापाले जानकारी गराउनुभयो ।

उनका अनुसार फागुन १ गते मतदाताको नाम प्रकाशित गर्ने, फागुन ४ गते उम्मेदवारलाई मनोनयन पत्र वितरण गर्ने, ५ गते बिहान ११ बजेदेखि ३ बजेसम्म प्रत्यक्ष र समानुपातिकका उम्मेदवारको नामावली दाखिला गर्ने, ५ गते ५ बजे प्रत्यक्ष तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने, ६ गते उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने रहेको छ।

कार्यतालिका अनुसार फागुन ६ गते साँझ ५ बजे उम्मेदवारको दाबी विरोध उपर छानबिन गरी अन्तिम नामवली प्रकाशित गर्ने, ८ गते दिउँसो ३ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने र ८ गते दिउँसो ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गने र १४ गते मतदान हुने उहाँले जानकारी गराए।

त्रिविले फागुन १४ गतेको निर्वाचनलाई लक्षित गरी त्रिविका सबै क्याम्पसमा स्नातक र स्नातकोत्तर तहको प्रथम वर्षको भर्ना पनि बन्द गरेको थापाले बताए।

त्रिविले ८ बर्षपछि स्ववियु निर्वाचन गर्न लागेको हो। रासस

प्रकाशित: १५ माघ २०७३ ०७:२३ शनिबार

स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक १४ गते मतदान